राष्ट्रपतिबाट विद्यापति पुरस्कार प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार काठमाडौंमा नेपाल विद्यापति पुरस्कार अर्पणपछि पुरस्कृतहरुका साथमा । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्यापति पुरस्कार कोषबाट सञ्चालित विभिन्न पाँच विधाका पुरस्कार आज यहाँ प्रदान गर्नुभयो ।

कोषले आयोजना गरेको समारोहमा उहाँले सो पुरस्कार प्रदान गर्नुभएको हो ।

रु दुई लाखको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मिथिला नाट्य कला परिषद्लाई प्रदान गरिएको छ भने रु एक–एक लाखको नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार प्राडा वीरेन्द्र पाण्डे, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार मुरलीधर विश्वकर्मा, नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार नवीनकुमामर मिश्र र नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्कार अवधेष पोखरेललाई प्रदान गरिएको हो ।

मैथिली साहित्यका आदिकवि विद्यापतिको सम्मानमा नेपाल सरकारले विसं २०६८ मा रु एक करोड अनुदान दिई सो कोष स्थापना भएको थियो भने यस वर्ष दिइएको पुरस्कार पाँचाँै शृङ्खला हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले मैथिली साहित्यको जग बसाल्न र तराई पहाडका नेपाली कला संस्कृतिबीचलाई जोड्न विद्यापतिले दिनुभएको योगदानको प्रशंसा गर्दै विद्यापतिको व्यक्तित्व र कृतित्वबारे नयाँ पुस्तालाई थप जागृत गराउनुपर्ने बताउनुभयो ।

उहाँले यस्ता कोष र पुरस्कारका लागि राज्यले निरन्तर चासो दिनुपर्नेमा पनि जोड दिनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सबै भाषा, संस्कृति र साहित्यको समान जगेर्ना गर्न सकेमा मात्र मुलुुकको समानुपातिक र समावेशी विकास हुने बताउनुभयो ।

कोषका अध्यक्ष विजय दत्तले कोषमा बजेट बढाउन सरकारसँग माग गर्दै यो पुरस्कारले मैथिली भाषा, साहित्य, संस्कृतिको अध्ययन अनुसन्धान गर्न प्रेरित गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री