लन्डन उत्रिएबाटै डा. भट्टराईको व्यस्तता

dr-bhattarai

लन्डन । नयां शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आर्थिक विकास र समृद्धिको सपनाले मात्र देश बन्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको निम्तोमा लन्डन उत्रिएकै दिन शुक्रबार यहांस्थित पत्रकारहरुसंग बोल्दै भट्टराईले नेपालमा राजनीतिक 
परिवर्तनको श्रृंखला सकिएपछि अब विकास र समृद्धिको पालो आएको बताए ।

‘निरंकुशता र सामन्तवादको अन्त्य भइसकेपछि लोकतन्त्रको जगमा आर्थिक विकास र समृद्धिका लागि बढौं भनेर हामी लागिपरेका छौं’, भट्टराईले भने,
‘राजनीतिक परिवर्तनको जगमा आर्थिक विकास सम्भव छ र विकास र समृद्धिको अभियान बढाउन नै नयां शक्ति पार्टी खोलिएको हो ।’

राजनीतिले दिशाबोध नगरेसम्म देशमा विकास र समृद्धि नहुने धारणा उनको थियो । उनले नयां शक्तिले जेठ ३० मा पार्टी घोषणापछि मार्गचित्र तयार गरिसकेको र त्यसमा ७ वर्षभित्र देशलाई गरिवीबाट मुक्त पार्ने, १५ वर्षभित्र मध्यमस्तर र २५ वर्षमा समृद्धिको शिखरमा देशलाई पुरयाउने रहेको जनाए ।

सत्तामा पुगेर सरकारको नेतृत्व गरेमात्र आर्थिक विकासका योजना लागू गर्न सकिने जनाउंदै उनले आफ्नो पार्टीको लक्ष्य लोकतान्त्रिक तरिकाले निर्वाचनमा अग्रता हासिल गरेर विकास योजना कार्यान्वयन गर्ने नै रहेको बताए । केही वर्षपछि नयां शक्ति पार्टी देशको प्रमुख शक्तिको रुपमा उदाउने दावी समेत उनको थियो ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सय दिन पुरा गरेपनि दाहालसंग देखाउने उपलब्धिमुलक चीज केही नभएको दावी गरे । 
‘प्रधानमन्त्रीजी आफ्नै मन्त्रीलाई दोष दिएर केही गर्न पाइएन भन्नुहुन्छ । क्याबिनेट प्रणालीमा प्रधानमन्त्री नै प्रमुख हो’, उनले भने ।

भट्टराईले अंगीकृत नागरिकलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिन नहुने आफ्नो धारणा बताउंदै अमेरिकालगायत विश्वका कुनै पनि देशमा अंगीकृत नागरिकलाई देशको प्रमुख कार्यकारी नबनाइएको स्पष्ट पारे ।

अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका मिडिया संयोजक बीरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य दिएको उक्त पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा कृषिवीद मदन राईले पनि नयां पार्टीको भिजनबारे बोलेका थिए । कर्मा पहाडी शेर्पाले सञ्चालन गरेको सो कार्यक्रम समाजका संयोजक भोला खनालले धन्यवाद दिंदै समापन गरेका थिए ।

लन्डन आएकै दिन बेलायतस्थित विभिन्न राजनीतिक पार्टीका प्रवास संगठन प्रतिनिधिहरुमाझ दूतावासमा अन्तरक्रिया गरेका भट्टराई शनिबार सांझ गोर्खाली समाज यूकेले अल्डरसटमा गर्न लागेको च्यारिटी कार्यक्रममा प्रमुख अतिथी बन्ने छन् ।

भट्टराईले बेलायत रहंदा लन्डन स्कुल अफ इकोनोमिक्स, अक्सफोर्ड युनिभर्सिटी र अल्डरसटस्थित एम्पायर हलमा नेपालको आर्थिक विकास र समृद्धि विषयमा प्रवचन दिने कार्यक्रम छ । उनले जनजाती 
महासंघ यूकेको कार्यक्रममा प्रवचन र बेलायती राजनीतिज्ञहरुसंग समेत भेट्ने तय भएको समाजले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री