तीन दल नमिलेसम्म राष्ट्रिय सहमति बन्न सक्दैनः प्रधानमन्त्री

राष्ट्रिय प्रजातन्त्र पार्टीको २७ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रममा सहभागी हुनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली तथा नेताहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस

राष्ट्रिय प्रजातन्त्र पार्टीको २७ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रममा सहभागी हुनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली तथा नेताहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई तत्काल कसैले डग्मगाउन नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको २७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा
प्रधानमन्त्री ओलीले भन्नुभयो, “२०७४ साल मङ्सिरमा चुनाव भएर आफ्नो पार्टीले बहुमत ल्याउँछ, अनि गठबन्धन सरकार निर्माणको शृङ्खला सकिन्छ ।”

संविधानसभाको दोस्रो निर्वाचनदेखि नै आफ्नो पार्टीले राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिँदै आएको घटना स्मरण गराउँदै उहाँले नेपाली काँग्रेसले लोकतन्त्रमा सहमतिका आधारमा होइन, प्रतिपक्षको भूमिका हुनुपर्छ भनेर जोड दिएकाले सहमति बन्न नसकेको बताउनुभयो ।

अनौठो र अनुपयुक्त ढङ्गबाट सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको प्रतिपक्षमा बस्ने निर्णयले सहमति नमान्ने र भत्काउने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आफूहरु सधैँ राष्ट्रिय सहमतिकै पक्षमा छौँ, प्रमुख तीन राजनीतिक दलबीच सहमति नभई राष्ट्रिय सहमतिको सरकार गठन हुन सक्दैन भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।”

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको अहिलेको आवश्यकता राष्ट्रिय एकता र राष्ट्रिय सहमति नै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको भन्दा पनि राष्ट्रिय सहमति बन्ने कि नबन्ने, संविधान लागू गर्ने, पुनःनिर्माण, मधेसमा उठेको मुद्दालगायतका विषयवस्तुलाई समाधान गर्ने कुरा बढी महत्वपूर्ण छन्, सरकारका बारेमा जति चासो हुने गरेको छ, त्योभन्दा बढी सञ्चारमाध्यमले राष्ट्रिय एकतामा चासो दिन आवश्यक छ ।”

राष्ट्रिय सहमति बन्यो भने मात्र सरकारको जिम्मेवारी लिने भन्ने कुरा भएको स्पष्ट गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “राष्ट्रिय सहमतिको सरकार गठनको सम्भावना छ, राष्ट्रिय एकता बन्ने कुरा महत्वपूर्ण छ ।”

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताको चहनाअनुरुप संविधानसभाबाट समावेशी र प्रगतिशील संविधान जारी भएकाले सबै राजनीतिक दल यसको कार्यान्वयनमा लाग्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “सरकार रहन्छ रहँदैन सरकारमा रहने दलहरु जानुन्, सरकार गठनप्रति होइन, व्यवस्था, प्रणाली र पद्धतिलाई कसरी कार्यान्वयन गर्दै जाने भन्नेप्रति चिन्तित छु, संविधान कार्यान्वयनकै प्रश्न महत्वपूर्ण हो ।”

उपप्रधानमन्त्री एवम राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारको अस्तित्वमाथि कुनै प्रश्न नै नउठेको बेला सरकार परिवर्तनको अनावश्यक रुपमा हल्ला चलाइएको भनी टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “समग्ररुपले बजेट सकारात्मक भए पनि पर्याप्त सरसल्लाह हुन नसक्दा केही कमीकमजोरी देखिएको छ, यद्यपि हामी नैतिक समर्थन गर्दछाँै, यो सरकार पनि राष्ट्रिय सहमतिकै सरकार हो । सरकारबारे तत्काल नयाँ ढङ्गबाट जानुपर्छजस्तो आवश्यक छैन ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्सेर राणाले प्रमुख सबै राजनीतिक दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठनमै सबैभन्दा पहिले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सत्ताघटक दलसँग केही सल्लाहै नगरी अत्यन्त तामझामका साथ घोषणा गरिएको बजेटमा राजस्व सङ्कलन, विकास खर्च कार्यान्वयन पाटो केही नभएको देखावटी मात्र हो ।”

समारोहमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका वरिष्ठ अधिकृत तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित एवम् राप्रपाका शुभचिन्तकहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री