एनआरएनए यूकेको काउन्सिल बैठकमा दशबुंदे घोषणापत्र जारी

14273337_1197582256967890_684307565_o

तस्विरः बीरेन्द्र श्रेष्ठ

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आइतबार संघ संस्था प्रतिनिधिसभा बैठक (काउन्सिल बैठक) गरेको छ । न्यून नेपाली संघसंस्थाबीच सम्पन्न उक्त बैठकले दश बुंदे लन्डन घोषणापत्र 
(तल हेर्नुहोस्) समेत जारी गरेको छ । संघको संशोधित विधान २०१५ को मर्म र परिकल्पना अनुरुप बेलायतमा स्थापना भएर नेपाल र नेपाली समुदायको सेवामा सक्रिय रुपमा कृयाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा अल्डरसटस्थित एम्पायर हलमा चौंथो काउन्सिल बैठक भएको हो । पहिलो उद्घाटन सत्रमा प्रमुख अतिथी थिए कार्यवहाक राजदूत शरदराज आरन र विशेष अतिथी एनआरएनए उपाध्यक्ष कुमार पन्त । पन्त बैठकमा भाग लिन जर्मनीबाट आएका हुन् ।

कार्यक्रम कार्यवहाक राजदूत, पन्त र एनआरएनए युरोप संयोजक कुल आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए । बैठकको पहिलो सत्रलाई सम्वोधन गर्दै कार्यवहाक राजदूत आरनले नेपाल विकासमा गैर आवासीय नेपालीको महत्वपूर्ण योगदान रहेको बताए । उनले विदेशमा रहेका सबै नेपाली दूत रहेको उल्लेख गर्दै तिनले नेपालको कला, संस्कृति र भाषा संरक्षण एवं संवर्धनमा उल्लेख्य भूमिका निर्वाह गरिरहेको पनि उल्लेख गरे । आरनले एनआरएनलाई साझा संस्थाको रुपमा विकास गरि सीप, ज्ञान र लगानी स्वदेशमा भित्र्याउन पनि आग्रह गरे ।

गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का महासचिव विजयविक्रम लिंग्देनले सञ्चालन गरेको पहिलो पत्रमा विशेष अतिथी एनआरएनए उपाध्यक्ष कुमार पन्तले राजनीतिक अधिकार बाहेकको नागरिकता पाउने सतप्रतिशत निश्चित भइसकेको अवगत गराए । उनले विदेशमा बस्ने करिब ६० लाख नेपालीको साझा घर एनआरएन भवन बनाउन सबैको सहयोगको अपेक्षा पनि गरे । पन्तले भूकम्प पीडितका लागि एक हजार घर बनाउने एनआरएनको योजना अनुरुप काम भइरहेको उल्लेख 
गर्दै सहयोग रकम दुरुपयोग नहुने पनि बताए ।

एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनए सल्लाहकारहरु विश्वआदर्श पण्डित, मेजर रि. डमर घले, एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य 
गुरुङ र योगेन क्षेत्रीले पनि शुभकामना मन्तव्य दिए । संघका उपाध्यक्ष हिराधन राईले हेल्थ एण्ड सेफ्टी र कार्यक्रम संयोजक एवं उपाध्यक्ष दासु पाण्डेले स्वागत मन्तव्य दिएका थिए ।

दोश्रो सत्रमा कोषाध्यक्ष दीपक श्रेष्ठले आर्थिक प्रतिवेदन र महासचिव विजयविक्रम लिंग्देनले सांगठनिक प्रतिवेदन प्रस्तुत गरे । उपमहासचिव अर्जुन कटुवालले सञ्चालन गरेको उक्त सत्रमा उपाध्यक्ष राष्ट राईले अमेरिकामा खेल्न जान लागेका नेपाली तेक्वान्डो खेलाडीहरुलाई आर्थिक सहयोग जुटाउनेबारे प्रकाश पारे भने इन्जिनियर राजेश पाठकले संघको नेपाल हाउस प्रोजेक्टबारे बताए ।

तेश्रो सत्र सचिवद्वय फडिन्द्र भट्टराई र कृष्ण तिवारीले सञ्चालन गरे । यस सत्रमा सहभागी नेपाली संघसंस्थाबीच आठ प्रमुख विषयमा 
छलफल र राय सुझाव संकलन भएको थियो ।

बैठकले संघको दुई वर्षको हिसावकितावका लागि लेखा परिक्षक र पारिश्रमिक तोक्ने अधिकार कार्यसमितिलाई दिएको छ ।

घोषणापत्र जस्ताको तस्तैः

गैर आवासीय नेपाली संघ बेलायत
संघ संस्था प्रतिनिधि सभा २०१६
लन्डन घोषणापत्र
१. गैर आवासीय नेपालीहरु लाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने प्रावधान नेपालको नयां संबिधानमा व्यवस्था भएकोमा खुशी व्यक्त गर्दै एक पटकको नेपाली सधैंको नेपाली भन्ने नाराको मूल मर्म अनुरुप कुनै संकुचन बिना बंशजकै आधारमा सम्पूर्ण अधिकार सहितको नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गर्ने तर्फको परामर्श थालियोस् भन्ने माग गर्दछ ।
साथै संविधान कार्यान्वयनको लागी आवस्यक पर्ने बिभिन्न ऐन तथा नियम हरुको निर्माण कार्यमा गैर आवासीय नेपाली संघको परामर्श लिदै नागरिकता सवालमा गैर आवासीय नेपालीहरुको भावना र मर्मलाई समेट्दै सिमितता बिनाको सहज प्रावधानहरुको व्यवस्था होस् भन्ने कुरामा समेत गैर आवासीय नेपाली संघ बेलायत जोडदार माग गर्दछ । साथै नागरिकता निरन्तरताको बिषयमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्णयमा हुने अभियानहरुमा बेलायतका नेपालीहरुको तर्फबाट यहां स्थित नेपाली संघ संस्थाहरु संग समन्वय गर्दै गैर आवासीय नेपाली संघ बेलायत अग्रसर बन्न कुरा समेत यस अवसरमा जानकारी गराउंदछौ ।

२. गत वर्षको विनासकारी भूकम्प पश्चातको पुनर्निर्माणको यथाशिघ्र सम्पन्नताको कामना गर्दै गैर आवासीय नेपाली संघले नेपालमा शुरु गरेको पुनर्निर्माण अभियानमा बेलायतमा रहेका संघसंस्थाहरुको विगतमा जस्तै सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछ । साथै गैर आवासीय नेपाली संघको अग्रसरतामा नेपालमा भूकम्प पीडितहरुको पुनर्वासको निम्ति एक हजार घर निर्माण गर्ने अभियानलाई सफल तुल्याउन नेपाल सरकारले हर तवरले खेल्नुपर्ने सहयोगी भूमिका निभाओस् भन्ने आग्रह गर्दछौं ।

३. बेलायतमा सम्पूर्ण नेपालीहरुको साझा पहिचानको रुपमा स्थापित हुने गरी गैर आवासीय नेपाली संघ बेलायतले शुरु गरेको नेपाल हाउस निर्माण अभियानमा बेलायतका नेपाली संघ संस्थाहरुको पूर्ण सहयोग र सहकार्य रहने प्रतिवद्दता आजको सभाले व्यक्त गरे अनुरुप बेलायतमा हाम्रो भविष्यको नेपाली एकता र गौरवको आधारको रुपमा रहने यो नेपाल हाउस परियोजनालाई सफल तुल्याउन सबैले आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु हुन समेत बेलायतका सम्पूर्ण नेपाली संघ संस्था तथा जन मानसमा गैर आवासीय नेपाली संघ बेलायत सादर अनुरोध गर्दछ ।
४. बेलायतमा रहेका सम्पूर्ण नेपाली संघसंस्थाहरु मार्फत गैर आवासीय नेपाली संघ बेलायत आम नेपाली जनमानस समक्ष पुग्नको लागि यथाशिघ्र पहलकदमी शुरु गर्ने प्रतिवद्धता व्यक्त गर्दै गैर आवासीय नेपाली संघ बेलायतको संसोधित बिधानको मर्म अनुरुप क्षेत्रीय अवाधरणाको मोडालिटीमा टेक्दै संयुक्त अधिराज्य बेलायतमा नेपालीहरुको बाक्लो वस्ती रहेका स्थानहरुमा शाखा विस्तार गर्दै संस्थाको आम दायरा फराकिलो बनाउने कार्य माथिको प्रयास शुरु गरिने जानकारी समेत गैर आवासीय नेपाली संघ बेलायत यस अवसरमा उल्लेख गर्न चाहन्छ ।

५. बेलायत लगायत विदेशमा रहेका गैर आवासीय नेपालीहरु छुट्टी विदा मनाउन तथा व्यावसायिक प्रयोजनको लागी नेपाल जाने अवस्थामा नेपालमा रहेको अध्यागमन तथा भन्सार बिभागमा देखा परेका कठिनाई हरुलाई तुरुन्त सम्बोधन गर्न जोडदार माग गर्दछांै । साथै नेपाल सरकारले व्यक्तिगत प्रयोजनको लागी लैजाने सामग्री तथा गरगहनाको संख्या सिमाको कटौती 
गर्ने उद्देश्यले हालै ल्याएको कानुनी प्रावधानको पुनरावलोकन गर्न समेत माग गर्दछौ ।

६. संसारमा वीर गोर्खालीको पहिचान कमाएका नेपाली हरु प्रति बेलायत सरकारको विभेदकारी नीतिको भत्र्सना गर्दै उनीहरुलाई बेलायती समकक्षी सरहको सेवा सुविधा प्रदान गराउने कार्यमा बिभिन्न गोर्खा संगठन, नेपाल सरकार र बेलायत सरकारको ध्यानाकर्षण गराउंदै आवस्यकता अनुरुप समन्वय गर्ने कार्यमा अग्रसरता लिने जानकारी गैर आवासीय नेपाली संघ बेलायत यस अवसरमा प्रदान गर्दछ । साथै सेवा निवृत्ति बिशेषत वृद्ध गोर्खा सैनिक हरुको सामुदायिक वेलफेयरमा समेत गैर आवासीय नेपाली संघ बेलायतले आगामी दिनमा भूमिका खेल्दै जाने प्रतिवद्धता ब्यक्त गर्दछौ ।

७. बेलायतमा रहेका नेपालीहरुको नयां पुस्ता तथा आम महिलाहरुलाई 
संघको आवद्धतामा ल्याउनको लागि संघको मातहतमा पूर्व गठित युवा तथा महिला फोरमलाई सकृय र प्रभावकारी तुल्याउंदै यस सम्वद्ध विभिन्न कार्यक्रमहरुको आयोजना मार्फत युवा तथा महिला प्रभावकारितालाई ब्यापक रुपमा परिचालन गर्ने प्रतिवद्दता व्यक्त गर्दछौं ।
८. गैर आवासीय नेपालीहरुप्रति नेपालमा लगानी मैत्री वातावरणको 
सृजनामा जोड दिदै बेलायतमा रहेका नेपाली हरु लाई सामुहिक तथा एकल लगानीको लागी ठोस कार्ययोजना ल्याउने निती अवलम्बन गर्दै त्यसको 
व्यवहारिक कार्यान्वयन तर्फ गैर आवासीय नेपाली संघ बेलायत उन्मुख बन्नेछ भन्ने प्रतिवद्दता समेत व्यक्त गर्दछौं ।

९. गैर आवासीय नेपालीले विदेशमा आर्जन गरेको ज्ञान सिप र दक्षता नेपालको विकासमा समाहित गर्नका लागि संघका विभिन्न प्राविधिक र पेशागत शाखाहरुको स्थापना र परिचालन मार्फत देश विकासमा टेवा पुरयाउन गैर आवासीय नेपाली संघ बेलायतले अग्रणी भूमिका निभाउन संघको क्रियाशीलता लाई अगाडि बढाइने छ ।

१०. गैर आवासीय नेपाली संघ बेलायतले आयोजना गरेको संघ संस्था 
प्रतिनिधिसभामा सकृय सहभागिता जनाएर आ आफ्नो तर्फबाट अमुल्य विचार, सहयोग र सल्लाह पुरयाउने हुने अतिथी, प्रतिनिधि, सल्लाहकार, 
लगायत सम्पूर्णमा गैर आवासीय नेपाली संघ बेलायत हार्दिक आभार व्यक्त गर्दछ ।

धन्यवाद
संघ संस्था प्रतिनिधिसभा २०१६
गैर आवासीय नेपाली संघ, बेलायत

बोधार्थः
१. गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्यव परिषद
२. नेपाल सरकार, परराष्ट्र मन्त्रालय

घोषणापत्र तयारः सचिव फडिन्द्र भट्टराई
टिपोटः कृष्ण भट्टराई, बाचस्पती रेग्मी, केशव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री