अन्तर्राष्ट्रिय परिषद् बनाउने प्रण गर्दै बेलायतमा संखुवासभा समाजकाे वार्षिकाेत्सव

SS UK

बेलायत । संखुवासभा समाज बेलायतको वार्षिकोत्सव सम्पन्न भएको छ । गत शनिबार आसफोर्डस्थित द नर्थ स्कुलमा भएको सो कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष गणेश रानाले गरेका थिए भने प्रमुख अतिथी संखुवासभा समाज अमेरिकाकी अध्यक्ष श्रीमती शान्ति श्रेष्ठ थिइन् । अतिथिहरूमा संखुवासभा समाज हङकङका निवर्तमान अध्यक्ष तथा सल्लाहकार सलबहादुर कोरङी, प्रमुख सल्लाहकार बिजय लिङथेप, संस्थापक अध्यक्ष धर्मबहादुर गुरुङ, संरक्षक खगेन्द्र याक्खा, समाजका पूर्व अध्यक्षद्धय पदमबहादुर लिम्बु र जिवनप्रकाश राई, संखुवासभा जिल्लाको विभिन्न ठाउँमा वर्षेनी आफैँ गएर सहयोग गर्ने बेलायती नागरिक ब्यरी आडम, संखुवासभा समाज हङकङका प्रतिनिधि लोकराज देवान, छिमेकी जिल्लाहरु धनकुटाबाट जय बहादुर तामाङ, तेह्रथुमबाट निशा गुरुङ, ताप्लेजुङबाट रत्न लिम्बु, पाँचथरबाट शकुन्तला नेम्वाङ, इलामबाट गोपाल गिरी, भोजपुरबाट बिमला राई र खोटाङका प्रतिनिधि थिए ।

सभाध्यक्ष राना र प्रमुख अतिथि श्रेष्ठबाट संयुक्तरुपमा पानसमा बत्ती बाली नेपालको राष्ट्रिय गानबाट शुरु गरिएको उक्त औपचारिक कार्यक्रमको सञ्चालन महासचिव सेमन्त राई र स्वागत मन्तब्य समाजका वरिष्ठ उपाध्यक्ष बसुन्धरा याक्खा राईले गरेकी थिइन् ।
कार्यक्रममा उपस्थितमध्ये सबैभन्दा जेष्ठ पुरुष सित्तलपाटी गाविसका बासिन्दा ८९ वर्षीय जीतबहादुर गुरुङ तथा महिलातर्फ ८८ वर्षीया श्रीमती तिलमाया गुरुङलाई संस्थाको तर्फबाट खादा ओडाई अभिनन्दनसहित आशीर्वाद माग्ने कार्य गरिएको थियो । यस्तै संखुवासभाबाट अन्य जिल्लामा बिहे भएका छोरी चेली र ज्वाइं चेलाहरूलाई संस्थाका अध्यक्षले खादा लगाइ सम्मान गरे ।

संखुवासभा समाजलाई निरन्तररुपमा आर्थिक, भौतिक सहयोग गर्दै आइरहेका संस्थाका वरिष्ठ सदस्य हिरण्य राईले जि इनर्जी कम्पनीबाट प्राप्त मुनाफा वापत २३० पाउण्डको चेक अध्यक्ष रानालाई हस्तान्तरण गरेका थिए भने पार्टी प्यालेस डेकोरेसन कम्पनीका प्रोपाइटर तथा संस्थाका आजीवन सदस्य सुरेश गुरुङले १२० पाउण्ड नगद समाजलाई दिए । दुवैलाई समाजका अध्यक्ष रानाले खादा ओडाई सम्मान गरे ।

बेलायतमा बसोबास गरिरहेका संखुवासभाली स्थानीय कलाकार भाइबहिनी, भान्जाभान्जीका साथै संखुवासभाली गाउँले दाजुभाइ तथा दिदीबहिनीका छोराछोरीले उच्च शिक्षा प्राप्तिका क्रममा विभिन्न क्षेत्र र बिधामा गरिएका उपलव्धि र सफलताको कदर गर्दै प्रमुख अतिथिबाट खादा ओढाइएको थियो भने समाजका अध्यक्षबाट प्रमाण पत्र प्रदान गरिएको थियो । त्यसैगरी, समाजका तर्फबाट संखुवासभा समाज अमेरिकालाई मायाको चिनो अध्यक्ष रानाले अमेरिकाकी अध्यक्ष श्रीमती शान्ति श्रेष्ठलाई प्रदान गरेका थिए ।

कार्यक्रममा खाना र पेयको व्यवस्थापन वरिष्ठ उपाध्यक्ष बसुन्धरा याक्खा राई, महिला विभाग प्रमुख हेमा राना गुरुङ, महिला विभाग सचिव एवं सदस्यहरुमा साबित्री राई, सीता राई, सरिता शुन्दास, पूर्णकला मगर, ममता गुरुङ, शान्ता मगर, गंगा गुरुङलगायत महिला विभाग नै खटिएको थियो । अतिथिहरूको स्वागत महिला विभागले गरेको थियो ।

संखुवासभा जिल्लाको विभिन्न क्षेत्रमा देखाइने लाखे नाच, २०६४ सालमा नेपालको सांस्कृतिक महोत्सवमा प्रथम स्थान हासिल गर्न सफल प्रसिद्ध हुर्रा नाच, कौरा नाच, बेलायतस्थित विश्वविद्यालयहरुको २०१६ मा सम्पन्न चौथो नेपाली सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल युनिभर्सिटी अफ इंग्ल्याण्डका कलाकारहरुको नृत्यसहित स्थानीय कलाकारहरुको साथमा सात वर्ष उमेरका साना नानीबाबुहरुको उत्कृष्ट नृत्य प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो ।

कार्यक्रममा सबै जिल्लावासीलाई एकै सुत्रमा समाहित गर्नका निम्ति आफ्नै गाउँघरको पाखा पखेरा, खोला नाला बनजंगलमा गाइने स्थानीय लोकभाकाका गीतहरूको साथमा विभिन्न जातिय परम्पराको मौलिकता बोकेको झांकीहरु प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रम सफल बनाउन सांस्कृतिक विभाग प्रमुख कमल गुरुङले विशेष भूमिका खेलेका थिए ।

कार्यक्रमको अर्को आकर्षण राफल ड्र थियो जसमा सुनको औंठीसहित २० वटाभन्दा बढि पुरस्कार थिए । सोको सञ्चालन समाजका प्रमुख सल्लाहकार विजय लिंगथेप, उपाध्यक्ष भरतकुमार राई, उपाध्यक्ष नैनसिंह गुरुङ, महिला विभाग प्रमुख हेमा राना गुरुङ र सल्लाहकार जया राईले गरेका थिए । कार्यक्रममा उपस्थित भएका जिल्लावासीहरूको उत्सुकता र जिज्ञासा विश्वभरी बसोबास गरिरहेका संखुवासभालीहरुलाई संगठित गर्दै भविष्यमा गठन गर्न लागिएको संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को लक्ष्य र उद्देश्यसहित साझा मंञ्चको संरचनाबारे रहेको थियो ।

अमेरिकाबाट आएकी प्रमुख अतिथी श्रीमती शान्ति श्रेष्ठले मन्तब्यको क्रममा संखुवासभा समाज वेलायतका वर्तमान अध्यक्ष गणेश रानाको पहल र समन्वयमा संखुवासभा समाज बेलायतको वार्षिक उत्सवमा उपस्थित भई प्रमुख आतिथ्यता गर्ने अवसर प्राप्त भएकोमा ह्दयबाट धन्यवाद दिएकी थिइन् । विश्वभरी छरिएका संखुवासभाबासीहरुलाई संखुवासभाली झण्डामुनि गोलबन्द गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को परिकल्पना गरी समय अनुसारको दुरदर्शी र वजनदार भिजन प्रस्तुत गरी सबैलाई एउटै प्लेटफार्ममा ल्याउन समाजका अध्यक्षको महत्वपूर्ण भूमिका रहेको उनले थपिन् । संखुवासभा समाज बेलायतको परिकल्पना संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को भिजन प्रष्ट भएको हुनाले अमेरिकामा बसोबास गर्ने संखुवासभालीहरु संखुवासभा समाज बेलायतको अवधारणाका आधारमा तयार गरिएको लक्ष्य र उद्देश्यमा अगाडि बढ्न तयार भएको उनले बताइन् ।

समाजका अध्यक्ष रानाले विदेशमा बसेका संखुवासभालीहरु एक भए जिल्लामा गुरुयोजनाहरु लागू गर्न सक्ने धेरै सम्भावना रहेको बताए । ब्यक्तिगत र राजनीतिक स्वार्थबाट टाढा रहेर उपलव्धिमूलक कार्यमा समाहित हुने हो भने आफ्नै जिल्लामा रोजगारीको अवसर सृजना अलावा जिल्लाको चौतर्फी बिकासमा टेवा पुग्ने र जिल्लावासी लाभान्वित हुने योजना संखुवासभा अन्तर्राष्ट्रिय समन्वय परिषद्को संरचना भित्र रहेको उनले प्रष्ट पारे । सबले एक एक डलर गरेर आर्थिक संकलन गरी सम्पन्न सुगम नगरपालिकाभित्र होइन, दुर्गम क्षेत्रको गाँउ वस्ती र वडा वडामा शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकताहरुबाट वन्चित रहेको क्षेत्रबाट काम शुरु गरे विदेशमा बस्ने संखुवासभालीहरुको नाम अग्रसूचीमा रहनेमा दुईमत नभएको उनको धारणा थियो ।

समाज स्थापनाको १० बर्षको सुखद उपलक्ष्यमा आउने सालको भेला फेल्थाम कम्युनिटी हलमा १२ अगष्ट २०१७ शनिवार मनाइने घोषणा गरियो । सन् २००७ मा संस्था खुलेपछि यसरी पहिलो पल्ट अन्तर्राष्ट्रियरुपमा संखुवासभालीहरुको साझा संस्था अन्तर्रा्ष्ट्रिय समन्वयन परिषद् गठनको निमित्त समाजको निमन्त्रणामा संखुवासभा समाज अमेरिका अध्यक्षको उपस्थिति साथै छिमेकी जिल्लाबाट आएका पाहुनाहरुको उपस्थितिले छिमेकी जिल्लासंगको भातृत्व र दौत्य सम्बन्ध अझ मजबुत र प्रगाढ़ भई आत्मिय भाईचाराको नातामा परिणत भएको महसुस यस पटकको भेलाले गराएको छ ।
हेमा राना गुरुङ

प्रतिक्रिया

सम्बन्धित सामाग्री