असारमा धान रोप्न गाउँमा छैनन् युवा

विदेश जान राहदानी लिन युवाहरुको भीड । फाइल तस्विर

विदेश जान राहदानी लिन युवाहरुको भीड । फाइल तस्विर

म्याग्दी, १८ असार । मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा चिनिने असारमा म्याग्दीका कृषक धान रोपाइँमा व्यस्त छन् ।

कृषकलाई कामको चटारो परिरहँदा गाउँमा काम गर्ने युवा जनशक्तिको अभाव भएर खेती लगाउनै समस्या देखिन थालेको छ । वैदेशिक रोजगारको आकर्षणले युवा जमात विदेश पलायन हुँदा गाउँ युवाविहीन बनेको कारण असारको हिलोमा धान रोपाइँ गर्न महिला, बालबालिका र वृद्धवृद्धा जानुपर्ने बाध्यता बढेको छ ।

स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा युवा दिनदिनै विदेश पलायन हुन बाध्य छन् । राजनीतिक अस्थिरताका कारण देशभित्र रोजगारीका अवसर सहज नहुँदा यस जिल्लाबाट हरेक वर्ष बिदेसिनेको सङ्ख्या बढिरहेको छ र फलस्वरुप गाउँका खेतीयोग्य जमिन बाँझिन थालेका छन् ।

युवाशक्ति विदेश पलायन हुँदा गाउँमा रहेका स्रोत र साधन परिचालन नहुने मात्र हैन खेतीयोग्य जमिनसमेत बाँझो रहने क्रम बढेको बेनी नगरपालिका–११ पुलाचौरका दलकेशर बानियाँले बताउनुभयो । “युवाशक्ति समाज र राष्ट्रकै महत्वपूर्ण शक्ति हुन् तर, स्वदेशमा रोजगारीका अवसर नपाउँदा यो शक्ति दिनहुँ विदेश पलायन हुन बाध्य छन्, गाउँ लगभग युवाविहीन हुन पुगेका छन्, खेती गर्ने जनशक्तिको अभावले गाउँका खेतबारी समेत वनमाराले ढाकेको छ,” बानियाँले भन्नुभयो ।

एक नगरपालिकासहित ३५ गाविस रहेको यस जिल्लाका एक तिहाइभन्दा बढी घरका कम्तीमा एक जना वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा रहेको पाइन्छ । अहिले रोजगारीमा प्रवासमा रहेकाले कमाएर पठाएको विप्रेषणले नै सर्वसाधारणकोे गुजारा चलेको छ । पछिल्लो समय अध्ययनका लागि विभिन्न मुलुकमा जाने क्रम बढे पनि अधिकांश बिदेसिनुको कारण भने रोजगारी नै हो । दुई वर्षदेखि अमर मावि पाखपानीमा अध्यापन गराइरहेका शिक्षक ओम थापाले एसएलसी र दश जोड दुई अध्ययन गरेका अधिकांश विद्यार्थीको रोजाइ विदेश जाने नै हुने गरेको बताउनुभयो ।

“स्वदेशमै केही गरेर बसेका न्यून छन्, गाउँमा बालबालिका र वृद्धवृद्धाले काम गरेर बसेका छन्, स्वदेशमै रोजगारीका अवसर सिर्जना नहुँदा युवालाई गाउँमा देख्नै मुस्किल पर्छ,” शिक्षक थापाले भन्नुभयो । एकपछि अर्को गर्दै गाउँका युवा बिदेसिने क्रमले गाउँ युवाविहीन भएर सामाजिक, आर्थिक र उत्पादनशील क्षेत्रमा प्रत्यक्ष असर पुगेको जिल्लाको दुर्गम गुर्जा गाविसका सामाजिक परिचालक समेत रहेका झकबहादुर छन्त्याल बताउनुहुन्छ ।

“काम र श्रम गर्न सक्ने जति सबै युवाशक्ति विदेश पलायन हुनु दुर्भाग्य हो, गाउँमा स्कुल पढ्ने बालबालिका र बूढापाका मात्रै छन्, खेती किसानी गर्ने प्रचलन हराउँदै जाँदा परनिर्भरता समेत बढेको छ,” छन्त्यालले थप्नुभयो । उहाँका अनुसार, पछिल्लो समय ग्रामीण भेगमा खेती किसानी गर्ने क्रम हराउँदै जाँदा खाद्यान्नको आयात समेत बढेको छ । गरिखाने उमेरका सबै बिदेसिँदा स्थानीय स्तरमा रहेका सम्भावनासमेत त्यसै हराएर जाने र समस्या झन बढ्ने गरेको छ ।

जनजाति समुदायको बाहुल्यता रहेको यस जिल्लामा रोजगारीका लागि बिदेसिने क्रम पहिलेदेखि नै चल्दै आएको पाइन्छ । पहिले बेलायत र भारतीय सैनिकमा भर्ती भएर जाने चलन भए पनि पछिल्लो समय साउदी अरब, कतार, दक्षिण कोरिया, जापानलगायतका देशमा बढी जाने गरेको देखिएको मल्कबाङका धनबहादुर छन्त्यालले बताउनुभयो ।

म्याग्दीबाट कति युवा बिदेसिएका छन् भन्ने वास्तविक तथ्याङ्क नभेटिए पनि करिब २५ हजारभन्दा बढी युवायुवती अध्ययन र रोजगारीको सिलसिलामा विदेश गएको अनुमान गरिएको छ ।

स्वदेशमा सम्भावना नदेखेपछि दिन प्रतिदिन वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको सङ्ख्यामा समेत वृद्धि भएको देखिएको छ । जिल्लाबाट सरदर वार्षिक पाँच हजारको हाराहारीमा युवायुवतीले राहदानी बनाउने गरेका छन् । चालु आव २०७२, ७३ मा दुई हजार ८३९ जनाले साधारण र एक हजार ४६८ जनाले दु्रत सेवाअन्तर्गत राहदानी लिएर गएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो । रोजगारीसँगै अध्ययनका लागि जापान, अमेरिका, अस्टेलियालगायतका मुलुकमा जान भन्दै राहदानी बनाउन आउनेको सङ्ख्या पनि बढी देखिएको उहाँले बताउनुभयो ।

सहायक प्रजिअ आचार्यकै अनुसार, दश जोड दुई उत्तीर्ण गरेका धेरै युवायुवतीले रोजगारी र अध्ययनका लागि विदेश जान अनुमति लिन राहदानी बनाउने गरेका छन् । उनीहरुमध्ये धेरैले नागरिकता लिएपछि नै राहदानीका लागि समेत निवेदन दिने गरेको पाइन्छ । नागरिकता प्राप्त गर्नासाथ विदेश पलायन हुन राहदानी लिनेहरुको लर्र्कोले कृषिप्रति युवाको वितृष्णा झल्काउँछ ।

जिल्लाका युवा बिदेसिने क्रमले सर्वसाधारणको गुजारा मात्रै चलेको छैन जिल्लाको सामाजिक, मानवीय र विकास निर्माणका क्षेत्रमा समेत बर्सेनि लाखौँ रुपैयाँ भित्रने गरेको छ । यसरी विदेशबाट भित्रने विप्रेषणले सर्वसाधारणको आर्थिकस्तर सुधारमा समेत सहयोग भने पुरयाएको छ ।

यद्यपि, वैदेशिक रोजगारीबाट भित्रने विप्रेषणले तत्कालका लागि ठूलै उपलब्धि भएको र आर्थिक स्तर उकासिएको देखिए पनि समग्रमा आर्थिक, सामाजिक रुपमा नकरात्मक प्रभाव पार्ने म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक भोलानाथ घिमिरे बताउनुहुन्छ ।

अहिले राज्यले वैदेशिक रोजगारीको विकल्प स्वदेशमै देखाउन सकेको छैन । त्यसैले विदेशमा जानु गर्वको कुरा भएको छ । उनीहरुले कमाएको विप्रेषणले अधिकांशको घर खर्च धानेको छ ।

“श्रम गर्न सक्ने उमेरमा विदेसिने र नसक्ने उमेरमा स्वदेश फर्कनुपर्ने बाध्यताले दीर्घकालीन रुपमा आर्थिक, सामाजिक रुपमा असर पार्छ, त्यसैले आफ्नो पुँजीसँगै विप्रेषणबाट भित्रिएको पुँजीलाई समेत उत्पादनशील क्षेत्रमा लगानी गरी स्वदेशमै आत्मनिर्भरताको बाटो पहिचान गर्नुपर्छ,” उहाँले थप्नुभयो । मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने राज्यको नारालाई सार्थक बनाउन युवाशक्तिलाई स्वदेशमै रोक्न जरुरी छ ।

यसका लागि सरकारले युवालाई स्वरोजगारमूलक सीप र लगानीका लागि सहुलियतपूर्ण ऋण दिने प्रवन्ध गरेर स्वदेशमै काम गर्न सक्ने वातावरण बनाइदिन आवश्यक छ ।

जिल्लाका अधिकांश घरबाट वैदेशिक रोजगारीमा गएर गाउँघर युवाविहीन बनिरहेको अहिलेको अवस्थामा वर्तमान सरकारले ल्याएको ‘एक घर, एक रोजगारी’ को नीति जति सक्दो चाँडो लागू भइदिए युवा वर्गको मात्रै हैन, मुलुककै हितमा हुनेमा कुनै सन्देह छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री