लण्डन । शशी थापा सुब्बाले करिब २५ वर्षअघि लिम्बु भाषाको चलचित्र तरेबामा अभिनय गरेकी थिइन् । त्यतिखेर धरानमा बसोबास गर्ने उनी केही वर्षयता युकेमा छिन् । सो चलचित्रमा अभिनय गरेकोमा उनलाई आइतबार यहाँ आयोजित एक कार्यक्रममा अभिनन्दन गरियो । अभिनन्दन ग्रहण गर्दै उनले भनिन्, ‘त्यतिबेला सकी नसकी उकालो चढ्दै, अहिलेजस्तो नक्कली गहना नपाउने भएकाले सक्कली गहना लुकाउँदै बोक्नुपथ्र्यो । यसरी फिल्म खेलेर अहिले सम्मानित हुँदा धेरै खुशी लागेको छ ।’
सोही चलचित्रमा अभिनय गरेका बलराज जबेगूले त्यसयता विभिन्न चलचित्र खेलिसके । जसमध्ये तीनवटा त राजेश हमाल अभिनित चलचित्र नै छन् । तैपनि सो फिल्ममा गरेको अभिनयका लागि अभिनन्दित हुन चारघण्टा लामो यात्रा गरेर आइपुगेका उनले खुशी लुकाउन सकेनन् । उनले भने, ‘सरकारले अहिले सम्झेकोमा धेरै धन्यवाद ।’
पहिलो गुरुङ चलचित्र ‘पाते’ की नायिका सरु गुरुङ तेन्याङ राना पनि २१ वर्षअघि आफूले गरेको अभिनयका लागि अभिनन्दित हुँदा हर्षित थिइन् । दुईदशकअघि किशोर वयमै महजोडीलाई लिएर नेपाल भाषाको चलचित्र ‘चाण्डालिका’ बनाएका मनिषकुमार श्रेष्ठ पनि यसरी सम्मानित हुनेमा थिए । उनले मातृभाषाका चलचित्रकर्मीलाई पनि सम्मान गरेकोमा खुशी व्यक्त गरे ।
यसरी मातृभाषामा बनेका चलचित्रमा योगदान पुरयाएका कलाकार, निर्माता, निर्देशकलगायतलाई सम्मान गर्ने चाँजोपाँजो जुराएको थियो चलचित्र विकास बोर्डअन्तर्गतको मातृभाषा चलचित्र प्रवद्र्धन समितिले । सो समितिका संयोजक युवराज मास्की रानामगर सम्मानका लागि युके आएका छन् । आदिवासी जनजाति महासंघ युुके, आदिवासी जनजाति महिला महासंघ, युके र आदिवासी जनजाति पत्रकार महासंघले संयुक्तरुपमा सो सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा सीमारेखाकी निर्माता देवीमाया पुन, तुयुमतीका निर्माता दीपक श्रेष्ठ, गायिका जुना श्रीश, अनिता राना, बिमला बोखिम, चन्द्रकला जबेगु, काजिमान याक्सोलगायत सम्मानित भएका थिए ।
महासंघका कार्यबाहक अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा भएको सो कार्यक्रममा मास्कीले आदिवासी जनजातिका चलचित्र अझै पनि हलमा नलाग्ने र च्यारिटी शोमै सीमित रहेको तीतो यथार्थ पोखे । नेपाली दूतावासका काउन्सिलर शरदराज आरनले सबैको उद्देश्य नेपाली पहिचान विस्तार मूल्य मान्यता स्थापित गराउने भएको उल्लेख गर्दै मातृभाषाको चलचित्रको प्रवद्र्धनका लागि दूतावासले मद्दत गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा आदिवासी जनजाति महासंघका पूर्व सचिव भक्त दुरा, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पूर्ण लोक्सम, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, आदिवासी महिला महासंघ युकेकी सचिव भावना परिस्कृत सुनुवार, आदवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष विश्वासदीप तिगेलालगायतले मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा आदिवासी चलचित्र सम्मान समारोहका लागि सहयोग गरेवापत सबै जातिय संस्था र विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो भने कलाकारहरुले बीचबीचमा गीत र नृत्य पेश गरेका थिए । महासंघका महासचिव कर्मा पहाडी शेर्पाको संचालनमा भएको सो कार्यक्रममा स्वागत मन्तब्य विमला सेनेले र हेल्थ एण्ड सेफ्टीका बारेमा किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष काजिमान याक्सोले गरेका थिए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन