नेपालमा हुन लागेको निर्वाचनप्रति भारत खुसी

 

काठमाडौँ, २२ वैशाख । नेपालमा आगामी हप्ता हुन लागेको स्थानीय तहको निर्वाचनप्रति भारतले खुसी व्यक्त गरेको छ ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग आज नयाँ दिल्लीमा भएको द्विपक्षीय औपचारिक भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा हुन लागेको निर्वाचनप्रति खुसी व्यक्त गर्नुभएको हो । उहाँले मन्त्री डा महतसँग एउटा ठूलो लोकतन्त्रका हैसियतले आफ्नो छिमेकी मुलुक नेपालमा स्थानीय तहको निर्वाचनमार्फत हुन लागेको महत्वपूर्ण प्रजातान्त्रिक अभ्यासले भारतलाई अत्यन्त खुसी लागेको बताउनुभयो ।

उहाँले नेपालको निर्वाचनको पूर्ण सफलताको कामना गर्दै निर्वाचनका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । विदेशमन्त्री स्वराजले पछिल्लो समयमा दुई देशबीच उच्चस्तरीय भ्रमण तथा भेटघाट भएका र यसबाट आपसी सम्बन्ध सुदृढीकरणमा थप सघाउ पुगेको धारणा राख्नुभएको थियो ।

सो अवसरमा मन्त्री डा महतले नेपालको निर्वाचनका लागि भारतले पुरयाएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । भेटका क्रममा नेपाल–भारत सम्बन्ध र द्विपक्षीय हितका विविध विषय र नेपालका राष्ट्रपतिको हालै सम्पन्न भारत भ्रमणका बारेमा पनि कुराकानी भएको थियो । सो क्रममा द्विपक्षीय सहयोगका आयोजनाका बारेमा समीक्षा गर्दै समयमै सम्पन्नताका लागि उहाँहरुले जोड दिनुभयो ।

सो भेटमा मन्त्री डा महतले यसअघि नेपाल र भारतका मन्त्रिस्तरीय बैठकमा भएका सहमतिको कार्यान्वयन गर्न र संयुक्त संयन्त्रको कार्यलाई थप प्रभावकारी रुपमा अघि बढाई आपसी हित प्रवद्र्धनका क्षेत्रमा काम गर्न सक्नेगरी उपयोग गर्न आग्रह गर्नुभयो ।

डा महत भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतको सम्मेलनको उद्घाटनका लागि आज बिहान नयाँ दिल्ली पुग्नुभएको हो । आजै साँझदेखि सुरु हुने उक्त सम्मेलनमा नयाँ दिल्लीस्थित नेपाल हेर्ने ७० भन्दा बढी देशका राजदूतको सहभागिता रहनेछ ।

नेपालले पहिलो पटक गर्न लागेको सो सम्मेलनमा नेपालको आर्थिक कूटनीतिअन्तर्गत आर्थिक विकास, परराष्ट्र सम्बन्ध, व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटनलगायत विषयमा परराष्ट्र सचिव शङ्करदास वैरागीसहित यस क्षेत्रका नेपाल र भारतका विज्ञको प्रस्तुति रहनेछ । मन्त्री डा महत शनिबार स्वदेश फर्कने कार्यक्रम रहने परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री