छिमेकीसँगको सुमधुर सम्बन्ध भारतको प्राथमिकता – राष्ट्रपति मुखर्जी

राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको राजकीय भोजमा आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै नेपालको तीन दिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी । तस्बिर ः रत्न श्रेष्ठ, रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको राजकीय भोजमा आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै नेपालको तीन दिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ, १७ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारत आफ्ना छिमेकीलाई विशेष प्राथमिकता राखेर सँगसँगै अगाडि बढ्न चाहेको बताउनुभएको छ ।

नेपालको तीन दिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति मुखर्जीले राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुकी आफ्नो सम्मानमा आयोजना गर्नुभएको रात्रिभोज समारोहमा भन्नुभयो, “हरेक क्षेत्रमा भारत दुबै मुलुकको हित र प्रगतिका लागि सँगै अघि बढ्न चाहन्छ ।”

नेपाल–भारतको सम्बन्ध युगौँदेखिको पुरानो र प्राचीन सभ्यतासँग गाँसिएको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले सांस्कृतिक एवम् जनस्तर कायम सम्बन्धले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाएको विचार व्यक्त गर्नुभयो ।

शान्ति, स्थायित्व र समृद्धिको बाटोमा नेपाल सधैँ अघि बढेको हेर्ने भारतको चाहना रहेको र त्यस कार्यमा भारतको सहयोगी भूमिका रहने उहाँको प्रतिबद्धता थियो ।

प्राकृतिक विपद्पछिको नेपाली जनताको सहनशीलता अत्यन्त सरहानीय भएको बताउँदै राष्ट्रपति मुखर्जीले नेपालको पुनःनिर्माण अभियानमा भारत सहयोग गर्न तत्पर रहेको विश्वास दिलाउनुभयो ।

शान्ति र सुरक्षा २१औँ शताब्दीको साझा चुनौती भएकाले आतङ्कवादका सबै प्रकारका प्रकट रुप उन्मूलन गर्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा उहाँको जोड थियो । राष्ट्रपति मुखर्जीले भन्नुभयो, “यसका लागि सबैको सामूहिक प्रयत्नको आवश्यकता छ ।”

हालै भारतको गोवामा सम्पन्न ब्रिक्स र बिम्स्टेक सम्मेलनमा क्षेत्रीय र उपक्षेत्रीय तहमा आफ्ना तर्फबाट उक्त विषयलाई प्रधानताका साथ अघि बढाएको पनि उहाँले स्मरण गराउनुभयो ।

भारतले आफ्ना छिमेकी मुलुकसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले भन्नुभयो – “भारत नेपाललाई विशेष प्राथमिकतामा राखेर दुई पक्षीय सम्बन्धलाई थप उचाइमा पुरयाउन चाहन्छ ।”

नेपालको न्यानो आतिथ्यताप्रति धन्यवाद व्यक्त गर्दै उहाँले नेपालका राष्ट्रपति भण्डारीलाई भारत भ्रमणको निमन्त्रणा पनि दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री