भारत भ्रमण सकेर फर्किए उपप्रधानमन्त्री महरा

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा तीनदिने भारत भ्रमणपश्चात् स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे सञ्चारकर्मीहरुलाई जानकारी दिनुहुँदै । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २० असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र भारतबीच सदियौँदेखि रहँदै आएको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्ध थप सुदृढ भएको बताउनुभएको छ ।

छिमेकी मुलुक भारतको औपचारिक भ्रमण सकेर आज नेपाल फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “मेरो भारत भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध थप सुदृढ तुल्याउन मद्दत पुगेको छ ।”

उपप्रधानमन्त्री महराले यो भ्रमणले दुई मुलुकबीच आर्थिक–सामाजिक विकास तथा पूर्वाधार निर्माणसम्बन्धी सम्झौता एवम् सहमतिलगायत हाल चालु परियोजनाको समयबद्ध रुपमा सफल कार्यान्वयन गर्न तथा सहयोगका नयाँ क्षेत्रको पहिचान गर्नेतर्फ महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको मैत्रीपूर्ण निमन्त्रणमा यही असार १९ देखि २० गतेसम्म परराष्ट्रमन्त्री महराले भारत भ्रमण गर्नुभएको हो ।

भारतीय विदेशमन्त्री स्वराजसँग भएको भेटबारे जानकारी दिँदै उहाँले नेपाल–भारतसम्बन्धका सबै पक्ष र विषयमा विचार आदान प्रदान भएको बताउनुभयो ।

परराष्ट्रमन्त्री महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणको मिति आपसी छलफलबाट तोकिने जानकारी दिँदै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलन गर्ने विषयमा भारत सकारात्मक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई मुलुकबीच उच्च तहमा भएका भ्रमणको आदान–प्रदानले आपसी सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगेको आफूलाई महसुस भएको छ ।”

परराष्ट्रमन्त्री महराले भ्रमणले भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास–परियोजना कार्यान्वयनलाई थप गति दिने, व्यापार–असन्तुलनलाई कम गर्ने, नेपालको निर्यात बढाउने लगायतका आपसी विश्वास तथा मैत्री सम्बन्धलाई प्रगाढ पार्न सहयोग पुगेको बताउनुभयो ।

भ्रमणका क्रममा नेपालका लागि सहप्रमाणीकृत नियोग प्रमुखसँग भएको अन्तरक्रियाबाट मुलुकको शान्ति तथा विकास प्रयासमा सबैको सद्भाव हासिल हुने विश्वास लिएको छु उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री महराले गैरआवासीय राजदूतसँगको बैठकमा आफूले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपालको उम्मेदवारीका साथै मानव अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिका विषयमा जानकारी गराएको बताउनुभयो ।

उक्त बैठकमा ३७ राष्ट्रका गैरआवासीय नियोग प्रमुखहरुको सहभागिता थियो । मन्त्री महराका अनुसार ती सबै नियोग प्रमुखले नेपालप्रति सद्भाव दर्शाउनाका साथै विगत ११ वर्षदेखि भएको सामाजिक–राजनीतिक रुपान्तरणप्रति चासो लिनुभएको थियो ।

उहाँले बैठकमार्फत आफूले नेपालको परराष्ट्र नीतिको दिशा र अभीष्टबारे अवगत गराउनुका साथै सबैको सद्भाव हासिल गर्न प्रयास गरेको बताउनुभयो ।

नेपालको सामाजिक–राजनीतिक रुपान्तरणमा सबै मुलुकले चासो र उत्सुकता देखाएको छ, मन्त्री महराले भन्नुभयो, “ती सबै मुलुकसँगको सम्बन्धलाई हामीले उच्च महत्व दिइआएका छौँ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री