बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १८:४८ | UK Time: 14:03

रुम नम्बर ३०८

वीनेपाली
२०७३ असोज २७ गते ९:३७
Rabi

लेखक अर्याल

सिद्धार्थले आठ हजार पाउन्डमा वर्क पर्मिट निकालिदिन्छु भनेको छ स्कटल्यान्डमा, दुवैजनाले तीन वर्षको कमिटमेन्ट गर्नुपर्छ रे तिम्लाई कस्तो लाग्छ ?

डाइनिङ टेबलको कुनामा आइप्याड समातेर बसेकी सुमीलाई त्यसदिन मैले अल्लि सिरियस बनेर यो कुरा सुनाएको थिएं । अरुबेला वर्क पर्मिट सित एलर्जी भएको बिरामी जस्तो त उफ्रिइन ऊ तर ‘यो सबै मलाई भनेर केहि फाइदा छैन्, म तयार छैन् तिमी गर्ने भए गर बरु म नेपालनै जान्छु’ भनेर उपेक्षाको हांडीमा मकै भुटेकी थिई उसले ।
मन त्यसै भरंग उड्यो ।

२००९ सेप्टेम्बर १९ तारिख राती एघार बजे कतार एअरवेजको ठूलो 
बोइङ चढेर हिथ्रोको आकाशमा आउंदा मेरो तन र मन संवेगताको 
सरोबरमा कमजोर डुंगासित हल्लिरहेको थियो, जसको न त आधार मजबुत थियो न त धरातल नै । स्थितिबोधले गलस्त पार्यो, मुटुको ढुकढुकी बढेर घांटीमै आएजस्तो भयो । कैले पनि त्यति ठूलो शहर आफ्नै आंखाले नदेखेको म, हक्कान्निएर ठूलो सास फेरें, नागबेली परेका उजेला बाटाहरु, लामा लामा रेलको लिगमा देखिने मधुरो प्रकाश अनि आकाशै छुंला जसरी खडा अग्ला बिल्डिङहरुले मनमा रमाइलो कम र डर बढि पैदा गराइरहेको थियो ।

अटेसमटेस भयो इमिग्रेशनको लाइनमा बस्दा । भयको भालाले मुटुनै छियाछिया पारेर घाइते गराइरहेको थियो, यताउति हेरें, म जस्तै सानो गाउंबाट ठूलो सहरमा आएको त्यहां कोहीजस्तो लागेन, हजारौं मान्छेको भीडभाडमा मैले आफूलाई नीच देखें, लघुताबासको कुन्डमा स्नान गर्न गएको तीर्थालु जस्तो, लुछुप्पै भिंजे, नर्थफेस जकेटको पुछारतिर इत्ति च्यातिएर सेतो भुत्ला बाहिर निस्केको रहेछ, ट्याप्प थुतेर गोजीमै कोचारें, पेट कटक्क खायो दिसा आउला जसरी, नर्भस भएं । घांटी प्याकप्याक्ति  भयो । हेन्ड क्यारीमा थोरै पानी रहेछ ।

इन्ट्री क्लियर भएर बाहिर आउदा मनमनै भनें, ‘नेपाली भएर पो, बेलायती रामुदाई त कति सजिलै छिरे, म नि बेलायती हुन पाए..।’
बेलायती हुने काल्पनिक सपनाको बीज त्यसैदिन अनायासै रोपिएछ, एक मनले त भन्यो, ‘ह्या बहादुर नेपालीको छोरो पो त, सानो मन गर्नुहुदैन, अर्को मनले तर्क गर्यो, गरिबको यत्राको देश हुन्छ र ?’
मनोवाद त्यत्तिकैमा सकिन्न । अहंमको तिखो सुल बनेर हृदयमा गड्छ ।

वर्क पर्मिट मेरो लागि केवल बेलायत बस्ने कार्डको खोस्टो मात्र थिएन । हजार सपनाहरुको पूंजी सुरक्षित गरेर राख्ने सुन्दर बाकस थियो,
रोग र शोकले क्षीण बनाएको बुवाको सपना थियो, तैंले मेरो लागि दुई लाख रुप्पे रिन हाल्दे न भन्ने साथीको भरोषाको टेको थियो । अनि धमिराले भित्रैसम्म गलाएको घरको छानाको नवीन संरचना तर
सुमिलाई यी सबै कुरा बुझाउन म असफल बनिरहेको थिएं वा उसलाई बुझाउने मेरो ल्याकत सक्किसकेको थियो ।

उसंग संगै बस्न थालेको ५ वर्ष पुग्दै छ । २०१२ फेब्रुअरी ७ गते आफ्नो हन्स्लोको सिंगल रुम छाडेर मेरो ग्रीनवीचको डबल रुममा मिंगल हुन आएकी सुमी र आज हातमा आइप्याड समातेर धम्की 
दिइरहेकी सुमी मलाई फरक महसुस भैरहेको थियो । पहिलो पटक
‘बिएस्सी नर्सिङ बीथ गुड डिभिजन’, उसलाई छाती फुलाएर घमन्ड गर्ने विशिष्टताको प्रमाणपत्र थियो त्यो । उसको योग्यताको सामु मेरो एमबीएले घांस खाएको ठान्थी । म पनि प्रेमको रहमा हाम फालेको मान्छे, मेरो लागि एमबीए दाउमा लगाउनु कहिल्यै ठूलो लागेन । हाम्रो अभिमानको खालमा जहिले पनि नर्सको पासा फ्यांकेर मेरो 
डिग्रीलाई सधै जित्थी उ । मैले उसको कैयन सकुनी चरित्रलाई आंखा चिम्लेर सहिदिन्थे र कुटिलताको खालमा उसैलाई जिताइ दिन्थे । उ खुसी हुन्थी, उ खुसी हुंदा मलाई संसार जितेझैं लाग्थ्यो । आफू हारेर नि खुसी हुन त्यही सुमीले सिकाकी थिई मलाई ।

नियतिको खेल अचम्मकै हुन्छ । जति बाठी उसले सोच्थी त्यति थिइन उ, यहां आइएलटिएसमा इच ब्यान्ड सात ल्याउन नसकेको उसको सकसको जीउंदोजाग्दो साक्षी थिएं । थुप्रै कोसिस गरि, अहं उसको केहि सिप चलेन । लास्ट टाइममा रिडिङ सेक्सनमा मात्र साढे छ आउंदा उसका आंखामा आंसु टिल्पिलाएको देखेको थिएं पहिलो पटक । मेरो कलेजोमा पनि आल्पिनले चसक्क घोंचे जसरी पीडा भएको थियो त्यसदिन ।
‘कमिनी केटी ब्या गरेर बसेको छ रे लन्डनां’, छिमेकीको यस्तै कुरा सुनेर आमाले हाइब्लड प्रेसरको दबाइ लिन थाल्नुभएको थियो भने बुबाको अभिमानको नाकमा मैले ‘गु’ दलिदिएको थिएं । दिदीको आत्मसम्मान गिरेर ससुरालमा ठाडो शीर बनाउन नसक्ने भैसक्नुभएको थियो । समकालीन साथीभाई पनि सहयोगी थिएनन् । ‘लन्डन भनेर के गर्नु मुला… तैंले यसो जातभात त ख्याल गर्नुपर्छ नि । उपाध्यय बाहुनको एक्लो छोरा, कहिल्यै सोंचेको छस् ?’ संसारकै आधुनिक सहरमा मलाई सम्झाउने साथीभाइका हरफ यस्तै हुन्थे ।

मन अमिलो हुन्थ्यो आमा फोनमा भक्कानिंदा, बुवासंग कुरा नगरेको त दुइवर्ष दुई महिना भइसकेको थियो । उहांसंग कुरा गर्ने हिम्मत जुटाउन सकिरहेको थिइन । काठमाण्डौंमा बहिनीसंगबाटै सबै कुरा बुझ्थें ।
मेरो चिन्ताले आमाले मेरो वर्क पर्मिटको लागि एकजोर परेवा उडाइदिने भाक्कल गर्नुभा’छ रे भनेर बहिनीले लास्ट टाइम सुनाउंदा मेरा आंखाबाट तुरुक्क आंशु खसेका थिए । थेम्सको डिलमा बसेर चार खिल्ली चुरोट उडाएको थिएं त्यसदिन ।

‘सुमी बि.क. पोस्टेड अ फोटो’, फेसबुकले नोटिफिकेसन देखाइदियो । उसलाई मैले परान जत्तिकै मन पराउंथे त्यसैले उ मेरो फेसबुकमा नि फेबराइट एकाउन्ट बनेर बसेकी थिइ ।

power-couple

‘फिलिङ अवसम’ ।

४८ सेकेन्ड पहिला उसले एउटा सेल्फी पोस्ट गरि फेसबुकमा । लाइक गनेर बसेको उसको नोटिफिकेसनमा रातो पानको पात पठाइदिएं । उ गमक्क परि । दोस्रो, तेस्रो हुंदै चौथोपटक दोस्रो पानको पात थपियो पउल स्मिथको प्रोफाइलबाट उसको फोटोमा । उ फेरि गमक्क फुली ।

को हो र यो पउल स्मिथ भन्ने, तिम्रो फोटोमा जहिल्लै लाइक गर्छ त ? मेरो स्वभाविक जलन पेटमा धेरै बेर अडिएन ।
ए, त्यही नर्सिङ्ग होमको म्यानेजर क्या…उसले उत्तर दिइ ।
उसको नाम त ‘साइमन हैन र ?’ मेरो सातौं इन्द्रिय जागेझैं भयो ।
‘ए, फेसबुक त्यो नामबाट चलाउंछ क्या’, उसले स्पष्टिकरण दिइ ।
मनमनै सोचें फेक रहेछ, किन छद्म नाउंको अकाउन्ट चलाउंदो होला ?

सात दिनको डेडलाइन छ, छिटो निधो दे है । लाइनमा अरु पनि मान्छे छन् । सिद्धार्थले एजेन्टको सुइरो रोपेर बेला बेला घोच्थ्यो ।
अहं सुमी टसको मस थिइन । पर आवर १४ पाउन्ड छाप्थी । नाइन टु फाइभ काम, चाहेको बेला होलिडे, बोनस र प्रमोशन । म किन जाने नि वर्क पर्मिटमा पेलिन ? उसको तर्कमा दम त थियो तर मेरो लागि अदूरदर्शी ढिपी मात्र ।
‘उत्सव सम्झाइदेन सुमीलाई, अहिले राम्रो मौका छ, लाइफ बन्छ यार, सुमी र म नेपाल फर्किनु परे कसैले स्वीकार्दैनन्’, मैले एकदिन फोनमा सुनाएको थिएं ।

हाम्रो कमन फ्रेन्ड उत्सव वेम्लीतिर रिटायर्ड लाहुरेलाई काउन्सिलिङ गर्ने कन्सलटेन्सी खोलेर बस्थ्यो । एकदिन लन्डन ब्रिजतिर एउटा क्याफेमा बोलाएं । उसैले लामो सल्लाह दिएपछि हामी स्कटल्यान्ड जान रेडि भयौं । सुमी कन्भिन्स भइ ।

वाटरलु स्टेशनको प्लेटफर्ममा रेल कुर्दै थिएं । सुमीले म्यासेज 
गरि, ‘प्लिज आज खाना खाएर आउ, आइ विल बी लेट ।’

झनक्क रिस उठ्यो । हाम्रा बालाई आमाले टाइममा भात नपस्के जगल्टाइदिनुहन्थ्यो । तर, आजको पुस्ता चेन्ज भएको छ, रिसलाई आफंैभित्र दबाएं । ट्रेन आयो । घर पुगेर हिँजोको बासी भात राइस कुकरमै रहेछ, दबाइदिएं । भोक शान्त भो ।

भीजाको लागि आठ हजार पाउन्ड बुझायौं, सुमीले आफ्नो अकाउन्टबाट साढे चार हजार ट्रान्सफर गर्दिइ, मैले बेडमुनी कोचेर 
राखेको साढे तीन हजार पाउन्ड तीन चोटी गनेर सिद्धार्थलाई बुझाएं । पचास पाउन्डका राता नोट यसरी दिंदा मलाई मेरै कलेजोको एउटा टुक्रा काटेर दिए जत्तिकै भयो ।

सबै प्रोसेस पूरा भएर सिद्धार्थले कार्डिफ होम अफिसमा अपोइन्टमेन्ट लिदिएछ तीन हप्ता पछिको । ‘त्यो फाइलमा मैले गोरखा फ्लेवरमा काम गरेको एक्सपिरियन्स् लेटर छुटेको छ, खोजेर राख है ?’
मैले सुमीलाई हुकुम गरे जसरी भनें, अचम्मै भो । सधैं निहुं खोजेर खोते खोज्ने उसको आवाज आज एकैपटकमा ‘हस’ भनेकी थिई । मैले आफूलाई मर्द अनुभव गरें ।
‘आज काममा जा…’ सुरेन्द्रले पार्ट टाइम काम खोजिदिन्थ्यो 
कहिलेकाहीं । मैले हुन्छ ‘ए.एस.एल’ प्लिज भनेको खित्का छाडेर हांस्दै लोकेसन सेन्ड गर्दियो, हिल्टन होटेल, पार्क लेन, मे फेयर लन्डन ।

सुन्दा र भन्दा फाइभ स्टारमा काम गर्छु भनेर आफ्नो अलि अलि इज्जत कमाउनेभन्दा त्यो काममा केहि रंग थिएन, आफूले गर्ने काम भने त्यहि हाउस किपरको थियो ।
आज त सत्र रुम सफा गर्नैपर्छ, मनमनै संकल्प गरें । सय पाउन्ड जतिको इन्कमले मन पुलकित भयो । नेपालीमा कन्भर्ट 
गरें, पन्ध्र हजार रुप्पे । हांसो ओठमा अडिएन, फिस्स दांत देखाएरै हांसे बौलाह जसरी ।

३०७ नम्बर रुमलाई अल्लि धेरै बेर लाग्यो । डस्ट र चुरोटले अल्ली बितेको रहेछ रुम, ट्वाइलेट र बाथरुम पनि फोहोरै थिए । तर पनि पसिनै निक्लुन्जेल गरेर सिद्धयाएं ।

मलाई असारको चटारो जस्तै थियो भ्याइ नभ्याइ । भाइब्रेसनमा राखेको मोबाइल घ्यार्र घ्यार्र गरयो । निकालेर हेरें, सोलिसिटरले फाइल रेडि भयो त ? भन्न रहेछ । जवाफ नदिइ बन्द गरें ।
रुम नम्बर ३०८ बन्दै रहेछ, सेड्युलमा त्यो रुम पनि क्लिन 
गर्नुपर्ने थियो, कहिलेकांही गेस्टले ढिलो गर्दा यसो हुने गर्छ । ढोकाबाहिरै पर्खनुको विकल्प थिएन ।

करिव पर्खाइको दश मिनेटपछि भित्रबाट चुक्कुल खोले जस्तो आवाज आयो । म चनाखो बनें पाहुनाको बिदाइ हांसेर गर्नुपर्छ ।
घरयाक्क…ढोका खुल्यो । कुममा कालो झोला भिरेकी मेरी सुमी पउल स्मिथसंग बाहिरिंदै थिई, उसको निधारको रातो टिका अझै लत्पतिएको थियो ।
मेरो टाउकोमा सिंगै लन्डन अन्डरग्राउन्ड रेल कुदे झैं भयो । दाहिने हातको भ्याकुम क्लिनर फ्यात्त भुंइमा खस्यो हिल्टन होटेलनै थर्काउला झैं गरेर ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक