ओलीको कार्यक्रमस्थल नजिक बम विस्फोट 

संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन कमिटि काठमाडौँद्वारा नयाँबानेश्वरमा मंगलबार आयोजना गरेको विशाल चुनावी सभामा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, काठमाडौ निर्वाचन क्षेत्र १ का बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार अनिल शर्मा लगायत नेताहरु । तस्बिर – नवीन पौडेल, रासस

काठमाडौँ, १२ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको मुहार फेर्न र देशलाई विकासको नयाँ उचाइमा लैजाने योजना भएको बाम गठबन्धनका उम्मेदवारलाई जिताउन जोड दिनुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं १ को संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीले आज आयोजना गरेको चुनावी सभामा उहाँले देश र जनताको विकास गर्ने उम्मेदवार छान्ने इतिहास निर्वाचन भएकाले सही उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देशको भविष्यलाई कता लाने भन्ने ऐतिहासिक निर्वाचन हो यो, यसलाई ख्याल ठट्टाका रुपमा नलिऊँ, यसले देशको भविष्य निर्धारण गर्छ, अब विकास गर्ने पार्टीलाई मतदान गर्नुस् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनवी तालमेल एमाले र माओवादीबीच भएको उल्लेख गर्दै एउटै पार्टी बनाउने सङ्कल्पका साथ दुई पार्टी अगाडि बढेको छ भन्नुभयो ।

नेकपा (एमाले)का नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवकुमार नेपालले स्थायी सरकार र देशको विकासका लागि कम्युनिष्ट सरकार जरुरी भएको बताउँदै देशलाई समस्या परेको अवस्थामा कम्युनिष्टहरुको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले नयाँ नेपालको परिकल्पना गरेर त्यसको योजनासमेत बनाएको वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्नसमेत आग्रह गर्नुभयो ।

नेकपा (माओवादी)का नेता तथा मन्त्री जनार्दन शर्माले कम्युनिष्ट सरकारको पालामा देशमा लोडसेसिडको अन्त्य गरी जनतालाई राहत प्रदान गरेजस्तै धेरै भौतिक पूर्वाधारको विकासका लागिसमेत वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

उहाँले वाम गठबन्धनका उम्मेदवारमा देश विकासका प्रस्ट योजना भएको हुँदा उनीहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

वाम गठबन्धनबाट काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल शर्माले भ्रष्टाचार नगरी यहाँको विकासमा ध्यान दिने र त्यसका लागि आफूले बजेट छुट्याएर पठाउने विश्वास व्यक्त गर्दै आफू जननेता मदन भण्डारीले नेतृत्व गरेको भूमिमा उभिएर भण्डारीले देखेका सपना पूरा गर्न चाहेको हुँदा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले वृद्धाको सारथी, यहाँका इतिहास धरोहर र भौतिक पूर्वाधारको विकास निर्माण गर्न आफूसँग स्पष्ट योजना भएको हुँदा भारी मतले विजयी गराउन आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य (क)का उम्मेदवार विष्णुकमारी भुसाल र प्रदेशसभा सदस्य (ख)का उम्मेदवार गणेशप्रसाद दुलाले यहाँको विकास र समृद्धिका लागि आफूहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

सभामा गीतसंगीतसमेत प्रस्तुत गरिएको थियो ।

‘विगतमा बहुमत ल्याउँदा पनि काँग्रेसले विकास गरेन’

यसैगरी वाम गठबन्धन निर्वाचन कमिटी ललितपुरले आज लगनखेलमा आयोजना गरेको चुनावीसभामा अध्यक्ष ओलीले विगतमा बहुमत ल्याए पनि नेपाली काँग्रेसले देश र जनताका लागि काम गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘बहुमत आउँदा कहिले चलेका उद्योगहरु कौडीको मूल्यमा बेच्ने त कहिले लोकतन्त्र दरबारमा बुझाउने गल्ती काँग्रेसले गरेको छ ।’

अध्यक्ष ओलीले काँग्रेस विगतदेखि नै झुट बोल्न पल्किएको बताउँदै ‘पहिले कम्युनिष्टले बूढाबूढीलाई गोली हानेर मार्छ भन्थ्यो, अहिले त्यो भन्न आँट नगरेर अधिनायकवाद आउने बताउँदैछ,’ भन्नुभयो ।

नेपालमा दुईवटा छिमेकीसँग सम्बन्ध सुधार गर्ने, भएको बाटो खोल्ने, प्रविधिमा आधारित कृषि, दलित, उत्पीडित र लोपन्मुख समुदायका सन्तानलाई निःशुल्क शिक्षा लगायतका काम वामपन्थी सरकारले गर्ने उल्लेख गर्दै उहाँले शान्तिसुरक्षा नहुँदा दिनहुँ बम पड्किएका घटना आइरहेको छ भन्नुभयो ।

अध्यक्ष ओलीले ‘निर्वाचन नभएर खेदिएका राजा फर्काउने कि बम पड्काउनेलाई नै राजा बनाउने ?’ भनी प्रश्न गर्दै पहिलो चरणको निर्वाचन जसरी नै दोस्रो चरणको निर्वाचन हुनेमा ढुक्क हुनुहोस् भन्नुभयो ।

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य रघुजी पन्तले अहिलेसम्म राम्रो कामको थालनी कम्युनिष्ट प्रधानमन्त्रीले नै गरेको स्मरण गर्नुभयो ।

वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं ३ की उम्मेदवारसमेत रहनुभएकी माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेपाली काँग्रेसका उम्मेदवारले भोट किन्न खोजेको आरोप लगाउनुभयो ।

प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार कृष्णलाल महर्जनले विगतमा वामपन्थी शक्ति अलग हुँदा गुमेको ललितपुरका क्षेत्रहरु अहिले एक भएकाले फर्कने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार नमराज सिलवालले २३ वर्षसम्म शासन गरेको नेपाली काँग्रेसले अबको ५ वर्ष प्रतिपक्षमा बसेर वामपन्थी सरकारबाट सिक्नुपर्ने बताउनुभयो ।

नेकपा (एमाले)की केन्द्रीय सदस्य सुशिला नेपालले ललितपुरमा फेरि पनि वामपन्थीको किल्ला बन्ने विश्वास ब्यक्त गर्नुभयो ।

ओलीको कार्यक्रमस्थल नजिक बम विस्फोट 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर आज लगनखेल बसपार्कनजिक बम विस्फोट भएको छ ।

लगनखेल बसपार्कमा वाम गठबन्धनको चुनावीसभा भइरहँदा त्योभन्दा झण्डै दुई सय मिटरको दूरीमा बम विस्फोट भएको हो । दुई बजेर ४५ मिनेट जाँदा घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) नरेन्द्र चन्दले बताउनुभयो ।

घटना बसपार्कको विपरीत दिशामा पर्ने नमूना मछिन्द्र आवासीय मावि नजिकै भएको थियो । बम विस्फोट हुँदा कुनै पनि खालको क्षति नभएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विद्यालयको सिसा फुट्नेबाहेक ठूलो क्षति भएको छैन ।’ प्रेसर कुकर बम फोहोर फाल्ने ठाउँमा विस्फोट भएको थियो । घटनामा संलग्न व्यक्तिको पहिचान नभएको बताउँदै प्रहरी नायब उपरीक्षक चन्दले ‘हामीले यसमा थप अनुसन्धान गरिरहेका छौँ,’ भन्नुभयो ।

उद्घोषकले प्रमुख अतिथिका रुपमा रहेका अध्यक्ष ओलीलाई मन्तव्यका लागि बोलाउनासाथ बम विस्फोट भएको थियो ।

कार्यक्रमका सहभागीहरु भागदौड गर्न लाग्दा उद्घोषकले गाडीको टायर पड्किएको भन्दै रोकेका थिए । ओलीले भने बम नै हुनसक्ने बताएका थिए ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री