मतदान केन्द्रमा आठ हजार पर्यवेक्षक

काठमाडौँको बसन्तपुरस्थित मतदान केन्द्रमा आइतबार हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, ३० वैशाख । लामो समयको अन्तरालमा हुन लागेको स्थानीय तहको निर्वाचनका विषयमा अनुगमनका लागि ३४ जिल्लाका मतदान केन्द्रमा पर्यवेक्षकहरु पुगिसकेका छन् ।

विज्ञापनमार्फत छानिएका ४९ सङ्घसंस्थाका आठ हजार १४९ पर्यवेक्षक उपत्यकासहितका ३४ जिल्लामा भोलि हुने पहिलो चरणको निर्वाचन पर्यवेक्षणका लागि सम्बन्धित स्थानमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगले दुई चरणको निर्वाचनमा करिब ४९ हजार ९४७ पर्यवेक्षकले पर्यवेक्षण गर्ने जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आयोगले एउटा संस्थाबाट खटिने पर्यवेक्षकहरू एउटा जिल्लामा भन्दा पनि सबै प्रदेशका हिमाल, पहाड र तराईका करिब सय मतदान केन्द्रमा पुग्नुपर्ने निर्देशन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘‘पर्यवेक्षकले कसरी आफ्नो काम गर्ने भन्ने सीमा तोकेका छौँ । यदि कुनै संस्थाका पर्यवेक्षकले कुनै पार्टीको प्रचार गरेको वा कुनै उम्मेदवारलाई भोट हाल्न मतदातालाई प्रलोभनमा पारेको पाइएमा उनीहरुलाई कारबाही गरिनेछ, जो कसैले पर्यवेक्षक आचारसंहिता विपरीत काम गरेको थाहा पाए आयोगमा जानकारी गराउन अनुरोध छ ।’’

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन पर्यवेक्षणका लागि १२ बुँदे काम कर्तव्य बनाएको छ ।

आचारसंहितामा मतदानसँग सरोकार राख्ने सम्बद्ध पक्षसँग निर्वाचनसम्बन्धी विषयमा स्वतन्त्रतापूर्वक संवाद गर्ने, पर्यवेक्षण आचारसंहिताअन्तर्गत रही निर्वाचनसम्बन्धी विषयमा स्पष्ट हुने, आयोग वा मातहतका अधिकारीहरूबाट जारी गरिएको अधिकार क्षेत्रसम्बन्धी जानकारी लिने, निर्वाचन प्रचार अभियान, मतदाताको निर्वाध आवतजावत, संवेदनशील निर्वाचन सामग्रीहरू मतपेटिका, मतपत्र आदिको ओसारपसार, मतदान प्रक्रिया, मतगणना, निर्वाचन परिणाम र सञ्चारमाध्यममा पहुँच आदि कुराको पर्यवेक्षण गर्ने, निर्वाचनसम्बन्धी प्रक्रियाको विभिन्न चरणमा तोकिएअनुसार राजनीतिक दलहरूको सहभागिता रहे-नरहेको विषयमा जानकारी लिनुपर्ने कुरा उल्लेख गरिएको छ ।

पर्यवेक्षक संस्थाले मतदान कार्य पूरा भएको १५ दिनभित्र प्रारम्भिक प्रतिवेदन र ३० दिनभित्र अन्तिम प्रतिवेदन अनिवार्य रुपमा आयोगमा बुझाउनु पर्नेछ ।

आयोगले बनाएको आचारसंहितामा भनिएको छ–‘‘पर्यवेक्षकले निर्वाचन सम्बन्धमा परेको कुनै पनि उजुरी वा गुनासोबारे जानकारी लिने मतदान केन्द्रभित्र प्रवेश गर्दा मतदान अधिकृतको अनुमति लिएरमात्र प्रवेश गर्ने, यसरी प्रवेश गर्दा मतदान केन्द्रको गोप्य कक्षमा प्रवेश नगर्ने, मतगणना स्थलमा निर्वाचन अधिकृतको अनुमति लिएरमात्र प्रवेश गर्ने, निर्वाचन परिणाम घोषणा गर्दा अपनाइने प्रक्रियासम्बन्धी जानकारी लिने पर्यवेक्षणका क्रममा आफूले प्राप्त गरेको अनुभव आदानप्रदान गनुपर्छ ।’’

युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले आफ्नो संस्थाबाट १५० जना पर्यवेक्षक पहिलो चरणमा निर्वाचन हुने सबै निर्वाचन केन्द्रमा पुगिसकेको बताउनुभयो ।

उहाँले निर्वाचन केन्द्रमा जानुभन्दा अघि पर्यवेक्षकलाई निर्वाचन आचारसंहिता, पर्यवेक्षक आचारसंहिता र समग्र निर्वाचन प्रणालीबारे तीनदिने कार्यक्रम गरी प्रशिक्षित गरिएको जानकारी दिनुभयो ।

निर्वाचन पर्यवेक्षणका क्रममा कुनै किसिमको विसङ्गति, अनियमितता, धाँधली, डर त्रास देखाई कुनै मतदान केन्द्र वा मतदान केन्द्रको वरिपरि मतदातालाई स्वतन्त्रतापूर्वक मतदानबाट वञ्चित गर्ने कार्य आदि भएको देखेमा सोसम्बन्धी जानकारी तुरुन्त निर्वाचन आयोग-निर्वाचन अधिकृत-मतदान अधिकृत-क्षेत्रीय वा जिल्ला निर्वाचन कार्यालयलाई गराउनुपर्ने पनि पर्यवेक्षकको आचारसंहितामा उल्लेख छ ।

सरकारले विज्ञापनमार्फत पर्यवेक्षण गर्न चाहने स्वदेशी संस्थालाई दरखास्तका लागि आह्वान गरेको थियो । निर्वाचन पर्यवेक्षक समिति नेपालका अध्यक्ष प्रदीप पोखरेलले आफ्नो समितिबाट निर्वाचन हुने १८ जिल्लाका लागि १३२ जना पर्यवेक्षक खटाइसकेको राससलाई जानकारी दिनुभयो ।

पर्यवेक्षकले निर्वाचन हुँदाको अवस्था निष्पक्ष, धाँधलीरहित भए-नभएकोबारे अनुगमन गर्ने, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिलालगायतका मतदाताले सहज ढङ्गबाट मतदान गर्न पाए-नपाएको अनुगमन गर्ने उहाँको भनाइ छ ।

शान्तिका लागि साझा अभियान कोक्यापका अध्यक्ष रेम विश्वकर्माले आफ्ना संस्थाका करिब सयजना पर्यवेक्षक मतदान हुने केन्द्रसम्म भोलि ७ बजेभित्र पुगिसक्ने जानकारी दिनुभयो ।

यस्ता छन् पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण

निर्वाचन आयोगले आचारसंहितामा पर्यवेक्षकले मतदान केन्द्रलगायतका निर्वाचन प्रक्रियामा संलग्न सबै निकायमा जाँदा पर्यवेक्षकले शिष्टाचारको पालना गर्नुपर्नेमा जोड दिएको छ ।

त्यसैगरी पर्यवेक्षकले आफूलाई अनुमति प्राप्त क्षेत्रको मात्र पर्यवेक्षण गर्नुपर्ने, निर्वाचन आयोगको सम्मान र प्रतिष्ठामा आँच आउने कुनै कार्य गर्न नहुने, स्वतन्त्र, निष्पक्ष, तटस्थ एवम् वस्तुनिष्ठ ढङ्गले निर्वाचन पर्यवेक्षण गर्नुपर्ने र कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव वा पूर्वाग्रह राख्न नहुने आयोगले जनाएको छ ।

‘निर्वाचनका सरोकारवालालाई आक्षेप लगाउने किसिमको व्यवहार गर्न-गराउन नहुने, कुनै राजनीतिक दल वा उम्मेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकहरूले चिह्न, ब्याच लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचारप्रसार वा प्रदर्शन गर्न गराउन नहुने, निर्वाचन कार्यमा खटिएका कर्मचारीलाई सल्लाह दिन, सूचना प्रदान गर्न र कानुनको व्याख्या गर्न नहुने’ पर्यवेक्षकले पालना गर्नुपर्ने आचरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री