काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध रहेको कांग्रेसको अर्को समूहले राजधानीमा भेला गरेको छ । नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको संस्थापन विपक्षमा रहेको यो समूहबाटै महामन्त्रीमा निर्वाचित भएका महामन्त्री संशाक कोइराला भने भेलामा देखिएनन् ।
नेपाल विद्यार्थी संघ काठमाडौँको ब्यानरमा सोमबार भएको ‘अबको काँग्रेस र युवा विद्यार्थीको भूमिका’ विषयक विचार गोष्ठी भनिएको उक्त भेलामा कोइराला परिवारका अर्का प्रभावशाली नेता शेखर कोइराला पनि अनुपस्थित थिए । भेलामा नेता पौडेलसँगै, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, कृष्ण सिटौला, गगन थापा र प्रदीप पौडेललगायतका नेताहरू उपस्थित थिए ।
भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टी सभापतिले सबै कांग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको बताए । उनले भने, “१३ औँ महाधिवेशनको परिणाम अहिले भोगिरहेका छौँ ।” वरिष्ठ नेता पौडेलले सरकारले दुईतिहाईको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको बताए ।
“सत्तारुढ दल पैसाको खोल ओढेर कांग्रेस सिध्याउने खेलमा लागेका छन्, काँग्रेसलाई घेराबन्दी पार्ने खेल भइरहेको छ, कांग्रेस समयमै सचेत हुनु जरुरी छ,” उनले भने ।
पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि विधान उल्लंघन गरेर पार्टी चल्न नसक्ने बताए । “पार्टी नै विधानअनुसार चल्न नसक्दा भ्रातृ संस्था लथालिंग अवस्थामा पुगेको छ,” उनले भने ।
पार्टी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सामन्तवाद र चाकडीबाज संस्कारले कांग्रेस अगाडि बढ्न नसक्ने बताए । “सभापतिले ४० सांसद मनोनीत गर्दा मजदुर, बुद्धिजीवी, वकिल कसैलाई पनि नगर्नु दुःखद् कुरा हो, यस्तो तरिकाले कांग्रेस चल्न सक्दैन,”, उनले भने । पार्टीभित्र नीति, कार्यक्रम र सांगठनिक संरचना परिवर्तन आवश्यक भएको उनको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसलाई पहिलो बनाउने दृढ संकल्प बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको उल्लेख गरे । अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सबै जनतालाई समेटेर अगाडि बढे मात्र पार्टी सशक्त हुने बताए ।
युवा नेता तथा केन्द्रीय सदस्य गगनकुमार थापाले कांग्रेसलाई बलियो बनाउन स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनको मिति तय गरी जनतामाझ जानुपर्ने बेला आएको बताए । केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्व, सिद्धान्त, व्यवहार र आचरण सुधार गरे मात्र कांग्रेस सुध्रिने बताए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते