
गाईजात्रा अवसरमा वर्षभरि मृत्यु भएका व्यक्तिका आत्माको शान्तिको कामनासहित मंगलबार काठमाडौँको हनुमान ढोका हुँदै नगर परिक्रमा गर्दै स्थानीयवासी । तस्बिर ः नवीन पौडेल, रासस
काठमाडौँ, २४ साउन । काठमाडौँ उपत्यकालगायत मुलुकमा विभिन्न ठाउँमा आज दिवंगत आफन्तको सम्झनामा गाईजात्रा निकालिएको छ ।
वर्ष दिनभित्र मृत्यु भएका व्यक्तिको घरबाट आफन्तले गाईजात्रा निकाली काठमाडौँको हनुमान ढोका, काष्ठमण्डप, चिकंमुगल, लगन टोलमा परिक्रमा गर्ने प्रचलन छ ।
काठमाडौँका राजा प्रताप मल्लले पुत्र शोकमा भावविह्वल भएकी आफ्नो रानीलाई सान्त्वना दिने उद्देश्यले प्रचलनमा ल्याइएको गाईजात्रामा मृतकका आफन्तले पितृको स्मृतिमा गाईजात्रा निकाल्ने परम्परा सुरु भएको हो ।
विशेषगरी नेवार समुदायका हिन्दू धर्मावलम्बीले निकाल्ने गाईजात्रामा पछिल्ला दिनमा गैरनेवार समुदाय पनि सहभागी हुँदै आएका छन् । मानिसलाई विभिन्न वेशभूषामा सिँगारेर जनै पूर्णिमाको भोलिपल्ट गाईजात्रा मनाइन्छ । गाईलाई समेत सजाएर विभिन्न टोलमा परिक्रमा गराइन्छ । यसो गर्दा वर्षभरि मृत्यु भएका व्यक्तिले गाईको पुच्छर समाई बैतरणी तर्छन् भन्ने जन विश्वास छ ।
स–साना बालबालिकालाई समेत गाईको भेषका रुपमा आ–आफ्ना इलाकामा परिक्रमा गराउने गरिन्छ । गाईजात्रामा सहभागीलाई नगर घुमाउने क्रममा विभिन्न टोलसहित हनुमान ढोका, कुमारी गल्ली, काष्ठमण्डप, चिकंमुगल, क्षेत्रपाटी, मरुटोल, प्याफल, कन्यामन्दिर स्कूल वरपर भेला भएका भक्तजनले फलफूल, रोटी, चिउरा, दही तथा दूधलगायत अन्न र द्रव्य दान गर्छन् ।
पछिल्लो समयमा राजनीति तथा समाजमा भएका विकृति तथा विसंगतिको न्यूनीकरण गर्न गाईजात्रामा विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम पनि हुन थालेका छन् ।
पञ्चायती व्यवस्थामा त्यसबेलाको सरकारको कार्यशैलीप्रति चित्त नबुझेकामा जनताले विरोध गर्ने दिनका रुपमा थालनी भएको यो कार्यक्रमले अहिले राजनीतिक रुप पनि लिएको छ । हास्य कलाकारले व्यंग्य गरी समाज सुधारका लागि नेतृत्वलाई सचेत गराउने दिनका रुपमा समेत यस पर्वलाई लिइएको छ ।
त्यस्तै कीर्तिपुरमा स्थानीय देवढोकाको गणेश मन्दिरमा नौ जना नर्तकले मुकुण्डो लगाएर नाच्ने, नगर परिक्रमा गर्ने यहाँको गाईजात्राको विशेषताका रुपमा लिन सकिन्छ ।
रासससँग कुरा गर्दै कीर्तिपुरका नगर प्रमुख रमेश महर्जनले गाईजात्रा पर्व त्यस क्षेत्रको महत्वपूर्ण संस्कृति भएको बताउँदै त्यहाँ रहेका संस्कृति तथा परम्परालाई व्यवस्थित बनाउन थप अध्ययन गरिने बताउनुभयो ।

हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै मंगलबार ललितपुरमा नेवार समुदायले धुमधामका साथ गाईजात्रा पर्व मनाउँदै । तस्बिर ः नवीन पौडेल, रासस
गाईजात्रासँगै लाखेंजात्रा मनाइयो
ललितपुर, २४ साउन । गोदावरी नगरपालिकास्थित चापागाउँ र ठेचोमा प्रत्येक वर्ष मनाइँदै आएको गाईजात्रा यस वर्ष पनि भव्यताका साथ मनाएको छ ।
गाईजात्रासँगै परम्परागतरुपमा चल्दै आएको लाखें नाच समेत देखाउने प्रचलन छ । गाईजात्राका दिन गाईलाई लक्ष्मीको रुपमा सिंगारेर बजार परिक्रमा गराउने प्रचलन छ ।
जात्रा हेर्न यहाँ गोदावरी, लेले, छम्पी, धापाखेल, देवीचौरलगायतका क्षेत्रबाट व्यापक रुपमा मानिसहरुको उपस्थिति रहेको गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । उहाँका अनुसार आजका दिन नेवारी परम्पराअनुसार यस वर्ष दिवङ्गत भएका परिवारका सदस्यले दान गरेमा मृत आत्माले शान्ति पाउने र स्वर्गलोकमा बास हुने विश्वास छ ।
स्थानीय सन्तवहादुर देशारका अनुसार गाईजात्रासँगै मनाइने लाखेंजात्रा नेवारी समुदायको प्रत्येक टोल–टोलमा मनाउने चलन छ । लाखेंको रुपमा नाच्ने व्यक्तिले आफ्नो अनुहार नदेखिने गरी मकुन्डो लगाउने गर्दछ भने उक्त मकुन्डोमा लामो खालको कृत्रिम कपाल समेत रहने गरेको उहाँले बताउनुभयो ।
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक