आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिप – नेपाललाई १५६ रनको लक्ष्य

आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसीपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार दर्शकहरु खेलको मज्जा लिँदै । तस्बिरः रोशन सापकोटा, रासस

काठमाडौँ, ३० फागुन । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपाल र केन्याबीचको दोस्रो खेलमा नेपालले एक सय ५६ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको केन्याले ४६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ५५ रन बनायो । केन्यालाई सामान्य स्कोरमा समेट्ने क्रममा नेपालका शरद भेष्वाकरले महत्वपूर्ण चार विकेट लिए । उनले सात दशमलव एक ओभर बलिङ गर्दै २८ रन खर्चे ।

यस्तै मेहेबुब आलम र वसन्त रेग्मीले दुई-दुई विकेट लिए । आलमले आज निकै कसिलो बलिङ गरे । उनले सात ओभर बलिङ गर्दै पाँच मेडन राखेर ११ रनमात्र खर्चेर दुई विकेट लिए । यस्तै सोमपाल कामीले पाँच ओभर बलिङ गर्दै एक मेडन राखी २४ रन खर्चे । यस्तै सागर पुन र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।

केन्याका लागि कोलिन्स ओबुयाले ७८ बल खेल्दै सात चौकाको मद्दतमा सर्वाधिक ४८ रन बनाए । यस्तै इरफान करिमले ३८ रन बनाए । उनले ७७ बल खेल्ने क्रममा तीन चौका प्रहार गरे । केन्याका आरआर पटेलले २१, एनएन ओढियम्बोले १५ तथा करन कौलले १४ बनाए ।

शनिबार पहिलो खेलमा नेपालले टस हारेको थियो र प्रारम्भमा ब्याटिङ गर्न पुगेको थियो । उक्त खेल पटक पटक वर्षाका कारण अवरुद्ध भएको थियो । आज मौसमले साथ दिएको छ । विश्वकप क्रिकेटको छनोटमा पर्ने सम्भावनालाई जीवितै राख्न नेपालले आजको खेल जित्नैपर्ने बाध्यता छ । नौ खेलको समाप्तिसँगै नेपाल ६ अङ्कका साथ छैटाँै स्थानमा छ भने समान खेलबाट केन्याको १० अङ्कका साथ पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री