काठमाडौँ-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपालीबीचको सद्भाव भड्काउने कुनै पनि गतिविधि सह्य नहुने बताएका छन् । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनता एकापसमा मिलेर बसेकाले कोही कसैको पनि गलत गतिविधि क्षम्य नहुने बताए ।
सामाजिक सद्भाव कायम राख्दै सबै क्षेत्रलाई मिलाएर लैजाने पक्षमा आफू रहेको उनको भनाइ थियो । लोकतन्त्र जनताको व्यवस्था भएकाले यसैमा नै सबैको समृद्धिको सपना पूरा हुने प्रधानमन्त्रीको कथन थियो ।
वर्तमान सरकारले शुरु गरेको आर्थिक समृद्धि र सुशासनको योजनालाई केही मान्छेले नबुझेको टिप्पणी गर्दै प्रधानमन्त्रीले भने, “मैले रेल चलाउने, पानी जहाज चलाउने कुरा गरेको छु । समृद्धिको विषयलाई प्राथमिकतामा राखेको छु तर केही बुद्धिजीवी जनताको कुरा खोई भन्दै हिँडेका छन् । सरकार जनताका पक्षमा काम गर्छ । समृद्धिको सपना पूरा गरेरै छाड्छ । विकास र समृद्धिको विषयलाई लिएर अनावश्यक बुद्धिविलास नगर्न म आग्रह गर्छु ।”
ओलीले सही नीति, सिद्धान्त, कार्यक्षमता र विचारका आधारमा एमालेप्रति जनताको आकर्षण बढेको र आगामी दिनमा थप आकर्षण थपिने उल्लेख गरे । एमाले नीति र सिद्धान्तको मात्रै टेको लगाएर नबस्ने बरु जनचाहना र देशको आवश्यकतालाई ख्याल गरेर अगाडि बढ्ने पनि ओलीको दावी थियो ।
पूर्वसांसद र राजदूत एमालेमा
कार्यक्रममा पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेत्री लीला भण्डारी एमालेमा प्रवेश गर्नुभएको छ । भण्डारीसँगै पूर्वराजदूत माया शर्मा, पूर्वसभासद् सुकदैया चौधरीलगायत १७५ नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । भण्डारी विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) बाट संविधानसभामा निर्वाचित हुनुभएको थियो । उहाँ पछिल्लो समय डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा हुनुहुन्थ्यो ।
पूर्वमन्त्री भण्डारीले राजनीतिक परिवर्तनका लागि आफूले माओवादी जनयुद्धमा लागेर योगदान गरे पनि अब आर्थिक समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक देखेको बताउँदै नयाँ शक्तिसमेत एक दिन एकता प्रक्रियामा आउने विश्वास व्यक्त गर्नुभयो ।
नवप्रवेशीलाई एमाले अध्यक्ष ओलीले टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक