शुक्रबार, असोज ९ २०७७ | Fri, September 25, 2020
नेपालको समय: २२:१८ | UK Time: 17:33

गीतकार लछुमन गुरुङको “अतीत” नियाल्दा

वीनेपाली
२०७३ कार्तिक ३ गते २१:१९

atit

बगेको नदी झैं बगीजाने समय अनि जीवनयात्रामा छुटेका पलहरु फेरी फर्केर कहिल्यै आउँदैन, आउँछ त केवल मन मस्तिष्कमा कुँदिएका केही तिता केही मिठा पलहरुका अवस्मरणिय यादहरु । हरेकमान्छेले भोगेको क्षणहरुका अनुभूतिहरु आ-आफ्नै हुन्छन् जो आफ्नो जीवनको अन्त्यसगैँ विलुप्त भएर जान्छन् । आफ्नो अतितका यस्ता अनुभूतिहरु थोरैले मात्रै सिर्जना वा कृतिका रुपमा अभिब्यक्त गरेर सार्वजनिक गर्ने हैसियत राख्छन् तिनै सिमित ब्यक्तिको लहरमा उभिएर गीतकारको रुपमा उदियमान भएका छन लछुमन गुरुङ । आमा जनुमाया गुरुङ र बाबा पदम बहादुर गुरुङको कोखबाट मंसिर ५ गते,भोजपुर, किमालुङमा जम्ल्याहाको रुपमा जन्मिएका भाइ अर्थात लक्ष्मणको रुपमा जन्मिएका उनी ग्रामीण बोलचालको भाषा टपक्कै टिपिएको शब्द अनि जन्मले नै पाएको नाम लछुमनबाटै अहिले नेपाली गीतसंगीत पारखी श्रोताहरुमाझ उदाएका छन् ।

उनले भर्खरै सार्वजनिक गरेका गीति एल्बम “अतीत” मा जम्मा ६ वटा गीत समाविष्ट छन् ।सम्पूर्ण गीतहरु संगीतकार पारस मुकारुङले लयबद्ध गरेका छन् भने अशोक लोहोरुङ राईले संगीत संयोजन गरेका छन् । एल्बमका गीतहरुलाई वरिष्ट साहित्यकार, गायक एवं संगीतकार गणेश रसिक, राजेश पायल राई, रीमा गुरुङ होडा, भिषण मुकारुङ हुँदै नवोदित गायक सागर संसार राई, सुनिता थेगिमदेखि अति नै कलिला गायिका मुस्कान मुकारुङसम्मका सुमधुर स्वरहरु समेटिएका छन् ।

गाउँघरको हल्ला नसुन साईला

शंकाको रुमाल नबुन साईला

माया यो चोखो छ

तिमीलाई भेटी पिर बह पोख्ने

साह्रै नै धोको छ !

गायिका रीमा गुरुङ होडाको स्वरबद्ध यो एल्बममा समेटिएको पहिलो गीत हो र गीतकारका अनुसार गीतिलेखनको यात्रामा लेख्दै जाँदा गीत जस्तै लागेको र मन परेको पहिलो गीत पनि यही हो जसलाई उहाँले पहिलो पल्ट फेमिलिवाला हुँदा १९९१ सालमा रचना गर्नु भएको हो । अब प्रसँग फेमिलिवाला हुनुको, उहाँ पेशाले ब्रिटिश आर्मीको रिटायर्ड गोर्खा सिपाही हुनुहुन्छ । उहाँको फुटकर लेखन निकै अघि देखिकै भएता पनि डायरी र नोटबूकमै सिमित रहेको बताउँदै उहाँले आफ्नो रचनाको पहिलो पाठक वा श्रोता आफ्नै धर्मपत्नी श्रीमती देवी गुरुङलाई मान्दै गीत रेकर्डिङको निम्ती उहाँलगायत दाजु राम गुरुङ अनि परिवारबाटै धेरै हौसला र प्रेरणा मिलेकोमा आभार पनि ब्यक्त गर्नु हुन्छ ।

भोजपुरको माटोमा जन्मेको, जम्ले भाई हामी लाहुरे

दौतरीहरु गाउँघरमा हाम्रो, अझै नि कुरा गर्छन् रे !

गायक भिषण मुकारुङ र् नवोदित गायिका मुस्कान मुकारुङको स्वरमा सुसज्जित यो एल्बममा दोस्रो गीत बढो गजबको यथार्थ बोकेर आएको छ र उस्तै कर्णप्रिय लय र संगीत संयोजन भरिएको गीत गायकले साह्रै नै मिठो स्वरमा मेहनतको साथ गाएका छन । साँचै नै बाध्यताबश बिदेशिने चलन अहिले झनै टड्कारो रुपमा बढेको भएता पनि त्यो बेला अर्थात आजभन्दा झन्डै ३० वर्ष अघिको समयमा लाहुरे अर्थात इण्डियन र ब्रिटिश आर्मीमा भर्ती हुने एउटा दरिलो पेसाको रुपमा हेरिन्थ्यो यही मेसोमा गीतकारले जम्ल्याहा हुनु र परदेशिनुको मर्मस्पर्सी यथार्थलाई खुबै कुशलतापूर्वक शब्दमा उतारेका छन । साँचै नै सोचे जस्तै वास्तविकतामा पनि उहाँको दुवै जम्ल्याहा दाजुभाइ बेलायती सेनाका गोर्खा सिपाही हुन । हरेक सर्जकको सिर्जनामा एउटा निजत्व हुन्छ र यही आफ्नोपनले कुनै पनि सर्जकलाई पृथक परिचय दिलाउँछ । भावनात्मक संवेग सबैमा हुन्छ तर यसलाई प्रस्तुत गर्सक्ने कला र क्षमता ब्यक्ति अनुसार फरक हुन्छ । गीतकारले यस् एल्बममा समाविष्ट गरेका गीतहरु हेर्दा सुन्दा र उहाँसगँको आत्मिय कुराकानीबाट जाने अनुसार उहाँ आफ्नो सिर्जनामा जीवनसँग नजिक रहेका, भोगेका र देखेका यथार्थपरक कुरोहरुलाई नै प्राथमिकता दिएर लेख्न रुचाउनु हुन्छ भनेर भन्दा मेरो उहाँप्रतिको सोच निश्चित नै ठहर्ला जस्तो लाग्छ । यद्धपि गीति लेखनमा उहाँले औपचारिक रुपमा बिधागत शिक्षा नलिएको बताउँदै आफुले अग्रज र समकालिन स्रस्टा सर्जकहरुको लेखन र गीतहरु सुनेरै सिकेको बताउनु हुन्छ । जे होस आफ्नो जीवन भोगाईका तिता मिठा पलहरुलाई सबल भावमा आन्तरिक लयबद्ध गरी प्रस्तुत गरिएका गीतहरु सुन्दा श्रोताको मन मस्तिस्कमा एउटा मिठो अनुभूति प्रसारित हुन्छ र ती आफ्नै जस्तो लाग्ने मर्मले मुटु चसक्क छुन्छ ।

भत्कियो होला चौतारी, कहाँ पुगे होलान दौँतरी

जहाँ पुगे पनि जन्मेको ठाउँ, तिर्सना लाग्छ मन भरी

बिर्सेंको छैन देउराली डाँडा

कर्मको खेलले पुर्यायो टाढा !

Mukesh Rai

मुकेश राइ

वरिष्ट गायक गणेश रसिकद्वारा स्वरबद्ध यो गीत शब्द, स्वर, लय र संगीतको सुन्दर समिश्रण हो भन्दा फरक नपर्ला । आफ्नो थातथलो छोडेर पराई भूमिमा पसिनाको खेतीले सुन फलाउने सपना बोकेर हिंडेका प्रवासीहरु बेलायतमा मात्रै नभएर संसारको कुनै पनि कुनामा छरपस्टै पुगेका छौँ । यही बिरानो परिवेशबाट आफ्नो देशको ब्यथा सुन्छौ, बोल्छौँ अनि अनुहारमा क्षणिक मुस्कान फूलाएर छातीभित्र बेस्सरी गुम्सिएका हुन्छौँ । हो, बिदेशी भूमिको बिरानो परिवेशमा पिर ब्यथा लुकाएर हाँसेको बहानामा देश नदुखेको मन कसको होला ? यही दु:खाईले भावनाको मुल फुट्छ र जन्मिदो रहेछ आफुले घरदेशमा बिताएको बालापन र मयुरपंखी दिनको सम्झना अनि मनको आँगन कौतुहलताको तुवाँलोले छपक्कै छोपेको यस्ता गीत रचनाहरु ।

सम्हाली राख मनैमा, फूल झै मेरो सम्झना

फर्की आउँछु दुरदेशबाट, त्यही प्यारो घर आँगनमा

म यता एक्लै परदेशमा, तिमी छौ उता गाउँघरमा

छल्किदा आँखा दुबैको प्रिय, पोखिन्छ सधैं तस्विरमा !

पुरुष स्वर गायक राजेश पायल राईको र नारी गायिका सुनिता थेगिमको स्वरमा बेग्ला बेग्लै समाविष्ट गरिएको यो गीत, हरेक श्रीमान श्रीमती, प्रेमी प्रेमिका वा आत्मियताको बन्धनमा समाहित भएका ब्यक्ति जो वियोगमा बाँचेका छन उनै पात्र पात्राहरुको प्रतिनिधित्व गर्दै उजागर भएको मर्मस्पर्शी गीत हो । अनुभूति आ-आफ्नै हुन्छन र त्यही भावलाई आफ्नै प्रकारले प्रस्तुत गरिएको हुन्छ जो जसले सुन्छन वा पढ्छन त्यहाँ आफ्नै कथा र ब्यथा अनुभूत गर्छन् र ति सिर्जनालाई माया गर्छन् तेस्तै एउटा सुन्दर सिर्जना हो यो गीत जहाँ गीतकारले आफ्नो पेसागत बाध्यतामा बिछोडिएको क्षण पछि म फर्केर आउनेछु र फेरि ती सुखद मिलनको पल आउने छ भनेर बखुबी चित्त बुझाईदिएका छन ।

के भयो सानु तिमीलाई, भन्दैनौ पनि खुलेर

डर लाग्छ मेरो मायालाई, जान्छौ कि कतै भुलेर !

गायक सागर संसार राईको स्वरले जिवन्तता पाएको यो गीत घरदेश र परदेशको क्रमबद्ध ऋंखलामा अचानक नै शंकालु सोचले ब्याकुल प्रेमिको बिलौना बोकेर उजागर हुँदा म दंगै परेँ । शायद धेरै माया गर्ने मान्छेले धेरै शंका पनि गर्दो हो भन्छु हुन त यो एउटा सर्जकको खुबी हो अरुको जीवन भोगाईलाई अनुभूत गरेर आफ्नो सिर्जनामा नौलो रुपमा प्रस्तुत गर्नु र एकोहोरोपनमा उच्चाट लाग्दा रिफ्रेश गर्नु । एउटा नवोदित गायकको नौलो स्वर अनि शंकालु भावनाको सुन्दर तारतम्य मिलेको गीतको प्रस्तुति पनि उस्तै मिठो छ ।

जे होस गीतकार लछुमन गुरुङको यस पहिले कृति “अतित” मा समाविष्ट गीत, संगीत र स्वरहरुमा रमाउँदा मेरो मनमा जन्मिएको सानो भावनालाई यसरी यत्ति नै ब्यक्त गर्दै उहाँ अनि उहाँको परिवारमा हार्दिक बधाई अनि निरन्तर सफलताको लाखौं शुभकामना ब्यक्त गर्दै उहाँ कै गीती हरफ राखेर बिदा हुन चाहन्छु ।

चखेवा भञ्ज्याङ टेम्के शिर, उस्तै छ होला तारे भिर

बिर्स्यौ कि क्यारे चाँप गुँराशले, भईरहन्छ सधैं मनमा पिर

भुलेको छैन गुराँशे पाखा, सम्झेर ल्याउँदा रसाउँछ आँखा !

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक