माओवादी केन्द्र– एमाले झडपमा एकको मृत्यु

दोलखा, २७ वैशाखा । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् ।

गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् ।

यसैगरी, झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । घाइते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाडौँ लगिएको छ । घाइते बुढाथोकी स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् ।

दोहोरो झडपमा परी नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षका उम्मेदवार भरत खड्कालगायत कार्यकर्ता घाइते भएका छन् । चुनाव प्रचारका क्रममा गाउँ पुगेका उम्मेदवार खड्का र पूर्वराज्यमन्त्री एवम् माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य देवी खड्कालगायतको टोलीलाई ढुङ्गामुढासहित आक्रमण गरिएपछि दोहोरो झडप भएको थियो । घटना गएराति करिब साढे ९ बजे भएको हो ।

जुँगुमा केही दिनयता ‘टाइगर गुरुप’को नामबाट स्थानीय मतदाता तथा अन्य राजनीतिक दलका कार्यकर्तालाई धम्की दिने, चुनावी प्रचारको अभियानमा अवरोध गर्ने लगायतका गतिविधि बढेपछि सो समूहसँग आबद्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई समेत उजुरी परेको थियो ।

त्यस विषयमा प्रहरीले आवश्यक कारबाही गर्नुअगावै माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच ज्यानै जाने गरी झडप भएको हो । मृतक तामाङ टाइगर गुरुपसँग आबद्ध भएको बताइएको छ । यद्यपि नेकपा (एमाले) दोलखाका नेताहरुले भने माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरी ज्यान लिएको बताएको छ । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ भने व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।

एमालेद्वारा दोलखा घटनाको निन्दा

काठमाडौँ, २७ वैशाख । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका सिलसिलामा दोलखाको गौरीशङ्कर गाउँपालिका– २ मा नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकामा निन्दा गरेको छ ।

गौरीशङ्कर– १ मा पार्टीका तर्फबाट वडा सदस्यका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरसहितले जुगुस्थित नीलकण्ठेश्वर मावि नजिकै होटलमा खाना खाइरहेको बेला माओवादी कोन्द्रका कार्यकर्ताको आक्रमणका कारण निधन भएको आरोप लगाउँदै सो दलले आज एक विज्ञप्ति जारी गर्दै सो घटनाको निन्दा गरेको हो ।

पार्टीका पूर्व गाउँ कमिटी सचिव दिलबहादुर बुढाथोकीलाई घरमै पुगेर आक्रमण गर्दा उहाँ गम्भीर घाइते हुनुभएको आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।

एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गर्नुभएको सो विज्ञप्तिमा ती घटनामा संलग्न सबैलाई तुरुन्त गिरफ्तार गरी कारबाही चलाउन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री