प्रधानमन्त्री तथा शीर्षनेताद्वारा डा केसीलाई अनशन तोड्न आग्रह

काठमाडौँ, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री देउवाले डा केसीको अनशनको विषयमा विशेष चासो दिँदै डाकेको बैठकले केसीलाई अनशन तोड्न आग्रह गरेको हो ।

बैठकमा तीन दलका शीर्ष नेतासहित शिक्षा र स्वास्थ्यमन्त्री, सरकारले गठन गरेको वार्ता समिति, विधेयक छलफल भइरहेको संसद्को महिला, बालबालिका तथा समाज कल्याण एवं ज्येष्ठ नागरिक समितिका सभापति र सदस्यसहित केही विज्ञ सहभागी बैठकले केसीलाई तत्काल अनशन तोड्न आग्रह गर्दै उहाँको मागको भावना अनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाउने समझदारी बनाएको हो ।

बैठकले डा केसीले माग गरेअनुसार संसद्मा विचाराधीन रहेको चिकित्सा शिक्षा विधेयकलाई माथेमा आयोगको प्रतिवेदन र डा केसीले उठाएका कतिपय जायज मागअनुसार अघि बढाउने बैठकले समझदारी गरेको छ । संसद्लाई बाहिरको दबाबबाट नभई जायज मागलाई संबोधन गरेर अघि बढाउनेबारे बैठकमा सहमति भएको छ ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले विधेयकको दफा १२ र १३ लाई यसअघिको सरकारले प्रस्ताव गरेअनुसार नै अघि बढाउँदा चिकित्सा क्षेत्रको गुणस्तर वृद्धि हुनुका साथै सुधार हुने धारणा राख्नुभएको थियो ।

बैठकमा प्रतिपक्ष दलका नेता ओली, माओवादी केन्द्र अध्यक्ष दाहाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, सरकारले गठन गरेका वार्ता समिति, डा भगवान् कोइराला, सांसद गगन थापा र समितिका सभापति रञ्जु झा र उक्त समितिका सदस्य सहभागी थिए ।

डा केसीको अनशन तोडाउन सरकारलाई आग्रह

काठमाडौँ, २८ साउन । नागरिक समाज र माथेमा कार्यदलको प्रतिनिधिमण्डलले अनशनरत शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सक डा गोविन्द केसीको अनशन तोडाउन सरकारलाई आग्रह गरेको छ ।

आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी उक्त प्रतिनिधिमण्डलले डा केसीको स्वास्थ्य गम्भीर भएकाले चाँडो अनशन तोडाउन आग्रह गरेको हो ।

भेटका क्रममा शुक्रबार महिला, बालबालिका समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक–२०७३ पारित भएकोमा आपत्ति जनाउँदै प्रतिनिधिमण्डलले मनमोहन मेडिकल कलेज खरिद गर्न सरकारलाई आग्रह गरेको थियो ।

जवाफमा प्रधानमन्त्री देउवाले डा केसीको मागप्रति आफू र आफ्नो पार्टीको समर्थन रहेको तर यसमा प्रमुख प्रतिपक्षी दल एमाले सहितका पार्टीको पनि समर्थन चाहिने भएकाले उनीहरुसँग पनि छलफल र पहलकदमी गर्न आग्रह गर्नुभएको प्रधानमन्त्री कार्यालयको निजी सचिवालयले जनाएको छ ।

भेटमा प्रा केदारभक्त माथेमा, कनकमणि दीक्षित, चरण प्रसाईं, सुशील प्याकुरेललगायत डा केसीको वार्ताटोली सदस्य सहभागी थिए ।

यसैबीच, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले पनि आज प्रधानमन्त्रीसँग छुट्टै भेटगरी मनमोहन कलेज सरकारले खरिद गरेर अन्य माग माथेमा कार्यदलको सुझावअनुसार कार्यान्वयन गर्न सुझाव दिएको छ ।

जवाफमा प्रधानमन्त्रीले आफू सकारात्मक भएपनि मनमोहन सञ्चालक समितिले मान्नुपर्ने र त्यसका लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।

चिकित्सा शिक्षा विधेयकले नेपाली जनतालाई नै फाइदा पुग्ने भएकाले उक्त विधेयक पारित हुनुपर्छ भन्नेमा प्रधानमन्त्रीको पनि जोड रहेको पूर्व स्वास्थ्यमन्त्री थापाले जानकारी दिनुभयो ।

अनसन तोड्न मन्त्री पोखरेलको आग्रह

काठमाडौँ, २८ साउन । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डा. गोविन्द केसीलाई तत्काल अनसन तोड्न आग्रह गर्नुभएको छ ।

सरकार बाढी पहिरो पीडितको उद्धारमा केन्द्रित हुनुपर्ने अवस्था सिर्जना भएकाले अहिलेको संवेदनशीलतालाई ध्यानमा राख्दै अनसन तोड्न आग्रह गर्नुभएको छ ।

मन्त्री पोखरेलले आज एक विज्ञप्ति जारी गरी डा केसीले माग गरेबमोजिम चिकित्सा शिक्षा विधेयक समितिबाट पारित भइसकेको र व्यवस्थापिका–संसदमा पेस हुने क्रममा रहेकाले यस प्राकृतिक विपदमा अनसन तोडी अन्य चिकित्सकलाई पनि नियमित काममा फर्कन आग्रह गर्नुभएको हो ।

डा केसीको अनसनलाई समर्थन गर्दै देशभरका सरकारी तथा निजी अस्पतालका चिकित्सक अन्दोलनमा रहेकाले पीडितको उपचारमा बाधा पुगेको भन्दै मन्त्रीले यस्तो आग्रह गर्नुभएको हो ।

यसैगरी, मन्त्री पोखरेलले मुलुकभर बाढी र पहिरोबाट पीडित बनेका व्यक्तिको उपचार र औषधिको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ ।

यता डा केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रामा कमी भई स्वासप्रस्वासमा समस्या भइरहेको र छातिमा दुखाइ बढेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री