लन्डन । लाग्थेन स्थान केम्पटेन पार्क रेस कोर्स हो भनेर । अरु बेला घोडा दौड हेर्न विदेशीले भरिने त्यो ठाउं आइतबार नेपालीले ओगटे । मिनी नेपाल झैं बन्यो उक्त मैदान । विदेशी कुटनीतिज्ञसहित करिब आठ हजार नेपालीले भरिभराउ मेलाले सिंगो नेपाल झल्काइदियो ।
बेलायतस्थित ३० बढि नेपाली संघसंस्था आआफ्ना झांकीमा प्रस्तुत भए । ति झांकीले विभिन्न जातजातीका भेषभूषा, रहनसहन र कला संस्कृति प्रदर्शन गरिरह्यो राती अबेरसम्म । ‘सिंगो नेपाल त यहां पो देखें’, प्रमुख अतिथी कार्यवहाक राजदूत शरदराज आरन भन्दै थिए, ‘नेपाली मौलिक कला संस्कृति र पहिचान स्थापित गर्न मेलाले ठूलो भूमिका निर्वाह गरेको छ ।’
दूतावासको सहयोगमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । मेलामा यसपटक विदेशी कुटनीतिज्ञहरुको पनि उल्लेख्य सहभागिता रह्यो । बेलायती नेताबाहेक बोस्निया एण्ड हर्जगोभिना, सेनेगल, म्यानमार, गुयना ग्वाटेमाला, मंगोलिया, निकारागुवा, हैटी, अफगानिस्तान, अर्मानिया, साल्भाडोर, श्रीलंका, म्यासेडोनिया, बेलिज, सेसेली लगायत देशका राजदूत र वरिष्ठ कुटनीतिज्ञहरुले मेला नजिकबाट अवलोकन गरे । ‘इट्स एन अमेजिङ’, केही नेपाली शब्द समेत जानेका मंगोलियाका फस्ट सेक्रेटरी दर्शकदीर्घाबाट भन्दै थिए । लन्डनस्थित नेपाली दूतावासले कुटनीतिज्ञ निम्त्याउन संयोजन गरेको हो ।
तमुहरुको ट्होटे होस् वा लिम्बुको च्याब्रुङ । कौरा र सोरठी सबै मेलाका आकर्षण थिए । मेलामा ३१ वटा झांकी प्रदर्शन भयो । युवाहरुका ५ वटा ब्यान्डले पनि गीत संगीत प्रस्तुत गरे । उक्त अवसरमा एकहजार एकसय पाउण्डको एम्बासडर कप लमजुङ समाज यूकेले जित्यो । झांकी र नृत्य दुवै प्रस्तुत गरि उत्कृष्ट हुनेलाई उक्त अवार्ड दिइएको हो । खाना र च्यारिटीका स्टल, ब्रिगेड अफ गोर्खाज प्रस्तुति, राफल ड्र पनि थप आकर्षण थिए मेलाका ।
‘मेला अत्यधिक सफल भएको छ’, आयोजक तमुधिं यूके अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङले भने, ‘यसले नेपाली कला संस्कृति जीवन्त राख्ने मात्र होइन, बेलायत र अन्य देशबीचको सम्वन्ध अरु प्रगाढ बनाउन पनि सहयोग गरेको छ ।’
तमुधिं यूके सल्लाहकार एवं एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले मेला व्यवस्थित हुंदै जांदा दर्शक सहभागिता वर्षेनी बढ्दै गएको बताए । ‘दोश्रो पुस्ता मेलाप्रति आकर्षित हुनु भनेको उनीहरुको नेपाली कला संस्कृतिप्रतिको झुकाव बढ्नु पनि हो’, उनले भने ।
महासचिव हरि गुरुङले सञ्चालन गरेको पहिलो औपचारिक सत्रमा मेला संयोजक नन्दजंग गुरुङ, लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर काउन्सिलर भगवानजी चोहान, नेपालका सांसद डा. गणेश गुरुङ लगायतले मेलाको शुभकामना दिए । नवीन पोखरेल, इकान्तिपुर
तस्विरहरुः मिलन तमु
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा