सङ्घीय समाजवादी फोरम युकेको नेतृत्वमा तीन जनाकाे दाबी

samajbadi-uk-3-canidate
लन्डन । सङ्घीय समाजवादी फोरम, नेपालको प्रवास अंग सङ्घीय नेपाली समाज युकेको नयाँ नेतृत्वको लागि ३ जनाले अध्यक्षका निम्ति दाबी गरेका छन् ।
वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष जंग सुनुवार, सल्लाहकार तथा तमुवान प्रदेश समिति युकेका इन्चार्ज कमल गुरुङ र अर्का सल्लाहकार तथा किरात खम्बुवान प्रदेश युके इन्चार्ज भानुभक्त राईले अध्यक्षमा आफ्नो उम्मेदवारी दाबी गरेका हुन् ।
तीनैजना युकेको नेपाली समाजमा अनुभवी र परिपक्व मानिन्छन् । सुनुवार किरात सुनुवार सेवा समाज युकेका पूर्व अध्यक्ष तथा नेपाल अादिवासी जनजाति महास‌‌सँघका वरिष्ठ उपाध्यक्ष हुन् भने गुरुङ पनि युकेको सबैभन्दा ठूलो संस्था तमुधि युकेका पूर्व अध्यक्ष हुन् । त्यस्तै राई भोजपुर सेवा समाज युकेका उपाध्यक्ष र किरात राई यायोख्खा लण्डन शाखाका उपाध्यक्ष हुन् ।  त्यस्तैगरी महासचिव पदमा पनि दुई जनाको नाम चर्चामा रहेपनि सार्वजनिक घोषणा भइसकेको छैन ।
सङ्घीय समाजको दोस्रो महाधिवेशन आगामी २५ सेप्टेम्बर २०१६ का दिन युकेको अल्डरसटस्थित एम्पायर ब्यङ्क्वेट हलमा केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा हुँदै छ । सङ्घीय समाजको युकेमा ९ शाखा छन् ।
यस पटकको महाधिवेशन प्रतिनिधिमुलक गर्ने कि खुल्ला गर्ने भन्ने बारेमा समाजमा भएको लामो बहसपछि मत विभाजनको आधारमा खुल्ला रुपबाट गर्ने निर्णय भयो । त्यसैले उम्मेदवारहरु अहिले सदस्य बनाउन दौडधुपमा लागेका छन् । समाजको सदस्य बन्न शुल्क ५ पाउण्ड मात्र लाग्ने बताईएको छ ।
यस अघिको बैठकले ब्यवस्थापन समिति, विधान संशोधन समिति र निर्वाचन समिति निर्माण गरेको थियो जसअनुसार अध्यक्ष धर्मबहादुर तामाङको संयोजकत्वमा ९ सदस्य ब्यवस्थापन समिति, महासचिव विश्वासहाँङ खेवाहाङको संयोजकत्वमा उपमहासचिव कमल प्रसाद राई र प्रवक्ता नरेश काङमाङ राई रहेको विधान संशोधन समिति साथै केन्द्रीय बैकल्पिक सदस्य टेक बहादुर थापा ‘राजेश’ संयोजक र सदस्यद्धय प्रेम कुमार राई र भक्त दुरा रहेको निर्वाचन समिति गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री