गल्काेट समाज यूकेकाे साधारणसभा

कार्यवाहक राजदूत शरदराज आरन, तस्विरः बीरेन्द्र श्रेष्ठ

कार्यवाहक राजदूत शरदराज आरन, तस्विरः बीरेन्द्र श्रेष्ठ

लन्डन । नेपालभित्रको सानो नेपाल भनेर चिनिने बाग्लुङ जिल्लाको मध्यभागमा अवस्थित १६ गाविसहरुको क्षेत्र गल्कोटदेखि संयुक्त अधिराज्य बेलायतमा आई विभिन्न पेशामा संलग्न रहेका गल्कोटेहरुको गल्कोट समाज यूके गठन भएको छ ।

जन्मभूमिको विकास र समृद्धि तथा एकापसमा एकता र भ्रातृत्वको विकास गर्ने उद्देश्यले प्रेरित भइ गत जुलाई २६ तारिखका दिन प्रथम साधारण सभा सम्पन्न गरी वैधानिकरुपमा संगठित भएका हुन् ।

वेस्ट ब्रोमिचस्थित द कन्फेरेन्स सुइटमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा विभिन्न संघसंस्थाबाट आएका पर्यवेक्षकहरुको उपस्थितिमा समाजको साधारणसभा सम्पन्न गरी कार्यसमिति चयन गरिएको थियो भने दोश्रो चरणमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम भएको थियो ।

साधारणसभाले तदर्थ समितिका अध्यक्ष रेसमबहादुर बुढाथोकीकै नेतृत्वमा ३१ सदस्यीय कार्यकारी समिति निर्विरोध चयन गरेको घोषणा निर्वाचन मण्डलका संयोजक तथा हेल्प बिहुँकोट नेटवर्कका अध्यक्ष दयानिधि सापकोटाले गरेका थिए । कार्यसमितिको उपाध्यक्षहरुमा इस्ट मिडल्याण्डबाट राजु कँडेल र बिष्णु चालिसे, वेस्ट मिडल्याण्डबाट गंगा गौतम र सुरेश भण्डारी, लण्डनबाट प्रेम गैरे, ग्लास्गोबाट शशी चालिसे, सचिवमा पुष्पदत्त उप्रेती, सह सचिवमा कृष्णप्रसाद खरेल, कोषाध्यक्षमा धन बुढाथोकी, सह कोषाध्यक्ष भरत खत्री र सदस्यहरुमा एडिनबर्गबाट गोविन्दराम कँडेल र धनबहादुर केसी, ग्लास्गोबाट खिमलाल गैरे र डिलाराम गैरे, वेस्ट मिडल्याण्डबाट दिपा साहनी, लक्ष्मी गैरे खरेल, तुलक रेग्मी, चन्द्र साहनी र तेज खत्री, पिटरबरोबाट दल बुढाथोकी, लन्डनबाट भोजराज कँडेल, अल्डरसटबाट भिम पुन, वीन्चेस्टरबाट हरि घर्ती, डार्बिबाट याम मल्ल, नोटिङघमबाट डिलाराम गौतम, लिभरपुलबाट भोजन शेरचन, वेल्सबाट भीम श्रीस चयन भएका छन् भने बाँकी तीन सदस्यहरु पछि पदपूर्ति गरिने बताइएको छ ।

साँस्कृतिक कार्यक्रम औपचारिक र अनौपचारिक गरी दुई भागमा गरिएको थियो। नेपाली राजदूताबास लण्डनका कार्यवाहक राजदूत शरदराज आरन प्रमुख अतिथि रहेको औपचारिक कार्यक्रम समाजका अध्यक्ष रेसम बहादुर बुढाथोकीको अध्यक्षतामा सचिव पुष्प उप्रेतीले सञ्चालन गरेका थिए । कार्यक्रमको उद्घाटन नेपाली राष्ट्रिय धुन गुन्जेपश्चात प्रमुख अतिथि र अध्यक्षले संयुक्त रुपमा पानसमा दीयो प्रज्वलन गरी गरेका थिए । उपस्थित अतिथिहरुलाई गल्कोट समाज यूकेका उपाध्यक्ष बिष्णु चालिसेले स्वागत मन्तब्य, स्थानीय कलाकार श्रेया खरेलले नेपालकी छोरी हुँ म बोलको गीत तथा समाजको तर्फबाट दीयो क्लब यूकेको नौमती बाजा टोलीले नगरा बजाई स्वागत गरिएको थियो ।

कार्यक्रममा पर्यटकीय सम्भावना बोकेका गल्कोटका विभिन्न ठाउँका तस्विरहरु, साँस्कृतिक तथा प्राकृतिक श्रोतहरु आदि बारेमा काँचका पर्दामा देखाइएको थियो । आफ्नो मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि कार्यवहाक राजदूत आरनले समाजलाई शुभकामना दिँदै काँचको पर्दामा देखाइएका दृश्यहरुबाटै पनि गल्कोटमा प्रशस्त प्राकृतिक श्रोतहरु रहेको र पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक ठाउँ भएको कुरा आफूले बुझेको उल्लेख गरे । उनले राजदूतावासको तर्फबाट गल्कोटको विकास र समृद्धिका लागि गल्कोट समाज यूकेलाई आवश्यक सहयोग गर्ने आश्वासन दिए ।

त्यसैगरी विशेष अतिथि गल्कोट समाज जापानका अध्यक्ष हर्कबहादुर थापा तथा अतिथिहरु हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्डका अध्यक्ष कृष्ण शर्मा, शान्ति नेपाली समाजका अध्यक्ष काशी शर्मा, हेल्प बिहुँकोट नेटवर्कका अध्यक्ष दयानिधि सापकोटा, बाग्लुङ समाजका अध्यक्ष दीपक काउचा, साझा नेपाली समाजका अध्यक्ष रणबहादुर केसी, नेपाल ब्रिटेन डट कम का प्रबन्धक साथै भण्डारी ब्रदर्सका कमल भण्डारी, समाजसेवी शंकर भण्डारी, चाल्टर्न नेपाली समाजका टंक कँडेलले आफ्नो मन्तब्य राख्दै समाजको नयाँ समितिलाई शुभकामना दिएका थिए ।। त्यसैगरी नेपाल टुरिजम बोर्डका मानार्थ सदस्य सोमनाथ सापकोटा (डेनमार्क), म्याग्दी समाज यूके, गुल्मी समाज यूके, ग्लास्गो नेपलिज एसोसिएसन, गोर्खा नेपलिज कम्युनिटी पिटरबरो र टुकी नेप्लिज युथ क्लब लेस्टरबाट कार्यक्रमको सफलताको कामना गर्दै निर्वाचित हुने कार्यसमितिलाई अग्रिम शुभकामना सन्देश पठाएका थिए । कार्यक्रममा स्थानीय कलाकारहरु जस्मिन रोका, दिप्ती सापकोटा, जानकी गैरे, समिर सापकोटा, निशान भण्डारी र तसलिना बस्नेतले आफ्नो प्रस्तुति देखाएका थिए ।

प्रमुख अतिथि कार्यवाहक राजदूत आरनले पानको पात भाकामा गीत गाइ नौमती बाजामा नाचेका थिए । प्रमुख अतिथिको बिदाई गर्दै समाजको तर्फबाट अध्यक्षले प्रमुख अतिथिलाइ चिनो स्वरूप गल्कोट दरवारको तस्विर प्रदान गरेका थिए ।
समाजका अध्यक्षले समाजको कार्यक्रमलाई प्रायोजन गर्ने प्रायोजकहरु तथा कलाकारहरुलाई प्रमाण पत्र हस्तान्तरण गरी कार्यक्रम सफल पार्न सहयोग गर्ने तदर्थ समितिका सदस्यहरु, स्वयसेवकहरु, प्रायोजकहरु, कलाकारहरु तथा प्रत्यक्ष परोक्ष लागि पर्ने सम्पूर्ण सहयोगीहरुलाइ धन्यवाद ज्ञापन गरी औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

समाजका उपाध्यक्ष गंगा गौतमद्वारा सञ्चालित अनौपचारिक कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरु थानेश्वर गौतम, जुना श्रीस मगर र राधिका हमालको साथमा दियो क्लव यूकेको नौमती बाजा र चाँद म्युजिकको डिजेको धमाकेदार प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री