पुनःनिर्माणमा एक खर्ब ४० अर्ब

व्यवस्थापिका–संसदको शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७३, ७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) व्यवस्थापिका संसदमा पेस गर्न लाग्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस

व्यवस्थापिका–संसदको शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७३, ७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) व्यवस्थापिका संसदमा पेस गर्न लाग्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस

काठमाडौँ, १५ जेठ । नेपाल सरकारले भूकम्पपछिको पुनःनिर्माण गर्न आगामी आर्थिक वर्षका लागि रु एक खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ ।

व्यवस्थापिका–संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आव २०७३÷७४ को राजस्व र व्ययको वार्षिक अनुमानमा पुनःनिर्माणलाई सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो ।

सामाजिक न्यायविरुद्ध रहेका गरिबी र पछौटेपनको विरुद्धमा अबको हाम्रो लडाइँ हुने बताउँदै उहाँले विकास र समृद्धिको पक्षमा रहने गरी बजेट कार्यान्वयनको लक्ष्य राखिएको उल्लेख गर्नुभयो ।

पूर्वबजेटको छलफलमा सांसदले दिएको सुझावलाई आत्मसात् गरेको बजेट निर्माण गरिएको बताउँदै अर्थमन्त्री पौडेलले सङ्घीयताको संरचना तयार गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

नेपालको संविधानअनुरुप सबै तहको निर्वाचन गरिने तथा स्थानीय निकायको राजनीतिक सहमति आगामी मङ्सिरमा गर्नसमेत बजेटको व्यवस्था मिलाइएको छ ।

सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण आगामी पाँच वर्षमा सम्पन्न गर्न बहुवर्षीय ठेक्का गर्ने भएको छ ।

त्यस्तै डोल्पा सदरमुकामलाई आगामी एक वर्षमा र हुम्ला सदरमुकामलाई आगामी दुई वर्षमा सडक सञ्जालले जोड्ने गरी काम अघि बढाइने बजेटमा उल्लेख छ ।

सरकारले हुलाकी राजमार्गलाई समयमै सम्पन्न गर्न यस आवमा रु सात अर्बको व्यवस्था गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत सुरुङ निर्माण कार्य आगामी आवमा सुरु गरिने र त्यसका लागि रु एक अर्ब ८६ करोड विनियोजन गरिएको छ । सबै सडकलाई सङ्घीय, प्रादेशिक र स्थानीय गरी वर्गीकरण गरिने बजेटमा उल्लेख छ । काठमाडौँमा मेट्रो रेल निर्माणका लागि सर्भेक्षण गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री