
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा शनिबार बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठक । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले तराई-मधेश डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन, पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन सत्ता साझेदार प्रमुख दुई दल तथा प्रमुख प्रतिपक्षीदलका शीर्ष नेतालाई सामूहिक रुपमा आग्रह गर्नुभएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का शीर्ष नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले सो आग्रह गर्नुभएको हो ।
शीर्ष नेतासँगको बैठकमा उहाँले भन्नुभयो ‘वर्षेनी उत्पन्न हुने बाढीपहिरोजस्ता प्राकृतिक विपद्लाई न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु परयो ।’ भेटपछि सञ्चारकर्मीलाई काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले राष्ट्रपति भण्डारीले तराई-मधेशका डुबान, पहिरो, संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो व्यक्त गर्दै यस विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तराई-मधेशका डुबान, पहिरो पीडितको खोज, उद्धार तथा राहत वितरणमा सरकारले उच्च प्राथमिकता दिँदै संकटलाई समाधान गर्न सरकार लागिरहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराउनुभएको थियो ।
साथै शीर्ष नेताले तराई-मधेशका डुबान, पहिरोपीडितको खोज, उद्धार तथा राहत वितरण कार्यमा राजनीतिक दल एक भई जुटिरहेको, आसन्न २ नम्बर प्रदेशको निर्वाचनमा लागिरहेको र निर्वाचनमा सबै पार्टीको सहभागिताका लागि वार्ता र संवाद कार्यसमेत जारी रहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराउनुभएको थियो ।
छलफलमा नेकाका सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ तथा नेकपा–एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतमको सहभागिता रहेको थियो ।
राष्ट्रपति भण्डारीले सरकार परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने अवस्थाले राष्ट्रहित नहुने भन्दै साझा परराष्ट्र नीति ल्याउन शीर्ष नेतालाई आग्रह गर्नुभएको छलफलपछि नेता श्रेष्ठले बताउनुभयो ।
उहाँले राष्ट्रपति भण्डारीले नेपालका दक्षिणी भूभाग वर्षेनी डुबानमा पर्ने हुँदा मैत्रीपूर्ण कूटनीतिका माध्यमबाट समाधान खोज्न, प्राकृतिक विपद्सँग जुध्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनासमेत ल्याउन आग्रह गर्नुभएको जानकारी दिनुभयो ।
तराई-मधेशका डुबानका कारण हालसम्म १३५ जनाको अकालमा मृत्यु भइसकेको छ, हजारौँ घर डुबान, ती क्षेत्रका ८० प्रतिशत भूभाग जलमग्न भएका छन् । सरकारले बाढीपहिरोको खोज, उद्धार तथा राहत वितरण कार्यलाई उच्च प्राथमिकता दिँदै तत्काल बाढीका कारण मृत्यु भएका परिवारलाई प्रतिपरिवार रु दुईलाख, विपन्न परिवारलाई रु १५ हजार तथा दैनिक खानाका लागि रु ७० वितरण कार्य दु्रतरुपमा जारी राखेको जनाएको छ ।
प्रधानमन्त्री देउवाले हालै बाढीपहिरो पीडितको क्षेत्रको स्थलगत रुपमा भ्रमण तथा अवलोकन गरी खोज, उद्धार तथा राहत वितरणमा उच्च प्राथमिकता दिन निर्देशन दिनुभएको थियो । राष्ट्रपति भण्डारीले संविधान संशोधनका विषयमा सहमति जुटाउन पनि आग्रह गर्नुभएको भेटपछि नेकपा (एमाले)का उपाध्यक्ष गौतमले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले संविधान संशोधनका विषयमा सहमति जुटाउन आफ्नो पार्टीसँग सत्तारुढ दलका नेताले वार्ता संवाद गरेको छैन भन्नुभयो ।
राष्ट्रपति भण्डारी र तीन दलका शीर्ष नेताका बीचमा दुई घण्टा छलफल भएको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने