बेलायतमा अवसर खोज्दै पारस खड्का

लन्डन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का यतिखेर लन्डनमा छन् । यसपटक उनी न खेल अभ्यासमा छन्, न उनलाई प्रतियोगितामा हारजितको दवाव वा चिन्ता छ । बरु, यो पटकको बेलायत भ्रमणलाई खड्काले सम्वन्ध विस्तार र अवसरको खोजीमा सदुपयोग गरिरहेका छन् ।

कप्तान खड्काले मंगलबार इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसिबी) का प्रमुख अधिकारीहरुसंग लर्डसमा भेट गरेका छन् ।

करिब एक घण्टा लामो भेटमा नेपाल क्रिकेटसंग मजवुत सम्वन्ध विस्तार तथा भविष्यमा हुन सक्ने अवसरबारे छलफल भएको खड्काले जानकारी दिए । ‘इसिबी पदाधिकारी नेपाली क्रिकेट विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न सकारात्मक भएको पाएं’, पारसले कान्तिपुरसंग भने, ‘उनीहरु नेपालले पछिल्लो पटक अन्तर्राष्ट्रिय जगतमा कमाएको ख्यातिबाट खुशी 
र आशावादी रहेछन् ।’

सन् २०१४ मा मार्लेबोन क्रिकेट क्लब (एमसीसी) पदाधिकारीसंग भएको भेट वार्तापछि सन् २०१६ मा नेपाली टोलीले लर्डसमा पहिलो पटक राम्रो खेल अवसर पाएको र फेरि जुलाइमा खेल तयारी भएको स्मरण 
गर्दै खड्काले आफ्नो यसपटकको बेलायत भ्रमण अवसरको खोजीका लागि केन्द्रित भएको प्रष्टयाए । पारसले एमसीसी पदाधिकारीसंग पनि भेटघाट कार्यक्रम तय भएको जानकारी दिए ।

लन्डनवासी प्रशान्त कुंवरले इसिबी पदाधिकारीसंगको भेट संयोजन गरेका हुन् । उक्त भेटमा जुलाई अन्तिम साता एमसीसीमा हुन लागेको खेलबारे समेत कुराकानी भएको थियो । आगामी २९ जुलाई आइतबार एमसीसी, नेपाल र नेदरल्याण्डसबीच लर्डसमा त्रिकोणात्मक टि ट्वान्टी खेल हुंदैछ ।

पारसले सर्वाधिक महंगो मानिने इन्डियन प्रिमियर लिग 
(आईपीएल) मा उत्कृष्ट खेल प्रदर्शनका कारण ग्लोवल स्टारडम बनाउन सफल सन्दीप लामिछानेप्रति पनि गर्व 
गरे । ‘सन्दीपको खेलले नेपालमा पनि वल्र्ड क्लास खेलाडी छन् भन्ने प्रमाणित गरेको छ, यो हामी सबैको लागि ठूलो उपलव्धि हो’, उनले भने । सन्दीपको सफलतापछाडि पारसको उल्लेख्य भूमिका छ ।

यसैबीच, नेपाली युवा स्पिनर लामिछाने बुधबार बिहान लन्डन आइपुगेका छन् । बिहीबार (३१ मे) आईसीसी विश्व ११ बाट लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न सन्दीप लन्डन आएका हुन् । क्यारेबियन देशमा आंधीले क्षतिग्रस्त भएका रंगशाला पुनर्निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो ।

आइसीसीले छानेको विश्व–११ टिमबाट सन्दीपले वेष्ट इण्डिज विरुद्ध खेल्नेछन् । आइसीसीको उक्त टिमको कप्तानी इयान मोर्गनले गर्नेछन् । विश्व–११ मा भारतका दिनेश कात्तिक, हार्दिक पाण्ड्या, पाकिस्तानका चर्चित क्रिकेटर साहिद अफ्रिदी र सोयब मल्लिक, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्डका ल्यूक 
रंकी र मिचेल मेक्कलेनेघन, बंगलादेशका सकिब अल हसन र अफगानिस्तानका रसिद खान छन् ।

वेष्ट इण्डिजको टोलीमा क्रिस गेल, आन्द्रे रसेल, 
मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, स्यामुयल बद्री, एविन लेविसलगायत खेलाडी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री