लन्डन आइपुगे नेपाली क्रिकेटर

Cricketers in London

तस्विरः बीरेन्द्र श्रेष्ठ

लन्डन । एउटा ऐतिहासिक ठानिएको खेलका लागि नेपाली क्रिकेट खेलाडी सोमबार सांझ लन्डन उत्रिएका छन् । अध्यागमन जांचले 
करिब अढाइ घण्टा रोकिएर स्थानीय समयानुसार राती ९ बजे हिथ्रो विमानस्थलको टर्मिनल फोर उत्रंदा खेलाडीलाई नेपाली दूतावास प्रतिनिधि र अन्य शुभचिन्तकले स्वागत गरे । लामो हवाइ यात्राले थकित खेलाडी ओर्लिए लगत्तै रात्रीभोजका लागि भेन्यू फाइभ रेष्टुरेन्ट पुगे जसको प्रायोजन एनआरएनए यूके आइसीसी सदस्य कृष्ण तिमल्सिनाले गरेका थिए ।

कप्तान पारस खड्कासहित १५ खेलाडी, प्रशिक्षक जगत टमाटा र अन्य अफिसियल लन्डन आएका हुन् । नेपाली खेलाडीले यही जुलाई १९ तारिख बिहान लन्डनस्थित विश्वविख्यात लर्डस क्रिकेट मैदानमा पहिलो पटक एमसीसी (मार्लेबोन क्रिकेट क्लव) संग मैत्रीपूर्ण खेल खेल्दैछन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा नेपाली खेलाडीलाई उक्त ऐतिहासिक खेलको अवसर मिलेको हो ।

Paras London

‘हामीले लर्डसमा खेल्न पाउनुलाई ठूलो अवसरका रुपमा लिएका छौं’, कप्तान खड्काले लन्डन ओर्लिएपछि कान्तिपुरसंग भने, ‘लर्डसमा खेल्छु भनेर सजिलै खेल्न सकिने ठाउं पनि होइन । यस्तो प्लेटफर्मबाट विश्वसामु नेपाललाई चिनाउने फेरि ठूलो अवसर आएको छ । हामी आत्मविश्वासका साथ खेल्ने छौं ।’

खड्काले करिब महिना दिनको प्रशिक्षणले गर्दा पनि सन् १७८७ मा स्थापित विश्वकै प्रख्यात क्रिकेट क्लब एमसीसीसंग खेल्न आत्मबल बढेको सुनाए । ‘हामीलाई बेलायतवासी नेपाली समुदायको साथ समर्थनले थप उत्साहित बनाएको छ’, पारसले भने, ‘उहांहरुलाई खुशी तुल्याउनुपर्ने दायित्व समेत हामीमाथि छ ।’

पारस एमसीसी र लर्डस क्रिकेट ग्राउण्डसंग विगत देखि नै परिचित हुन् । कारण, सन् २०१५ मार्चमा पारसले एमसीसीमा आवद्ध भएर दुबईमा खेलिसकेका छन् भने गत नोभेम्बरमा एमसीसी नेपाल गएर खेलेको थियो । सन् २०१४ मा पारस लन्डन आउंदा उनले एमसीसी हेड अफ क्रिकेट जोन स्टेफेन्सन र इङल्याण्ड क्रिकेट बोर्ड आवद्ध पूर्व कप्तान माइक ग्याटिङसंग भेट गरि नेपालको क्रिकेट विकासबारे छलफल गरेका थिए ।

लन्डन उत्रिए देखि नै नेपाली खेलाडीको व्यस्त कार्यक्रम छ । १२ तारिख मंगलबार नेपाली दूतावासले दिने रिसेप्सनपछि नेपाली खेलाडी १३ तारिखका दिन जिमखाना क्रिकेट क्लव, ओस्टर्लीमा प्रशिक्षणमा व्यस्त हुनेछन् र त्यही दिन बिहान साढे दश देखि सांझ ५ बजेसम्म फ्रि फरेस्टरसंग ४० ओभरको म्याच खेल्ने कार्यक्रम छ ।

त्यसैगरि, १४ जुलाइ अपरान्ह साढे ४ देखि सांढे ७ बजेसम्म जिमखानासंग टि ट्वान्टी खेल हुनेछ । नेपाली टिमले १५ जुलाइ बिहान देखि स्ट्यानमोर क्रिकेट क्लवसंग ५० ओभरको म्याच खेल्ने तालिका छ । खेलाडीहरु १६ तारिख विश्राम लिएर १७ जुलाईमा इष्टबोर्न क्रिकेट क्लवसंग ५० ओभरको म्याच खेल्नेछन् । १८ तारिखमा भने लर्डसमा अभ्यास गर्ने कार्यक्रम छ ।
२० तारिख रिसेप्सनमा सहभागी भएपछि खेलाडीहरु २१ तारिख लन्डनबाट प्रस्थान गर्ने जनाइएको छ । इकान्तिपुर

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री