मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर चर्काचर्की, राजीनामा माग

महेन्द्रनगर, धनुषा, १ जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति मंगलबार प्रदेश नं. २ को प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ ।

मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका थिए भने मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले बचाउ गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ केन्द्र सरकारको विभेदका कारण पछि परेको र विभेदकारी संविधानका विरुद्ध आफूहरुको संघर्ष जारी रहेको अभिव्यक्ति दिनुभएको थियो ।

बैठकमा संघीय समाजवादी फोरमका रामआशिष यादवले मुख्यमन्त्रीले प्रदेशको गरिमा र जनताको भावनाअनुसार बोलेको भन्दै यसमा टीका टिप्पणी नगर्न आग्रह गर्नुभयो । उहाँले मुख्यमन्त्रीको भनाइप्रति भइरहेको टीका टिप्पणी तर्कसंगत नरहेको बताउनुभयो ।

राजपा नेपालकी डिम्पलकुमारी झाले मुख्यमन्त्रीको अभिव्यक्ति प्रदेश २ को जनताको पक्षमा रहेको बताउँदै यसप्रति टाउको नदुखाउन केन्द्र सरकारलाई आग्रह गर्नुभयो ।

काँग्रेसका शिवचन्द्र चौधरीले मुख्यमन्त्री राउतको अभिव्यक्ति राष्ट्र हीतमा नभएको बताउँदै “गाजल आँखामा लगाउँदा राम्रो देखिन्छ, त्यही गाजल अनुहारमा लगायो भने कालोमोसो हुन्छ,” भन्नुभयो ।

उहाँले प्रदेशको समस्या विदेशी पाहुनाको अगाडि राख्नु कतिको उचित हो भनेर प्रश्न गर्नुभयो ।

काँग्रेसकै शोभा लामाले सार्वजनिक पद धारण गरेका व्यक्तिले अभिव्यक्ति दिदाँ राष्ट्र हितमा दिनुपर्ने बताउनुभयो ।

नेकपा एमालेकी मञ्जु यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा राष्ट्रिय गान किन नबजाएको भनेर प्रश्न गर्नुभयो ।

“भारतीय प्रधानमन्त्री मोदीको यो औपचारिक कार्यक्रम थियो, त्यसमा राष्ट्रिय गान किन बजाइएन, यो कस्को गल्ती हो ?” भनी उहाँले प्रश्न गर्नुभयो ।

बैठकमा सदस्यहरुले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणबारे प्रदेशसभामा जानकारी नगराएकोमा सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तयारी, स्वागत र सत्कारमा लागेको खर्चको हिसाब बुझाउन माग गर्दै उनीहरुले भ्रमणका बेला भएका खर्चको यथार्थ विवरण बुझाउन सरकारसँग माग गर्नुभयो ।

यसैगरी नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका सदस्यहरुले भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत गरेको आपत्तिजनक अभिव्यक्तिप्रति आपति जनाउनुभएको हो ।

दुई देशबीच सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुरयाउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको उनीहरुले बताउनुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला भारतीय सांसद आजादले नेपालको अखण्डतामाथि प्रहार हुने अभिव्यक्ति ट्वीट गर्नुभएको थियो ।

उनीहरुले अभिनन्दन कार्यक्रममा मैथिली भाषा प्रयोग नगरिएको र उपमहानगरपालिकाले अभिनन्दन गर्दा प्रदेश सरकारका मन्त्रीले कार्यक्रम उद्घोषण गर्नु कतिको उचित हो भनी प्रश्न गर्नुभयो ।

जनकपुर उपमहानगरपालिकाले भारतीय प्रधानमन्त्री मोदीलाई गरेको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले उद्घोषण गर्नुभएको थियो ।

मुख्यमन्त्रीको राजीनामा माग

नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री राउतले संविधानको विरोध गर्नु, राष्ट्रभाषा नेपाली वा प्रदेशका बहुसंख्यक जनसमुदायको मातृभाषा मैथिलीमा नभएर हिन्दी भाषामा अतिथिको अभिनन्दन गरेकामा मुख्यमन्त्रीको राजीनामा माग गरेको छ ।

पार्टीका महासचिव सिपी मैनालीले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा सरकारले संविधानबमोजिम बनेको प्रदेश सरकार तथा त्यसका मुख्यमन्त्रीले विदेशका प्रधानमन्त्रीसमक्ष नेपालको आन्तरिक समस्या समाधान गर्न हस्तक्षेपको याचना गर्नु, विकृत बनाई राष्ट्रिय झण्डाको अपमान गर्नु लगायतका संविधान र राष्ट्रिय अखण्डता विरोधी कार्य भएकामा आपत्ति जनाएको छ ।

उक्त विज्ञप्तिमा त्यस कार्यप्रति जिम्मेवार सबै व्यक्तिमाथि राज्यबाट अविलम्ब कानूनसम्मत कारबाहीको माग गर्दै भारत विहारका भाजपा–सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत नेपाललाई खण्डीत गर्ने राष्ट्रविरोधी विचार व्यक्त गरेकोमा दुःख व्यक्त गरिएको छ ।

भारतीय इष्ट इण्डिया कम्पनी सरकारसँग भएको सुगौली सन्धि (४ मार्च, १८१६) द्वारा हडपिएको ‘कोशी नदी पश्चिमदेखि राप्ती पूर्वको समथर भूभाग’ त्यसभन्दा धेरै पहिले नेपालमा एकीकृत भइसकेको भूभाग भएको हुँदा सो विषयमा सरकारले ऐतिहासिक तथ्यसहित भारत सरकारसमक्ष आपत्ति जनाई ती विचार फिर्ता गराउन विज्ञप्तिमा माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री