पत्रकार महासंघ युकेको निर्वाचन कार्यक्रम प्रकाशित

लण्डन । यही मे १९ मा हुने चौथो अधिवेसनको संघारमा रहेको नेपाल पत्रकार महासंघ युके शाखाको निर्वाचनका कार्यक्रम शनिबार प्रकाशन गरिएको छ ।

निर्वाचन समितिका संयोजक विजय थापाको अध्यक्षतामा लण्डनमा बसेको बैठकले निर्वाचन कार्यक्रम र निर्वाचन नियमावलीलाई पारित गरेको हो ।

निर्वाचन कार्यक्रम अनुसार मे ५ तारिख शनिबार दिउँसो १२ बजे मतदाता नामावली प्रकाशन, सोही दिन दिउँसो २ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध र साँझ ५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।

त्यस्तैगरी, उम्मेदवारको मनोनयन मे १३ आइतबारका दिन दिउँसो १० बजेदेखि २ बजेसम्म एभरेष्ट ल सोलिसिटर्स, इलिंग ब्रोडवेमा हुने छ । उम्मेदवारीमाथि दाबी विरोध र नाम फिर्ता सोही दिन दिउँसो ५ बजेसम्म गर्न तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गरिने बताइएको छ ।

मतदान मे १९ तारिखका दिन एम्पायर ब्यांक्वेटिङ हलमा बिहान १० देखि दिउँसो १ बजेसम्म र निर्वाचन परिणाम घोषणा ४.३०बजे गरिने छ ।

यस्तै, उम्मेदवारी दर्ताका लागि अध्यक्षका लागि २०० पाउण्ड, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवका लागि १७५ पाउण्ड, सचिव, कोषाध्यक्ष र सह-कोषाध्यक्षका लागि १५० पाउण्ड तथा सदस्यका लागि १०० पाउण्ड उम्मेदवारी शुल्क तोकिएको छ ।

बैठकमा निर्वाचन समितिका सदस्यहरु सोलिसिटर राजु थापा, निवर्तमान अध्यक्ष चिरन शर्मा तथा विकलचन्द्र आचार्य र दुत पुनको उपस्थिति थियो ।

निर्वाचनको नियमावली, कार्यक्रम तथा अन्य जानकारी www.fnjuk.org मा उपलब्ध हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री