तमु समाज यूकेद्वारा स्वर्गीय थममायाको परिवारलाई १० लाख सहयोग

15844060_10202512495971004_6457990422421897639_o

लन्डन । तमु समाज यूकेले बेलायतमा क्यान्सरबाट दिवंगत थममाया गुरुङ 
(कुसुम) को परिवारलाई १० लाख ६ हजार १४० रुपैयां हस्तान्तरण गरेको छ । गत मंगलबार बुटवल नगरपालिका १३, देवीनगर, नरजय पथस्थित स्वर्गीय गुरुङकी बहिनीको घरमा आयोजित कार्यक्रममा आमा फूलमाया गुरुङ र छोरी सोकिन गुरुङ (निशा) लाई तमु समाज यूकेका नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङ, उनकी धर्मपत्नी हुमकुमारी गुरुङ र तमु समाज यूकेका आजीवन सदस्य विसन गुरुङले उक्त रकम हस्तान्तरण गरे ।

सहयोग रकम ग्रहण गर्दै स्वर्गीय गुरुङकी आमा फूलमाया गुरुङले दाताहरुप्रति आभार व्यक्त गरेकी छन् । उनले जेठी छोरीको अल्पायुमै भएको निधनले आफू स्तव्ध भएको बताउंदै प्राप्त सहयोग रकम नाति नातिनीको शिक्षामा खर्चने जनाइन् । स्वर्गीय गुरुङका २० वर्षीय छोरा सन्दिप गुरुङ बीबीएस दोश्रो वर्ष र छोरी सोकिन गुरुङ (निशा) ११ कक्षामा अध्ययनरत छन् ।

नवलपरासी जिल्ला, रामनगर २ बबरेरा घर भई पांचवर्ष अघि यूके आएकी ४० वर्षीया थम माया गुरुङ (कुसुम) लाई क्यान्सर लागेपछि उपचारकै क्रममा कात्तिक २८ गते मृत्यु भएको थियो । स्वर्गीय थममायाको शव नेपाल पठाएर गुरुङ जातिय संस्कार अनुसार अन्त्येष्टि भइसकेको छ । उनको शव बेलायतबाट नेपाल पठाउन सम्पूर्ण ब्यवस्थापन तथा प्रक्रियाको संयोजन पेल्काचौर समाज यूकेका होम बहादुर गुरुङले गरेका थिए ।

स्वर्गीय गुरुङको शव नेपाल पठाउन पहलका साथै आवश्यक खर्च ४ लाख ५० हजार सहयोग प्रदान गरेर तमु समाज यूकेले मानवीय सेवा गरेको तमु समाज यूकेका नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले बताए । उक्त रकम सहित स्वर्गीय गुरुङको उक्त घट्नामा तमु समाज युकेले कुल १४ लाख ५६ हजार १४० रुपैयां सहयोग गरेको छ ।

तमु समाज यूकेलाई आर्थिक सहयोग संकलनका लागि साउथ इष्ट रिजनल तमु धिं यूकेका अध्यक्ष श्री चन्द्र गुरुङ, सल्लाहकार हरि गुरुङ, तनहुं जिल्ला समाज यूकेका अध्यक्ष लेख बहादुर गुरुङ, पेल्काचौर समाज यूकेका सदस्य होम बहादुर गुरुङ, देवाचन वुद्धिष्ट सेन्टरका संरक्षक तथा प्रमुख लामा धरम गुरुङ, लन्डन इलिङ हस्पिटलमा कार्यरत नर्स सुनिता पाण्डे, त्यसै गरि श्याम गुरुङ, रमिला गुरुङ र अनिता शर्माले विशेष सहयोग गरेको तमु समाज यूकेका संस्थापक अध्यक्ष तथा थम माया (कुसुम) गुरुङ आर्थिक सहयोग संकलन संयोजक चित्रबहादुर गुरुङले जानकारी दिए । सहयोगका लागि तमु समाज यूकेका अध्यक्ष अर्जुन गुरुङसहितले विशेष पहल गरेको आजीवन सदस्य विसन गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री