टेरियालाई शान्ति दूत बनाउने मन्त्रीको आश्वासन

रक्षामन्त्री बालकृष्ण खाँण टेरिया मगर फाउण्डेसनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा टेरिया फैजा मगरलाई सम्मान गर्दै । तस्बिर ः कृष्णराज गौतम, रासस

काठमाडौँ, २२ माघ । रक्षामन्त्री बालकृष्ण खाँणले टेरिया मगरलाई शान्ति दूत बनाउनका लागि मन्त्रिपरिषद्मा छलफल चलाउने बताउनुभएको छ ।

तेरिया मगर फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा आज उहाँलाई सम्मान गर्दै मन्त्री खाँणले मगरले अन्तर्राष्ट्रियरुपमा नेपालको प्रतिष्ठा बढाउन सहयोग गरेकाले सो प्रस्ताव मन्त्रिपरिषद्बाट सजिलै पारित हुने बताउनुभयो ।

मन्त्री खाँणले मगरले प्राप्त गरेको सफलताले अहिले उहाँ सबै नेपालीको मनमा बसेको सदाचार व्यक्त गर्दै मगरलाई राष्ट्रले चाँडो सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सांसद् आदित्यनारायण कसोधनले रुपन्देहीको सामान्य परिवारमा जन्मेकी मगरले अन्तर्राष्ट्रिय तहको प्रतिस्पर्धामा आफूलाई स्थापित गरी देशको गौरब बढाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा उहाँको सफलताको कामना गर्नुभयो ।

सम्मानित मगरले नेपाल र नेपालीको नामलाई संसारमा चिनाउन आफूले सक्दो प्रयत्न गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले मगरभित्रको प्रतिभालाई अझै प्रस्फुटित गराउन सञ्चार क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल मगर सङ्घका अध्यक्ष नवीन रोक्कामगरले सरकारले टेरियाको कार्यलाई मूल्याङ्कन गरी सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

फाउण्डेसनका अध्यक्ष कृष्ण फौजा मगरले तेरियाको नामबाट स्थापना गरिएको सो संस्थाले विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्ने जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री