पूर्वमा बाढीको वितण्डा, धेरै धनजनको क्षति

अविरल वर्षाका कारण डुवानमा परेको सडकबाट आ-आफ्नो गन्तब्य तर्फ लाग्दै सर्वसाधारण । लगातार तीन दिन देखी परेको वर्षाको पानीले वीरगन्ज महानगरपालिको २० भन्दा बढी वडा डुवानमा परेका छन् । तस्बिर ः विजय कुमार महतो, पर्सा, रासस

महेन्द्रनगर (धनुषा), २८ साउन । समस्त धनुषा जिल्लाको जनजीवन तीन–चार दिनदेखिको भारी वर्षाले अस्तव्यस्त तथा कष्टकर बनेको छ ।

सहरी क्षेत्रमा पानीको निकासको लागि व्यवस्थित नाला र गाउँघरमा कुलो नभएपछि सहर, गाउँ, हाटबजार तथा विभिन्न विद्यालय जलमग्न भएका छन् ।

अविरल वर्षाले विद्यार्थी विद्यालय जान पाएका छैनन् । गाउँका कच्ची सडक तहसनहस भएपछि सवारी आवागमन ठप्प भएको जनकपुर अञ्चल बस व्यवसायी संघले जनाएको छ ।

सदरमुकामबाट गाउँमा ओहोरदोहोर गर्ने बसहरु चलेका छैनन् । बजार र सहरमा किनमेल गर्ने तथा अन्य कामले आउने मानिसको आवागमन निकै कम भएको छ ।

सरकारी कार्यालयमा सेवाग्राही घटेका छन् । विकास निर्माणका काम ठप्प भएको छ । अधिकांश खेत डुबानमा परेका छन् । डुबानले धान गल्ने र बसोबासका कमजोर कच्ची घर भत्किने सम्भावना बढेको छ ।

पूर्वी धनुषाको कमला नदीमा आएको बाढीबाट दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् । कमला नदीमा आएको बाढीका कारण छेउछाउका ढोलबज्जा, किरतपुर, बरमझिया, रघुनाथपुर, सबैला, सोनापारालगायत गाउँ जलमग्न बनेका छन् । बरमझिया गाउँको घर–घरमा पानी पसेको छ भने चारनाथ खोलामा आएको बाढीको कारण छिहत्तरी विगाह गाउँका २० घर जोखिममा छन् ।

यसैगरी, किरतपुरस्थित कमला नहरमा आएको पानीको उच्च बहावका कारण तटबन्ध भत्काएको छ । भत्केको तटबन्ध मर्मत गर्न स्थानीयवासी तथा जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका प्राविधिकहरु घटनास्थलमा पुगेको स्थानीय विशेश्वर यादवले बताउनुभयो । मध्य धनुषाबाट बग्ने जलाद नदीमा पानीको उच्च बहाव छ । स्थानीयवासीका अनुसार वर्षा नथामिए, जलाद नदीमा पनि बाढी आउन सक्छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका डिभिजनल इन्जिनियर आनन्दकुमार झाका अनुसार कमला नदीको बाढीबाट हालसम्म कुनै क्षति भने भएको छैन । रातिको बाढीबाट किरतपुर नजिकको बाँध क्षतिग्रस्त भए पनि रातिदेखि नै स्थानीयवासीको सहयोगमा मर्मत संभार भइरहेको छ । यसैगरी, बाढीको उच्च जोखिममा रहेको ७६ विगाहको २० घर जोगाउन युद्धस्तरमा काम भइरहेको डिई झाले जनाउनुभयो ।

यसैगरी, पानीको निकास हुन नसकी जनकपुर उपमहानगरपालिकाका कम्तीमा पाँच वडा जलमग्न छन् । अविरल वर्षाको कारण जनकपुर नगर क्षेत्रको मुसलमानबस्ती, किसोरीनगर, आनन्दनगर, शान्तिनगर, हवाईअड्डा तथा जिल्ला प्रहरी कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय लगायत क्षेत्र डुबानमा परेका छन् । भानुचोकदेखि शिवचोकबीचको सडक जलमग्न छ भने मिल्स एरिया–जानकी मन्दिर जाने बाटोमा पनि दुई फिटसम्म पानी जमेको छ ।

एशियाली विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत ढल तथा सडक निर्माणको क्रममा सडक उप्काइए पनि समयमै नपुरिएकाले मिल्स एरिया–भानुचौक सडक झण्डै तीन सातादेखि अवरुद्ध छ । पानी परेयता यस क्षेत्रमा बसोबास गर्नेहरुलाई आवतजावत गर्न समेत कठिन भएको छ ।

लगातार तीन–चार दिनदेखि भइरहेको वर्षाका कारण नगर प्रवेश गर्ने मुख्य सडक डुबानमा परेका छन् भने अधिकांश नगरवासीको घरमा पानी प्रवेश गर्दा जनजीवन अस्तव्यस्त बनेको छ ।

जनकपुर अञ्चल अस्पतालको आकस्मिक कक्षमा समेत एक फिटभन्दा बढी पानी जमेका कारण बिरामीको उपचारमा कठिनाइ उत्पन्न भएको छ । अस्पताल परिसरमा पानी पस्दा बिरामी र कुरुवालाई औषधि ल्याउन, टिकट काट्न समस्या भएको छ ।

जनकपुर विमानस्थलको रनवे पानीले डुबेपछि जहाज अवतरण गर्न र उडान गर्न अप्ठ्यारो भएको छ । यस्तै, अवस्था रहे उडान रद्द गर्नुपर्ने अवस्था आउने विमानस्थलका कर्मचारीले बताएका छन् ।

नगरक्षेत्रमा वकिल टोल, मिल्स एरिया, कदम चोक, विश्वकर्मा चोक, क्याम्पस चोकमा रहेका सयौं घरमा पानी पसेपछि सर्वसाधारणलाई दैनिकी चलाउन कठिन भएको छ ।

शुक्रबार रातिदेखि परेको मुसलधारे बर्षाका कारण जलमग्न भएको सप्तरीको सदरमुकाम राजविराजको मुख्य सडक । यहाँको सडकमा करिब तीन फिटसम्म पानी जमेको छ । तस्बिर ः अरुण कुमार यादव, राजविराज, रासस

बाढी पहिरोका कारण ३० जनाको मृत्यु

काठमाडौँ, २८ साउन । शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट ३० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार-चार जना, मोरङ, बाँके र पाँचथरमा तीन-तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक-एक जनाको मृत्यु भएको छ ।

यसैबीच, गृहमन्त्री जनार्दन शर्माले देशैभरि बाढी पहिरोका कारणले मृत्यु हुनेप्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तीव्र पार्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

आज गृह मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा लैजानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । आफू बाढी प्रभावित जिल्लामा जान चाहेपनि मौसमका कारण जान नपाएको उहाँले बताउनुुभयो । उहाँले मौसमले साथ दिनेबित्तिकै त्यसतर्फ प्रस्थान गर्ने जानकारी गराउनुभयो ।

गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोलीलाई तत्काल उद्धार कार्यमा परिचालित गर्न आफूले यसअघि नै निर्देशन दिइसकेको तथा नेपाली सेनासमेत सक्रिय रुपमा उद्धारमा जुटिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार राहत र उद्दारका लागि हेलिकप्टरको समेत प्रयोग भइरहेको छ ।

उहाँले डुबानमा परेका जनता, राजनीतिक दल, जिल्ला प्रशासनलगायत सम्बन्धित निकायसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताउनुभयो ।

धनुषा महोत्तरी जोड्ने रातोपुल पुनः भासियो

महेन्द्रनगर (धनुषा), २८ साउन । विगत चार दिनदेखि भएको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पुनः भासिएको छ ।

तीन वर्ष पहिले पनि यो पुल भासिएको थियो । पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा यो पुल रहेको छ । पुल भासिएपछि पुलमा भारी सवारी निषेध गरिएको छ । हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ । पुल ४–५ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सालिकराम शर्माका अनुसार आइतबार प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्नेछ । खोलामा पानीको बहाब उच्च भएपछि पहिले डाइभर्सन दिएको स्थानमा अलि भासिएकाले सवारीसाधन आवागमन बन्द गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय, बर्दिबाससँग समन्वय गरी साँझ ७ बजेदेखि सवारीसाधन आउजाउ बन्द गरिएको उहाँले बताउनुभयो । पुलको अवस्था हेरेर मात्र साना सवारीसाधनहरु आउन जान सक्ने वा नसक्ने विषयमा विचार गरेर मात्र सञ्चालन गर्न दिने प्रहरीले जनाएको छ ।

सवारीसाधन सञ्चालनमा रोक लगाएपछि राजधानीसहित देशको विभिन्न ठाउँ जाने रात्रिकालीन बस सेवाका एक हजारभन्दा बढी गाडी र हजाराँै यात्री अलपत्र परेका छन् ।

बाढीबाट एकदर्जन सडक क्षतिग्रस्त, चार दिन विद्यालय बन्द

राजविराज (सप्तरी), २८ साउन । अविरल वर्षासँगै आएको भीषण बाढीका कारण सप्तरीका विभिन्न ठाउँमा रहेका एक दर्जन सडक क्षतिग्रस्त भएका छन् ।

जिल्लाको शहरी तथा ग्रामीण क्षेत्र जोडने मुख्य तथा सहायक सडक र कृषि सडक बाढीले ठाउँठाउँमा टुटफुट भएको छ भने कतिपय ठाउँमा बाढीले कटानसमेत गरेको छ । बाढीको निकास नभएका कारण कतिपय सडकलाई सरकारीस्तरबाट डोजर लगाएर पानीको निकास दिइएको छ ।

राजविराज नगरपालिका भित्र पनि ठाउँठाउँमा डोजर लगाएर सडकहरु काटिएको स्थानीय प्रशासनले जनाएको छ । राजविराज–कुनौली सडक खण्डको तिलाठी, बोदेवरसाईन, शम्भुनाथ, हनुमाननगर–राजविराज सडकखण्ड, तोपा–कञ्चनपुर–फत्तेपुर सडकखण्ड, मोहुवा–बेलही जाने बाटो, सकरपुरा, कोइलाडी बसाईनलगायत ग्रामीण क्षेत्रको पक्की ग्राभेल तथा कच्ची सडक बाढीले क्षतिग्रस्त भएको स्थानीयबासिन्दाले बताएका छन् ।

वर्षा र बाढीका कारण सप्तरीका करिब ७० हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

अधिकांश सडक, गाईगोठ, कच्ची तथा पक्की घरमा पानी पसेको र दैनिक क्रियाकलाप र व्यापार व्यवसाय ठप्प भएको छ । बाढीले उद्योग, कलकारखाना, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्थाको कामसमेत प्रभावित भएको बताइएको छ ।

यसैबीच, आइतबारदेखि बुधबारसम्म सप्तरीका सम्पूर्ण विद्यालय बन्द हुने भएका छन् ।

बाढीबाट अत्यन्त प्रभावित राजविराज नगरपालिका–९ लगायत केही वडा तथा ग्रामीण क्षेत्रमा स्थानीय प्रशासनले च्यूरा, भूजालगायत खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । मोहुली र खाँडो खोलाको बाँध आज पनि केही ठाउँमा क्षतिग्रस्त भएको र त्यस क्षेत्रका जनता त्रसित अवस्थामा रहेको बताइएको छ ।

राजविराज बजारमा चार फिटसम्म पानी जमेको र घरघरमा पानी पस्न थालेपछि स्थानीय प्रशासनले डोजर लगाएर पानीको निकास दिएको राजविराज नगरपालिकाले जनाएको छ । बाढीले केही दिन अगाडि राजविराज–५ स्थित पडरीयामा ग्राभेल गरिएको बाटो तथा हुलाकी सडकसमेत क्षतिग्रस्त भएको छ ।

त्यसैगरी, जिल्ला सिँचाइ कार्यालय, भूसंरक्षण कार्यालयले विभिन्न ठाउँमा निर्माण गरेको नहर र जलाधार संरक्षण कार्यसमेतमा क्षति पुगेको बताइएको छ ।

त्यस्तै, अविरल वर्षासँगै खाँडो नदीमा आएको बाढीले बाँध भत्काएर गाउँतर्फ पसेपछि सप्तरीको एकमात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ । पानी ३-४ फिट सम्म जमेपछि औधोगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग बन्द भएका छन् भने औद्योगिक क्षेत्र नजिकै राजविराज–रुपनी सडक कटान गर्न थालेको छ भने सडकमाथिबाट पानी बग्न थालेको छ ।

अविरल वर्षासँगै नदीमा आएको बाढीका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत कठौना नजिकै रहेको पुल नजिकै कटान हुन थालेपछि खतराको संकेतस्वरुप रातो झण्डा गाडिएको छ भने अहिले एकतर्फीमात्र यातायात सञ्चालन भइरहेको प्रहरी चौकी कठौनाले जनाएको छ ।

सप्तरीको खडक खोलामा आएको बाढी बाँध भत्काएर गाउँमा पसेपछि बोदे बर्साइन नगरपालिका–१ स्थित जाँजर टोल जलमग्न भएको छ भने सोही वडाको भाटिनस्थित सडकमा दुई फिटसम्म पानी बग्न थालेको छ । पानीको मुल थुनिएपछि सोही नगरपालिका वडा नं १३ स्थित सिलहट परसाहीस्थित आधारभूत स्कुलको कम्पाउण्ड वाल भत्किएको छ ।

वर्षाका कारण सिरहामा करिब एकसय घर डुबानमा

लहान, २८ साउन । तीन दिनदेखिको अविरल वर्षाका कारण सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका करिब एकसय घर डुबानमा परेका छन् ।

बाढीबाट सिरहा सदरमुकामसहितका प्रमुख बजारहरु जलमग्न भएका छन् । वर्षाको पानी निकास नहुँदा कर्जन्हा गाउँपालिकास्थित पासवान टोलका करिब ४० घर तथा कल्याणपुर गाउँपालिकास्थित भेडियामा करिब ३५ र चिकनाका करिब २५ घर जलमग्न भएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।

यस्तै, सिरहाको लहान नगरपालिका–१ स्थित दलित बस्तीमा समेत पानी पसेपछि स्थानीय त्रसित बनेका छन् । मिर्चैया नगरपालिकाको पुरानो हटियास्थित केही घरमा समेत पानी पसेको छ ।

त्यस्तै, पानीको निकास नहुँदा सदरमुकाम सिरहास्थित अधिकांश सरकारी कार्यालय जलमग्न भएका छन् भने मुख्य सडकमा दुई फिटसम्म पानी जमेको छ । सदरमुकामस्थित जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, पशु सेवा, जनस्वास्थ्य, विद्युत् प्राधिकरणलगायत एक दर्जन सरकारी कार्यालय जलमग्न भएका छन् । यस्तै, सदरमुकामको मुख्य सडकबाट पानी बग्न थालेको छ ।

त्यसैगरी, अत्यधिक वर्षा भएपछि लहानस्थित जिल्ला वन कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालयलगायत कार्यालयमा पानी जमेको छ । वर्षाकै कारण सिरहाको मिर्चैया नगरपालिका र गोलबजार क्षेत्र समेत जलमग्न भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयामा करिब दुई फिट पानी सडकबाटै बग्न थालेको स्थानीयले बताएका छन् ।

सीमामा रहेका बाँधको ढोका खोल्न भारतलाई आग्रह

काठमाडौँ, २८ साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल–भारत सीमाका नदीमा रहेका बाँधको आवश्यक सबै ढोका खोल्नका लागि नेपालस्थित भारतीय राजदूतमार्फत भारत सरकारलाई आग्रह गर्नुभएको छ ।

उपप्रधानमन्त्री महराले नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई आज टेलिफोन गरेर शुक्रबारदेखि जारी वर्षाका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको भन्दै भारतीय पक्षले आवश्यकताअनुसार सीमाका बाँधको ढोका खोल्नका पहल गरिदिन आग्रह गर्नुभएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

डुबानका कारण तराईमा जनधनको क्षति भएको तथा जनजीवन पूर्णरुपमा प्रभावित भएकाले थप क्षति हुन नदिन बाँधको ढोका खोल्न आग्रह गरिएको हो ।

सप्तकोशी, लक्ष्मणपुरलगायत ब्यारेजको ढोका आवश्यकताअनुसार भारतीय पक्षले नखोलिदिँदा नेपालतर्फ डुबान बढ्दै गएपछि मन्त्री महराले सो आग्रह गर्नुभएको हो ।

कोसीको बाढी खतराको संकेतमाथि, ३७ ढोका खोलियो, थप ढोका खोल्न पहल

इटहरी, २८ साउन । कोशी व्यारेजमा पानीको वहाब आज साँझ दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ ।

अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले गृह मन्त्रालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिनुभयो ।

दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ ।

पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले पानीको बहाब अझै बढ्ने उहाँले जानकारी दिनुभयो ।

यसैगरी, सुनसरी नदीमा आएको बाढीले दायाँबायाँ तटबन्ध काटेर जलपापुर, चाँदबेला, नर्सिङ, बबिया, भुटाहा, कप्तानगन्जलगायत दर्जनौँ गाउँ जलमग्न भएका छन् ।

उक्त गाउँका १० हजारभन्दा बढी बासिन्दा बाढीमा फसेको र उनीहरुलाई नेपाली सेनाको टोली परिचालन गरी उद्धार गर्ने प्रयास गरिए पनि वर्षा भइरहेकाले सकिएको छैन ।

यसैगरी, धरान उपमहानगरपालिकाका विभिन्न वडाका खहरे खोलामा आएको बाढीले ३५ घर बगाएको छ । मानवीय क्षति भने भएको छैन ।

यस्तै, धरान–१३, निसाने खोला नजिक धरान–धनकुटा सडकखण्डमा पहिरो जाँदा धरान–धनकुटा यातायात अवरुद्ध भएको छ ।

इटहरीको बुढीखोलामा आएको बाढीका कारण डुबानमा परेका करिब एक हजार बासिन्दालाई स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरमा आपतकालीन उद्धार गरी त्यहाँ खाने र बस्ने व्यवस्था मिलाइएको छ ।

अहिले इटहरी बजारलगायत जिल्लाका अधिकांश ठाउँ जलमग्न छन् । त्यस्तै, विराटनगर–धरान यातायात पनि पुरै बन्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री