‘ब्रेक्जिट’ पछिको परिवर्तित बेलायत

EU-vote1

लन्डन । “राष्ट्रलाई एकीकृत र सुशासन दिने जिम्मेवारीबाहेक राजनीति अरु केही होइन ।” नयाँ राजनीतिक परिघटनाबीच नवनियुक्त बेलायती प्रधानमन्त्री टेरेसा मेका अभिव्यक्तिमा उहाँका भावी चुनौतीलाई बुझ्न कठिन पर्दैन । हालैको जनमत सङ्ग्रहको परिणामबाट बेलायतले युरोपेली संघ (इयू) छोड्ने मतादेशसँगै प्रधानमन्त्री डेभिड क्यामरुनले नैतिकताका आधारमा राजीनामा दिएपछि सोही सरकारका गृहमन्त्री मे नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

मेका भावी कदम र यात्रालाई विश्वले अब नजिकबाट हेर्न थालेको छ । क्यामरुन सरकारको मन्त्रिमण्डलका २२ सदस्यमध्ये १८ जना इयूसँग बेलायत आबद्ध रहिरहनुपर्ने पक्षमा हुनुहुन्थ्यो । टेरेसासहित चार सदस्य इयूबाट बेलायत अलग हुनुपर्ने मतमा थिए । तर टेरेसा दुवै अभियानलाई सहजीकरण गर्न खोज्ने नेत्री पनि मानिनुहुन्छ । जनमत सङ्ग्रहमा ५१ प्रतिशत मतदाताले इयूबाट अलग हुन जनादेश दिएको थिए ।

संयुक्त अधिराज्य बेलायत आवधिक निर्वाचनबाट नयाँ सरकार बनेको अवस्थामा भएको भए सम्भवतः टेरेसाको यति धेरै चर्चा हुने थिएन । युरोपका अन्य मुलुक र संसारका विकासशील तथा विकासोन्मुख मुलुकलाई पनि प्रभावित पार्ने जनमत सङ्ग्रहपछिको नयाँ सरकारलाई त्यही रुपमा हेरिनु स्वाभाविक हो । त्यसैले त उहाँ भन्नुहुन्छ – “हामी साहसी हुनुपर्छ । मुलुकको भविष्यका लागि नयाँ र सकारात्मक सोचयुक्त हुनुपर्छ । त्यस्तो मुलुक जहाँ व्यक्तिगत सुविधाका लागि मात्र होइन सबै र हाम्रा लागि हामीले काम गर्नुपर्नेछ ।”

बेलायती महारानी एलिजावेथले यही १३ जुलाई, २०१६ मा प्रधानमन्त्रीमा नियुक्त मे पाँच वर्षदेखि त्यहाँको पूर्व गृहमन्त्री हुनुहुन्थ्यो । बेलायतमा यो पदलाई होम सेक्रेटरी भनिन्छ, जसले मन्त्रिपरिषद्को सदस्यका रुपमा काम गर्छ । लेबर पार्टीको प्रतिस्पर्धी आन्द्रिया लिड्समले दाबीबाट आफ्नो नाम फिर्ता लिएपछि मे दलको नेतामा निर्विरोध चयन हुँदै प्रधानमन्त्री बन्न सफल हुनुभएको हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विश्वका नेताबाट टेरेसालाई बधाई दिने लहर पनि सुरु भएको छ ।

नेपालमा झैँ ५१ प्रतिशत महिला जनसङ्ख्या भएको बेलायतमा ५९ वर्षीया मे त्यहाँकी ‘आइरन लेडी’ मानिने मार्गरेट थ्याचरपछि कन्जरभेटिभ पार्टीको नेताको रुपमा त्यहाँको सरकारको नेतृत्व गर्ने दोस्रो महिला हुनुुहुन्छ । इङ्ल्याण्डको एक बैंकबाट सन् १९८३ मा जागिरे जीवन प्रारम्भ गरेकी मेले सन् १९८५ मा एसोसिएसन फर पेमेन्ट क्लियरिङ सेवामा प्रवेश गर्नुभएको हो । त्यहाँ उहाँले परामर्शदाताका रुपमा काम गर्नुभयो । त्यो संस्थाले लण्डन बरोग अफ मार्टेन्समा पनि परामर्श दिन्थ्यो ।

त्यसपछि उहाँको सक्रियता राजनीतिक यात्रा सुरु भएको देखिन्छ । उहाँले हाउस अफ कमन्समा निर्वाचित हुनका लागि सन् १९९२ र १९९४ मा प्रयास गर्दा असफल हुनुभयो । पछि सन् १९९७ को आम निर्वाचनमा मैडेन्हेडका लागि सांसद हुनुभयो । उहाँले छायाँ सरकारको मन्त्रिमण्डलमा रहेर विभिन्न भूमिका निर्वाह गर्नुभयो । त्यस क्रममा उहाँले विभिन्न पाँच प्रधानमन्त्रीका पालामा पार्टीका तर्फबाट छायाँमन्त्री बन्ने अवसर पाउनुभयो । टेरेसा सन् २००२ मा पार्टीको अध्यक्ष पनि हुनुभयो ।

गत जुन २४ मा प्रधानमन्त्रीबाट क्यामरुनले राजीनामा दिएपछि मेले कन्जरभेटिभ पार्टीको संसदीय दलको नेता दाबीगर्दै तत्कालै दौडमा अग्रणी देखिनुभयो । उहाँ पार्टीको प्रधानमन्त्रीका प्रतिस्पर्धी आन्द्रियालाई पहिलो चरणको आन्तरिक निर्वाचनमै भारी मतले विजयी हुनुभयो । जहाँ उहाँलाई १९९ सांसदले साथ दिएका थिए । त्यसपछिको पार्टी सदस्यबीचको निर्वाचनमा आन्द्रियाले उम्मेदवारी फर्ता गरेपछि मे निर्विरोध हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री