कमल थापाको यूके भ्रमण टेनिस देखि तिहार र अन्तरक्रियासम्म

kamal-thapa-uk

तस्विरः बीरेन्द्र श्रेष्ठ

लन्डन । नितान्त अनौपचारिक र निजी भ्रमणका सिलसिलामा यतिखेर लन्डनमा छन् पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री एवं राप्रपा नेपाल अध्यक्ष सांसद कमल थापा । यसपटकको तिहार छोरी र उनको परिवारका साथ बिताउने उद्देश्यसहित लन्डन रहेका थापाले यता आएको मौका छोपी बोल्टनमा भएको नर्थ वेष्ट इन्डोर सिनियर टेनिस प्रतियोगितामा भाग समेत लिए । फाइनलसम्म पुगेर पराजित भएपनि दोश्रो स्थान ओगट्दा गौरवको अनुभव भएको उनले सुनाए ।

शनिबार प्रवासी नेपाली एकता समाज बेलायतले अल्डरसटस्थित एम्पायर हलमा गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख आतिथ्य गर्न पुगेका थापा कार्यकर्ता र शुभचिन्तकसंग आफैं सेल्फी लिन तल्लीन देखिन्थे । आयोजक र अधिकांश सहभागी नेपाली राष्ट्रिय पोशाकमा आएका तर आफू अनौपचारिक ढंगबाट प्रस्तुत हुनु परेकामा उनले क्षमा पनि मागे ।

कार्यक्रममा सहभागी हुंदा बेलायतमा छु भन्ने पुरै बिर्सिएको बताउंदै उनले भने, ‘यहां सहभागी सबै नेपाली, कार्यक्रमको व्यवस्थापन नेपाली ढंगले नै भएको रहेछ । नेपालमा दिनभर भाषण गर्न अनि सुन्न रुचाउंछौं हामी । अहिले झण्डै अढाइ घण्टा भएछ हामी निरन्तर भाषण गरिरहेका छौं र सुनिरहेका छौं, नेपाली वातावरण नै महशुस भएको छ ।’

कार्यक्रम सम्वोधनका क्रममा थापाले देश संकटै संकटको भुमरीमा फंसेको बताए । देशमा आमुल, क्रान्तिकारी परिवर्तनको सपना बोकेर धेरै लामो समय खेर फालिएको यथार्थ सुनाउंदै उनले परिवर्तनको नाममा अत्यन्त गरिव मुलुक नेपालले अरबौं रुपैंया खेर फाल्नुपरेको उल्लेख गरे । ‘देशमा अन्यौल, अराजकता र अनिश्चितता छ’, उनले बोले, ‘अब हामी राजनीतिक वादविवादमा अल्झिने होइन, आर्थिक विकास र कानुनी राज्यको सिद्धान्तप्रति सबैको प्रतिवद्धता अनिवार्य सर्त भए दश वर्षमा नेपाल कायापलट हुन सक्छ ।’

नेपाली राजनीतिमा केही दलको ‘सिन्डिकेट’ हावी रहेको र उनीहरु थाहै नपाइ संविधान र कानुन फेरिदिन समेत तयार हुने गरेको असन्तुष्टि उनले पोखे ।

नयां संविधान आफैंमा पूर्ण नरहेको र संविधानको विपक्षमा भोट हाल्ने पहिलो र एउटै मात्र पार्टी राप्रपा नेपाल रहेको स्मरण गर्दै थापाले भने, ‘तर संविधान गतिशील र परिवर्तनशील दस्तावेज भएकाले जनचाहना अनुसार परिवर्तन 
गर्र्दै लान सकिन्छ भनेर हामीले आलोचनासहित समर्थन गर्यौं ।’

14925747_1065298690234221_5886701428133038471_n

नेपालको संविधानले विश्वव्यापी प्रजातान्त्रिक मुल्य मान्यतालाई आत्मसात गरेको उल्लेख गर्दै उनले यो विश्वका कयौं संविधान भन्दा अग्रगामी र समावेशी अनि समानुपातिकका हिसावले अग्रगामी र गतिशील रहेको दावी गरे ।
‘नेपालमा चारवटा उच्च पद मध्ये राष्ट्रप्रमुख, संसद प्रमुख र न्यायलय प्रमुख महिला छन्, यो भन्दा अरु के चाहिन्छ ?’ उनको प्रतिप्रश्न थियो ।

०४७ मा वहुदलीय प्रजातन्त्र आएपछि २६ वर्ष यता २४ वटा सरकार बनेका र 
गणतन्त्रपछि ९ वर्षमा ९ वटा सरकार परिवर्तनले राजनीतिक अस्थिरता झन् बढेको प्रष्टयाउंदै उनले यसबाट स्वदेशी, विदेशी लगानी भित्रिन रोकिएको र करिब ४० लाख युवा विदेशमा बस्न वाध्य भएको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई पुरानै पद र पुरानै जिम्मेवारीमा सरकारमा सहभागी हुन आग्रह गरेपनि आफ्ना मान्यता, सिद्धान्त र अडानले दाहाल सरकारमा सहभागी नभएको खुलासा पनि थापाले गरे ।

भूपू गोर्खाहरुले देशको इज्जत र प्रतिष्ठा जोगाएको प्रसंग उठाउंदै थापाले भूपू गोर्खाहरुले भोग्नुपरेको कठिनाइ आफूलाई राम्ररी ज्ञान भएको र यसलाई नेपाल सरकारले राष्ट्रिय र महत्वपूर्ण एजेन्डाका रुपमा लिइ समाधान गर्नुपर्ने उनको धारणा थियो । एक दिन अगाडिमात्र बेलायती पूर्वमन्त्री 
ह्युगो स्वारसंग भेट भएको र भेटमा उनले ब्रिटिस सरकारले गोर्खाबारे नसोची सुखै छैन् भनेको पनि थापाले अवगत गराएका थिए ।

14884646_1718044408516272_2748567045799505501_o

समाजका अध्यक्ष रोशन सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले कुटनीतिक माध्यमबाट नेपालको आर्थिक, 
सामाजिक विकास र नेपालीको शीर उंचो राख्न प्रयत्नशील भइरहने बताए । सुवेदीले बेलायत र नेपालबीचको सुमधुर सम्वन्ध जनस्तरमा पनि 
पुर्याउने आफ्नो कर्तव्य रहेको पनि धारणा राखे ।

मन्तव्यका क्रममा लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले नेपाल संकीर्ण सोचाइ र संकीर्ण राष्टवादमा फंसेको बताए । 
संविधान जस्तो मुल कानुनमा धेरै भाषागत क्रुटी रहेका र यसलाई अझ परिष्कृत गर्न सकिन्थ्यो भन्दै सुवेदीले नेपाललाई आर्थिक विकास चाहिएकामा नयां संविधानले त्यो देला भन्ने शंकै रहेको टिप्पणी गरे । अन्तरवस्तुमा छलफल नै नगरि संघीयताको नाम र संख्यामा दलहरु अल्मलिएका जनाउंदै उनले राजनीतिक अस्थिरता अबको प्रमुख आवश्यकता रहेको बताए ।

राजनीतिक सुझबुझ भएका भन्दा भूपू गोर्खा वृद्धवृद्धा उल्लेख्य रहेको उक्त कार्यक्रममा पूर्व भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीका परराष्ट्र 
सल्लाहकार डा. गौतम सेनले नेपाल प्राकृतिक रुपमै अति सुन्दर देश रहेको र आफू पटक पटक पुगेको स्मरण गरे । उनले नेपाल जातीय, क्षेत्रीय वा वर्गीय विभाजन होइन, स्वतन्त्र हिन्दू राष्ट्र हुनुपर्नेमा पनि जोड दिए ।

बीरगन्जका पूर्व मेयर एवं तराइ मधेश लोकतान्त्रिक पार्टीका प्रवक्ता विमल श्रीवास्तवले नयां संविधानमा मधेशी, महिला, दलित, उत्पीडित, जनजाती 
आदिका अधिकार वञ्चित गरिएको दावी गर्दै समझदारीमा जारी हुनुको सट्टा कसैको दवावमा अपुरो संविधान ल्याइएको आरोप लगाए ।

नन्दकुमारी गुरुङले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडा, नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुरेन्द्र श्रेष्ठ, नेपाली संघीय समाज यूके अध्यक्ष कमल गुरुङ, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य, प्रवासी एकता समाज युरोप अध्यक्ष सुरेशमान अमात्य, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका 
अभियान निर्देशक ज्ञानराज राई लगायतले पनि बोलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री