वासिङटन, २ असोज । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले डेमोक्र्याटिक पार्टीका तर्फका राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनलाई मतदान गर्न अफ्रिकन मुलका अमेरिकी नागरिकलाई आह्वान गर्नुभएको छ ।
उहाँले शनिवार आयोजित रात्रि भोजमा व्यक्तिगत आह्वान गर्दै भन्नुभयो, “अफ्रिकन मुलका हामी सबैले क्लिनटनलाई मतदान गर्न चुक्नु हुदैन ।”
ओबामाले मतपत्रमा छापिने क्लिनटनको नाम अफ्रिकन मुलको नाम नभएपनि अफ्रिकन मुलका अमेरिकीका लागि त्यो ज्यादै महत्वपूर्ण नाम रहेको तर्क गर्नुभयो ।
रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको विजय अफ्रिकन अमेरिकीका लागि दुर्भाग्य हुने उहाँको भनाइ रहेको थियो ।
सो रात्रि भोजमा डेमोक्र्याटिक उम्मेदवार क्लिनटनले पनि अफ्रिकन मुलका अमेरिकीको पक्षमा आफू सधै खडा रहने अठोट व्यक्त गर्नुभएको थियो ।
आगामी नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपतिका लागि हुन् गइरहेको निर्वाचनमा पूर्वविदेशमन्त्री हिलारी रोधम क्लिन्टन एक मात्र योग्य उम्मेदवार हुनुभएको वर्तमान राष्ट्रपति बाराक ओबामाले यस अघि नै दाबी गर्दै आउनुभएको थियो ।
अमेरिकाको डेमोक्र्यटिक पार्टीले अगामी राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई औपचारिक उम्मेदवार घोषणा गरेपछि ओबामाको यो भनाइ आएको थियो ।
विश्वको शक्तिराष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकाको इतिहासमा नै पहिलो पटक महिला उम्मेदवार विश्वभर नै नयाँ चर्चाको विषय भएको छ ।
हुन त अमेरिकी राष्ट्रपतिको हरेक निर्वाचनमा कुनै न कुनै नयाँ एजेन्डा हुन्छ र नयाँ विषयले चर्चा पनि पाउँछ । तर यस पटकको निर्वाचनको चर्चा भने यसभन्दा अघिल्ला निर्वाचनको भन्दा फरक खालको छ र विशेष गरी उम्मेदवारको लैङ्गिक विषयले यसपालि व्यापक चर्चा पाएको छ ।
पुटिनद्वारा ‘रसिया पक्षधर’ ट्रम्पलाई मौन समर्थन
मस्को (रसिया), १ असोज । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्कोमा सञ्चारमाध्यमसँगको कुराकानीमा अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन नेता डोनाल्ड ट्रम्पको नाम नलिए पनि रसियाको ट्रम्पलाई मजबुत समर्थन रहने सङ्केत जनाउनुभएकोे छ ।
“हामीले संयुक्त राज्य अमेरिकामा भएका घटनाहरुलाई नजिकबाट हेरिरहेका छौँ र निश्चय नै हामीले जसले समानताका आधारमा रसियासँगको सम्बन्ध विस्तारमा चासो व्यक्त गर्छ उसप्रति सहानुभूति राख्छौँ” – रसियाली राष्ट्रपति पुटिनले भन्नुभयो ।
उहाँका यी भनाइ अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्पप्रति स्पष्ट सङ्केत गरिएका स्वर भएका रसियाली सञ्चारमाध्यमले बताएका छन् ।
केही समय पहिले ट्रम्पले रसियाली शक्तिशाली नेता पुटिन अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्दा राम्रो राष्ट्र नेता भएको भनी आफ्नो चुनावी अभियानमा बोल्नुभएको थियो ।
यद्यपि रसियाली राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपतिका कुनै पनि उम्मेदवारप्रति सार्वजनिक रुपमा समर्थन जनाउन अस्वीकार गर्दै आउनुभएको छ ।
ट्रम्पद्वारा रसियाली राष्ट्रपति पुटिनलाई अमेरिकी राष्ट्रपति ओबामाभन्दा शक्तिशाली राष्ट्र नेता भनी दिएको अभिव्यक्तिलाई लिएर खासगरी हिलारी क्लिन्टनलगायत लाखौँ अमेरिकीले उहाँको आलोचना गरेका थिए ।
पुटिन र ट्रम्पको भेट भएको कुनै प्रसङ्ग त सार्वजनिक भएको छैन तर क्लिन्टन विदेशमन्त्री भएका बेला पुटिनले तनावग्रस्त क्षणहरुको सामना गर्नुपरेको रसियाली राष्ट्रपतिको दाबी छ । सन् २०१२ को निर्वाचन अभियानमा रहेका बेलासमेत क्लिन्टनले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न खोजेको आरोप पुटिनको छ ।
पुटिनको तेस्रो कार्यकालमा अमेरिका विरुद्ध रसियाली सञ्चारमाध्यममा अभिव्यक्तिहरु दिएको र रसियामा अमेरिकी प्रभावलाई न्यून गर्नेतिर बढी लागेको बताइन्छ । उहाँले अमेरिकीद्वारा रसियाली बालबालिकालाई धर्मपुत्र बनाएर लाने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै कैयौँ अमेरिकी गैरसरकारी सङ्घसंस्थालाई रसियामा प्रतिबन्ध लगाउने जस्ता कार्यलाई अभियानका रुपमा अगाडि ल्याउनुभएको थियो ।