लन्डन । नेपलिज वुमन एसोसिएसन यूकेले अटिजम केयर नेपाल सोसाइटीलाई आर्थिक सहयोग गरेको छ । एसोसिएसन अध्यक्ष आरती श्रेष्ठले हालै नेपालमा आयोजित एक कार्यक्रमबीच सोसाइटी अध्यक्ष डा. सुनिता मालेकु अमात्यलाई दुई हजार पाउण्ड (दुई लाख ५९ हजार रुपैयां) हस्तान्तरण गरेकी हुन् । एसोसिएसनले उक्त रकम बेलायतमा च्यारिटी गरि संकलन गरेको थियो । रकम हस्तान्तरण कार्यक्रममा एसोसिएसनकी संस्थापक संरक्षक डा. मिलन अधिकारी चालिसे पनि सहभागी थिइन् । सन् २००८, अप्रिल २ मा स्थापित सोसाइटीले नेपालमा अटिजम प्रभावित वालवालिकालाई रेखदेख गर्दै आएको छ ।
आर्थिक सहयोग ग्रहणपछि सोसाइटी अध्यक्ष अमात्यले बेलायतस्थित नेपाली महिलाहरुको संस्था वुमन एसोसिएसनप्रति आभार व्यक्त गरेकी छन् ।
सन् २०१४ मा स्थापित नेपलिज वुमन एसोसिएसन यूकेले हालसम्म चारवटा कफी मर्निङ, दुई वटा हस्तकला प्रदर्शनी, दुई च्यारिटी डिनर र नेपालमा भूकम्प पीडितलाई आर्थिक सहयोग गरिसकेको अध्यक्ष आरती श्रेष्ठले जनाइन् । पहिलो च्यारिटी डिनरबाट संकलित रकममध्ये संस्थाले प्रिजनर्स एसोसिएसन अफ नेपाललाई अढाई लाख रुपैयां प्रदान गरेको थियो । संस्थाले सन् २०१५ मा एमपी बीरेन्द्र शर्माको प्रमुख आतिथ्यमा दोश्रो च्यारिटी डिनर गरेको थियो जसमा रोयल बरो अफ केन्जिङटन र मेयर अफ लन्डन बरो अफ इलिङ विशेष अतिथी थिए । संस्थाले उक्त च्यारिटी डिनरसहित विभिन्न माध्यमबाट संकलित रकम ६ हजार ६ सय पाउण्ड लन्डनस्थित दूतावासमार्फत भूकम्प राहत कोषमा पठाएको थियो ।
बेलायत र नेपालका महिलाहरुको उत्प्रेरणा, सशक्तिकरण तथा हितका लागि क्रियाशिल उक्त एसोसिएसनले सन् २०१६ मा एमपी बीरेन्द्र शर्मा र इलिङ मेयरलाई एक साताको नेपाल भ्रमण गराएको थियो । उक्त भ्रमण एसोसिएसन अध्यक्ष आरती श्रेष्ठको विशेष पहलमा भएको हो । नेपाल भ्रमणका क्रममा सांसद बीरेन्द्र शर्माले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, विभिन्न सांसद र भूपू गोर्खाहरुसंग भेटवार्ता गरेका थिए ।
यसैबीच, एसोसिएसनले हालै कफी मर्निङ कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले १५ सदस्यीय आफ्नो संस्था गैर नाफा मुलक स्वयंसेवी संस्था भएको र यसले नेपाली महिलाहरुलाई उत्प्रेरणा र सशक्तिकरण प्रदान गर्ने उद्देश्य लिएर काम गरिरहेको बताइन् । अध्यक्ष श्रेष्ठले नेपाली महिलाहरुलाई सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा सहभागी गराइ उनीहरुको सिप अभिवृद्धि, सहयोग प्रदान र एकापसमा सम्वन्ध विस्तार एवं अन्तरसंवाद गराउन तल्लीन रहेको समेत अवगत गराएकी थिइन् । श्रेष्ठले संस्थामा डा. मिलन अधिकारी संस्थापक संरक्षक र पुनम सुवेदी (राजदूत पत्नी) वर्तमान संरक्षक भएको पनि जनाइन् ।
श्रेष्ठले होलिडेमा नेपाल जांदा पनि सामाजिक काममा समर्पित गर्दै विपन्न तथा असहायलाई आर्थिक सहयोग गर्दै आएकी छन् ।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’