पत्रकार महासंघका नवनिर्वाचितहरुलाई विदेश शाखाको बधाई

काठमाडौँ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघको विदेश शाखाहरुले बधाई तथा शुभकामना ज्ञापन गरेका छन् । महासंघको युके, युरोप र कतार शाखाको संयुक्त आयोजनामा मंगलबार काठमाडौँमा एक कार्यक्रम गरी महासंघको सोही दिन सम्पन्न २५ औँ महाधिवेसनबाट निर्वाचित कार्यसमितिलाई बधाई दिएका हुन् ।
युके शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको सो कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष दिलिप थापामगर, महासचिव रमेश विष्ट, सचिवहरु रेम विक, लक्ष्मी पुन, प्रकाश थापा, रामप्रसाद दाहाल, लेखा समितिका संयोजक रोशन पुरीलगायतका केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिइएको थियो ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष आचार्यले महासंघको वैदेशिक शाखाहरुलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा सुझाव दिन अनुरोध गरे । उनले महासंघलाई सबै पत्रकारहरुको साझा मन्च बनाउनका लागि छिट्टै नै अल्पकालिन र दीर्घकालिन योजना ल्याउने बताए । निवर्तमान अध्यक्ष डा. महेन्द्र विष्टले शुरुवातमा महासंघको विदेश शाखालाई सम्पर्क केन्द्रका रुपमा मात्र लिएकोमा अहिले उनीहरुको क्रियाशिलता र सक्रियताका आधारमा महासंघको सांगठानिक संरचनामा राख्नुपर्ने अवस्था आइसकेको बताए । नवनिर्वाचित उपाध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका पक्षमा नयाँ नेतृत्व लागि पर्ने बताए ।
कार्यक्रमको संचालन कतार शाखाका अध्यक्ष गणेशप्रसाद बन्जाडेले गरेका थिए भने स्वागत मन्तब्य युरोप शाखाका अध्यक्ष केजिन राईले गरेका थिए । यसअघि सोमबार युके शाखाका अध्यक्ष खपाङ्गीमगरको अध्यक्षतामा महासंघका वैदेशिक शाखाहरुको बैठक बस्यो । सो बैठकले शाखाहरुले संयुक्त रुपमा महासंघमा बुझाएको माग पूरा नहुन्जेल लागिरहने निर्णय गरयो । स्मरण रहोस्, महासंघमातहतमा रहेका ८ वैदेशिक शाखाले जिल्लासरहको मान्यता दिइनुपर्ने, सबै सभासदलाई मताधिकार दिइनुपर्ने, वैदेशिक शाखाहरुलाई समेटेर प्रदेश कमिटी बनाइनुपर्ने, वैदेशिक शाखाबाट केन्द्रमा प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने लगायतको माग पेश गरेका छन् ।
बैठकमा युरोप, युएई, कतार, भारत, कोरिया, युके शाखाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री