काठमाडौँ महानगर प्रमुखमा शाक्य विजयी

 

काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य विजयी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गर्नुभएको छ ।

दुईसातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले मतपरिणाम घोषणा गर्नुभएको हो ।

यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गर्नुभयो ।

कुल दुई लाख ७९ हजार ३०६ मतदाता रहेको महानगरपालिकामा एक लाख ९७ हजार २२७ मत खसेको थियो भने छ हजार १८३ मत बदर भएको थियो ।

समृद्ध र जीवन्त महानगर प्रमुखको जिम्मेवारी 

राजनीतिमा तीन दशकदेखि क्रियाशील रहेर पनि आमप्रचारमा कमै सुनिने विद्यासुन्दर शाक्य अन्ततः काठमाडौँ महानगरपालिकाको प्रमुख बन्नुभएको छ ।

समृद्ध, सुन्दर र चौबीसै घन्टा जीवन्त सहर बनाउने अठोटका साथ निर्वाचनमा होमिनुभएका शाक्यको काँधमा मुलुकको राजधानी रहेको काठमाडौँ महानगरपालिकाको प्रमुखका रुपमा आगामी पाँच वर्ष नेतृत्व गर्ने जिम्मेवारी आएको छ ।

उम्मेदवारी दिएदेखि नै शाक्यले राष्ट्रिय सञ्चारमाध्यममा स्थान पाउन थाल्नुभयो र मतपरिणाममा निरन्तरको अग्रताले उहाँलाई थप लोकप्रिय बनायो । अन्ततः भारी मतले विजयी घोषणापछि उहाँको राजनीतिक उचाइ एकाएक बढाएको छ ।

काठमाडौँको भित्री सहरका स्थापित राजनीतिक कार्यकर्ता शाक्यको काँधमा नयाँ संविधानपछिको अधिकारसम्पन्न स्थानीय निकायमध्ये मुलुकको केन्द्रभागको शक्तिशाली महानगरको बागडोर सम्हाल्ने चुनौतीपूर्ण जिम्मेवारी आएको छ । राजनीतिक रुपमा सिंहदरबारपछिको केन्द्र भनेकै महानगर हुन्, त्यस्तो निकायमा अत्यधिक मतले जितेपछि यहाँका नागरिक र मतदाताका सेवा सुविधाका अपेक्षा र उहाँले निर्वाचनका बेला गरेका वाचा पूरा गर्ने चुनौतीलाई उहाँले ऐतिहासिक अवसरमा रुपमा लिनुभएको छ ।

काठमाडौँकै लगनटोलमा विसं २०२० जेठ ९ गते जन्मिएर त्यही माटोमा हुर्किनुभएका शाक्यले अब आफ्नो टोलबाट करिब एक–डेढ किलोमिटरको मात्र दूरीमा रहेको बागदरबारको प्रमुखको कुर्सीमा पाँच वर्ष रहेर के के गर्ने भन्ने योजना पनि बुन्न थाल्नुभएको छ ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट विद्यालय प्रवेशिका उत्तीर्णपछि शाक्यले शङ्करदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको थियो ।

विद्यार्थीकालदेखि नै राजनीति र समाज परिवर्तनको अठोट बोकेर हिँड्नुभएका शाक्यले आफ्नो यस सफलतालाई निरन्तरको योगदान र निष्ठाको प्रतिफल ठान्नुभएको छ । शाक्य विसं २०३७ को जनमत सङ्ग्रहकाबेलादेखि नै राजनीतिमा सक्रिय बन्नुभएको हो ।

प्रजातन्त्र प्राप्तिका हरेक आन्दोलनमा उत्तिकै सक्रिय शाक्य एमालेको भ्रातृ सङ्गठन तत्कालीन राष्ट्रिय युवा सङ्गठनको काठमाडौँको संस्थापक कोषाध्यक्ष हुँदा करिब दुई दशकदेखि एमालेको जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएका उहाँ हाल सो कमिटीको जिल्ला सचिव हुनुहुन्छ । विसं २०४९ मा भएको स्थानीय निकायको निर्वाचनमा काठमाडौँ वडा नं २१ को अध्यक्षका उम्मेदवार बन्नुभयो । सूर्य चिह्न फहराउँदै उहाँको विजय र जनताको प्रत्यक्ष सेवाको जिम्मेवारी यात्रा सुरु भयो ।

आफूले बढी मत पाउने अपेक्षा गरे पनि आशा गरेअनुरुप मत अझै प्राप्त नगरेको बताउने शाक्यले अब आफू एमालेको उम्मेदवार नभई जनताको साझा प्रतिनिधि भएकाले जनताको मतको सम्मान हुने काममा खट्ने दृढता व्यक्त गर्नुहुन्छ ।

उहाँले कार्यकाल सुरु गरेको पहिलो एक सय दिनभित्र गर्ने एक सय एक कामका योजना र प्रतिबद्धता यसअघि नै सार्वजनिक गरिसक्नुभएको थियो । त्यसमध्ये ८४ वर्ष नाघेका वृद्धवृद्धालाई वार्षिक रुपमा रु १२ हजार महानगर वृद्धभत्ता र सामाजिक सुरक्षा भत्तालाई क्रमिक रुपमा बढाएर मासिक रु पाँच हजारसम्म पुरयाउनेलगायत छन् ।

नेपाली र नेपाल भाषालाई महानगरको कामकाजको भाषाका रुपमा प्रचलनमा ल्याइने, नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्लाई पनि प्रचलनमा ल्याइने, संस्कृति र सम्पदासम्बन्धी प्रतिबद्धतामा वसन्तपुर दरबार क्षेत्र र त्यसको वरिपरिको भित्री सहरी क्षेत्रलाई समेटेर सांस्कृतिक पर्यटकीय सहरको विकास गरिने आदि उहाँका प्राथमिकताका क्षेत्र हुनेछन् ।

उहाँले निर्वाचनमा भाग लिएका नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, विवेकशील पार्टी, साझा पार्टीलगायतसँग सहकार्य गरेर अघि बढ्ने पनि राससलाई बताउनुभयो । शाक्यको विजय जुलुस यही जेठ १६ गते हुने र सोही दिन शपथ ग्रहण गर्ने तयारी छ ।

तपाईंहरुको विश्वास भरोसालाई मर्न दिने छैन-शाक्य

काठमाडौँ महानगरपालिका प्रमुखमा नवनिर्वाचित शाक्यले आफूले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताउनुभएको छ ।

कामपा प्रमुखमा निर्वाचित भएपछि आज विज्ञप्ति जारी गरी उहाँले आफूप्रति आशा, विश्वास र भरोसाका साथ दिइएको गहन जिम्मेवारी पूरा गर्न दिनरात नभनी खट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफूलाई मतदान गर्ने मतदाता र समर्थन गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै सो पदमा योग्य ठान्ने आफ्नो पार्टी नेकपा (एमाले), पार्टी कार्यकर्ता, शुभचिन्तक एवम् सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा पनि कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

विज्ञप्तिमा निर्वाचनका क्रममा प्रत्यक्ष वा परोक्ष रुपमा अहोरात्र खट्ने पार्टी नेतृत्व, विभिन्न जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता, महानगरवासी, उद्योगी–व्यवसायी, सञ्चारकर्मीलगायतलाई स्मरण गरिएको छ ।

उहाँले निर्वाचनका क्रममा मात्र होइन मतगणनास्थलमा समेत अहोरात्र खटेर सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारी सबैले आआफ्नो ठाउँबाट गर्नुभएको योगदानप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री