शनिबार, कार्तिक १५ २०७७ | Sat, October 31, 2020
नेपालको समय: ०३:४३ | UK Time: 21:58

स्मृतिमा त्यो चरी…

वीनेपाली
२०७३ साउन २० गते २०:३५

Restless_flycatcher04

भर्खरै एसएलसी परीक्षा दिएर रिजल्ट कुरिरहेको थिएं, मेरो बाबाले पहाडबाट तराइमा रहेको जग्गा हेर्न अनुरोध गर्नुभयो । यो चञ्चले मन घुम्न निकै रमाइलो लाग्ने मैले कसरी हुन्न भन्न सक्थें र ? पहाडको लामो बाटो उकाली ओराली चढ्दै गोरुसिंगे देखि दाङतर्फ लाग्ने बस लिएं । अंध्यारोले उकाली चढ्दै थियो, उज्यालो विस्तारै विस्तारै उकाली चढ्दै थियो । पूर्ण चन्द्रमाको रात र बाटोको प्रकाशले मलाई अंध्यारोको कुनै महशुस भएको थिएन ।

५५ किलोमिटर झर्दा उज्यालोको कुनै आभास थिएन । बाबासंग केवल एकपटक मात्रै आएको थिएं तर थाहा थिएन कुन बाटो समाउंदा हाम्रो जग्गा तथा नातेदार भएको ठाउंमा पुग्छु भनेर । रात दिन, उज्यालो अंध्यारो, दुःख सुःख, मर्न बांच्न, माया विछोड सबै चीजमा रमाउने बानी लागेको बाटो बिर्सेर अनकन्टार जंगल जहां जनावरहरु समेत आफ्नो सपनामा रमाइरहेका थिए । हिंड्दा हिंड्दा सुन्ने गर्थे कतै जिन्दगीमा गल्ती गरेमा नरक जांदा त्यस्तै हुन्छ रे भनेर । मलाई न त बाबा आमाको डर थियो, न त साथीभाइको । न त कुनै बाघ भालु जसले केही दिन नपाएको आहार मलाई बनाउंछ भनेर । पूर्ण चन्द्रमाको त्यो रात मलाई नरकको यात्रा नभएर स्वर्गको यात्राको पहिलो दिन निकै रमाएको अनुभव भएको थियो ।

कता कता राक्षसले गल्ती गरेका मानिसहरुलाई तेलमा तताएर जिउंदै राम्रा राम्रा परिकार बनाउन लागे जस्तो लागेको आवाज एउटा नदीमा पुगिएछ । न त एउटा जनावर, चरा चुरुङगी भेटेको त्यो लामो यात्रामा विचरा एउटा छटपटाइ रहेको चरी, चीलले टिप्न नसकेर पखेंटामा ठूलो चोट लागेर न त उड्न सक्छ, न त हिंड्न । कता कता लाग्यो मेरो जिन्दगीको सहारा त बन्न सक्दैन भनेर । एउटा बाटो बिराएको यात्री, छटपटाइरहेको चरीसंग भेट गर्दा कतै स्वर्गमा भएको अनुभव गर्दै थियो ।

गहभरी आंसु लिएर न त डांको छाडेर रुन सक्छ ताकि अरु जनावरले उसलाई पनि शिकार बनाउन सक्छ भनेर, न त आफ्नो वेदना पोख्ने सहरानै पाएको साथी भेटेर दुःख सुःख मेटाउन । केही समयदेखि छटपटाइरहेको चरीको आफ्नो जीवनयापनमा आफूलाई पनि समेटेर म त न हराएको महशुस गर्दैै थिएं न त परिवार सम्झेर जाने जिन्दगीको यात्रा । संसारनै भुल्ने गरि म त त्यो चरीको मायामा हराइरहेको थिएं । कहिले नजिकै बगिरहेको नदीमा डुबुल्की खेलेर त कहिले उसको वासस्थानमा, त कहिले रुखको 
ओडारीमा ।

हामी दुबै एक अर्काको वेदना बिर्सेर यसरी रमाइरहेका थियौं कि लाग्थ्यो स्वर्गमा हामीभन्दा अरु कुनै सुखी छैन् । उसका सुकिला शरीरका अंगहरुमा स्पर्श गर्दा, पानीमा डुबुल्की मार्दा, पखेटामा चोट भएको सुन्दर चरीलाई विस्तारै विस्तारै पानीमा डुबुल्की मार्न सिकाउंदा कतै सपना त कतै विपना जस्तो लाग्थ्यो । त्यो उज्यालो रातमा उसको उज्यालो मुहारले पुरै जंगलनै उज्यालो भएको आभास भएको थियो मलाई । उसका छातीमा उस्काएका साना अंगहरु, उसका जीउडालमा पुरै हराएको यो मन र उसको उड्न नसक्ने (पखेटामा चोट लागेको) त्यो हाम्रो रात जिन्दगीको सबैभन्दा सुन्दर र रमणीय थियो । न त हामीलाई भोक नै थियो, न त निन्द्रा । केवल हामी एक अर्कामा हराइरहेका थियौं । गर्मी महिनाको त्यो रात न त हामीलाई गर्मीको अनुभव । उसका ती सुन्दर ओठमा ओठ जोड्दा विस्तारै विस्तारै उसका अंगमा मेरा अंगहरु जोड्दा हामी यति आनन्दित थियौं कि संसारमा त्यति आनन्द अरु कसैले लिएको थिएन । सायद उसले पखेटाको चोट बिर्सिसकेको थियो, न उसलाई पीडा न वेदनाको अनुभव ।

विस्तारै रात बित्दै थियो, बिहानीको मिर्मिरे नजिकिंदै थियो । हामी दुवै कहिल्यै उज्यालो नभइदिए हुन्थ्यो भन्दै थियौं । जंगलमा जनावरहरु आफ्नो यात्राको तयारी गर्दै थिए । विस्तारै विस्तारै आकाश रातो भइरहेको थियो, कतै हामीलाई छुट्याउन यो भइरहेको त होइन भन्ने आभास हुन्थ्यो । बिहानीको उज्यालोसंगै न त उसको पखेटामा चोटको अनुभव थियो न त मलाई बाटो बिराएको यात्राकै । म संगैको त्यो रात, त्यो बसाइ, त्यो स्पर्श, त्यो मायां, त्यो रेखदेखले उज्यालो हुंदा उसको पखेटा विल्कुलै निको भयो । उसले बिर्सिसकेको थियो कि सांच्चिकै उसको पखेटामा चोट थियो भनेर । उसको यात्रा अर्कै थियो मेरो अर्कै । बिहानीको मिर्मिरेसंग गहभरि आंसु लिएर गहिरो चुम्बन र अंकमालसंगै उ विस्तारै आकासियो र म हराइरहेको आफ्नो बाटो लागें रुंदै रुंदै रुंदै ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक