युकेमा इलाम प्रतिबिम्बित इलामे भेला

 

isuk

लन्डन ।बेलायती भूमिलाई कर्मभूमि बनाएर बेलायतमा रहंदै आएका इलामबासीहरुको वृहत भेला ३० जुलाईमा स्यान्डहर्स्टस्थित कम्युनिटी हलमा सम्पन्न भएको छ ।

इलाम समाज बेलायतले यसप्रकारको वृहत कार्यक्रम सन २००९ मा औपचारिक रुपमा संस्था गठन भएयता हरेक वर्षको गृष्म ऋतुमा आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा बेलायतको विभिन्न स्थानमा रहंदै आएका झन्डै ३०० इलामेहरुको जमघट थियो भने प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास लण्डनबाट प्रतिनिधित्व गरी तेजेन्द्र रेग्मी हुनुहुन्थ्यो । धनकुटा समाज बेलायतका अध्यक्ष अम्बर राना, तेह्रथुम समाज बेलायतका अध्यक्ष छत्रसिंह लिम्बु, ताप्लेजुङ् समाज बेलायतका महासचिव रत्न लाबुङ, रेडियो बि जि डब्लु एसका प्रबन्ध निर्देशक सोनम सेर्पाको पनि कार्यक्रममा उपस्थिति थियो ।

कार्यक्रममा इलाम समाज बेलायतको प्रतिनिधित्व गर्दै उल्लेखनीय कार्य गर्ने विशेष ब्यक्तित्वहरुलाई कदरपत्र र सम्मान गरियो जसअनुसार सन २०१५ र २०१६ मा उच्च श्रेणीमा सफलता हासिल गर्ने गोपाल गिरी अनि श्रीमती संगीता गिरीकी सुपुत्री सुश्री प्रियाशिका गिरी, पूर्ण राई एवं श्रीमती उर्मिला राईको सुपुत्र चरण राई (हेली), देशमान राई र श्रीमती माया राईको सुपुत्र दर्पण राईलाई प्रमुख अतिथि तेजेन्द्र रेग्मीद्वारा कदरपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बेलायतमा रहंदै आएका इलामे ज्येष्ठ नागरिक तेजबहादुर लिम्बुलाई खादा ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी सूर्य राईलाई मेजर पदमा पदोन्नति भइ हाल डेपुटी चिफ अफ स्टाफको कार्यभार सम्हालिरहेकामा समाजका अध्यक्ष कमल राईले खादा ओढाई सम्मान गर्दै संस्थाको तर्फबाट शुभकामना ब्यक्त गरे ।

यसैगरी यसवर्ष बेलायतबासी नेपालीहरुको पहिचानको रुपमा आयोजना हुने गोर्खा कप फुटबल प्रतियोगिता अनि भिसी कप फुटबल प्रतियोगितामा दोहोरो उप विजेता भएकोमा संस्थाका खेलकुद प्रतिनिधि उमाकान्त गुरुङ अनि सम्पूर्ण खेलाडीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै खादा ओढाएर सम्मान गरिएको थियो ।
यसैक्रममा संस्थाका सल्लाहकार गजेन्द्र कटुवाल र विशिष्ट सदस्य सुमित्रा लाबुङ राईलाई संस्थाको प्रतिनिधित्व गर्दै इलाम जिल्लामा रहंदै आएका कलाकार मान बहादुर राईको उपचारार्थ सहयोग रकम संकलन कार्य साथै माई भ्याली गोल्ड कप प्रतियोगिताको निम्ति आर्थिक रकम संकलन गर्दै कर्मभूमि र जन्मभूमिको सम्बन्धलाई प्रगाढ राख्ने सुखद कार्यको कदर गर्दै संस्थाका अध्यक्ष राईले खादा ओढाएर सम्मान गरेका थिए । उसो त समाज संस्था गठन भएयता जिल्लाब्यापी रुपमा भूकम्पबाट क्षतिग्रस्त स्कुलको निम्ति राहत, नयाँबजारमा सन् २०१५ सालमा भएको आगलागी पीडितको निम्ति राहत स्वरुप आर्थिक सहयोग, गोदकको माई खोलामा अवस्थित वृद्धाश्रमको निम्ति भौतिक सहयोग, जिल्लाका ४९ वटै गाबिसको निम्ति एक एक थान स्ट्रेचर सहयोग वितरणजस्ता धेरै नै उल्लेखनीय कार्यहरु गरिसकेको छ र भविष्यमा पनि यस्तै महत्वपूर्ण कार्य गर्ने योजना बनाइसकेको छ ।

औपचारिक कार्यक्रमकै क्रममा दूतावासका अट्याची तेजेन्द्र रेग्मीले इलाम समाज बेलायतको आतिथ्यताको निम्ति हार्दिक धन्यबाद ब्यक्त गर्दै भविष्यमा संस्थालाई अझै सफलता मिलोस भन्ने शुभकामना दिए । संस्थाका अध्यक्ष राईले सम्पूर्ण अतिथि एवं सदस्यहरुलाई कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निभाएकोमा धन्यवाद ब्यक्त गरे ।

यस औपचारिक कार्यक्रम पश्चात खाना र पेयमा रम्दै उपस्थित सबैले इलामे कलाकारहरुले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमको भरपूर मनोरन्जन लिएका थिए । जसमा स्थानिय गायक उमाकान्त गुरुङ, किशोर मुखिया, गायिका टिका राई, गायक, संगीतकार चोक गुरुङ र वरिष्ठ संगीतकार मुकेश गजमेरको आकर्षक प्रस्तुति थियो ।

यस वर्षको जमघटमा मुख्य आकर्षणको रुपमा संस्थाको लोगो अंकित आइ लभ इलाम लेखिएको टिसर्ट विमोचन गरी भईपरी आउने घट्नाहरुमा आकस्मिक आर्थिक सहयोग कोषमा जम्मा गर्ने हेतुले बिक्री बितरण गरिएको थियो । कार्यक्रममा अल्डरसटस्थित गोर्खा भिल्ला रेस्टुरेन्टले खाना उपलब्ध गराएको थियो । वालवालिकाहरु बाउन्सी क्यासलमा उफ्रिएर खेल्न पाउँदा खुबै रमाएका देखिन्थे ।

दिउँसो करिब १२ बजे शुरु भएको यस कार्यक्रम अपरान्ह २ बजे सम्पूर्ण अतिथिहरुको उपस्थितिपश्चात संस्थाका उपाध्यक्ष गोपाल गिरीले सुरक्षा ब्यवस्था र विबिध जानकारी गराए पश्चात संस्थाका महासचिव मुकेश राईले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री