आर्थिक सर्वेक्षण ः कुल गार्हस्थ्य उत्पादन अत्यन्त न्यून

Picture-64

काठमाडौँ, १३ जेठ । सरकारले सदनसमक्ष आर्थिक वर्ष २०७२÷७३ को आर्थिक सर्वेक्षण आज प्रस्तुत गरेको छ ।

सर्वेक्षणअनुसार चालु आवमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ० दशमलव ७७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । गत वर्ष त्यस्तो वृद्धिदर २ दशमलव ३२ प्रतिशत थियो ।

कृषि क्षेत्रको वृद्धिमा कमी, भूकम्पको प्रभावबाट गैरकृषि क्षेत्रका गतिविधिमा अधिक प्रभाव र भारतसँगको सीमा क्षेत्रमा भएको अवरोध र आपूर्तिमा त्यसबाट उत्पन्न व्यवधानले आर्थिक वृद्धिदर नबढेको हो ।

चालु आवमा कृषि क्षेत्रको उत्पादन १ दशमलव ३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ भने गैरकृषि क्षेत्रको वृद्धि ० दशमलव ६ प्रतिशतले बढोत्तरी हुने प्रक्षेपण गरिएको छ ।

चालु आवमा उद्योग क्षेत्रको उत्पादनमा ६ दशमलव ३ प्रतिशतले कमी आयो भने सेवा क्षेत्रको उत्पादनमा २ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।

मुलुकको अर्थतन्त्रमा संरचनागत परिवर्तनसँगै कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान नगण्य रह्यो भने सेवा क्षेत्रको योगदान क्रमशः वृद्धि उन्मुख छ ।

त्यसैगरी कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दो क्रममा रहे पनि गैरकृषि क्षेत्रको योगदानमा भने वृद्धि हुँदै आएको छ ।

चालु आवमा कुल राजस्व परिचालन रु चार खर्ब ७५ अर्ब एक करोड रहने अनुमान गरिएकामा बितेका आठ महिनामा रु दुई खर्ब ३१ अर्ब सात करोडमात्र सङ्कलन भएको छ ।

यसैगरी, चालु आवमा वैदेशिक अनुदान रु एक खर्ब १० अर्ब ९२ करोड परिचालन हुने अनुमान गरिएकामा रु ११ अर्ब ५७ करोडमात्र परिचालन भएको छ । गत आवमा रु १४ अर्ब ३० करोड वैदेशिक अनुदान परिचालन भएको थियो ।

गत आवको तुलनामा चालु आवमा मूल्य वृद्धि अनपेक्षित रुपमा बढेको छ । चालु आवको फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्कको वृद्धिदर १० दशमलव ३ प्रतिशत रह्यो भने गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्कको वृद्धिदर १० दशमलव २ प्रतिशत रह्यो । गत आवको सोही अवधिमा ती समूहको मूल्य सूचकाङ्क क्रमशः ९ दशमलव ५ प्रतिशत र ४ दशमलव ९ प्रतिशत थियो ।

चालु आवको आठ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ८ दशमलव ४ प्रतिशतले बढेर रु १८ खर्ब ३० अर्ब ६२ करोड पुगेको छ भने सो अवधिमा ती संस्थाबाट रु १४ खर्ब ८२ अर्ब ९६ करोड कर्जा प्रवाह भइसकेको छ ।

त्यसैगरी, चालु आवको फागुनसम्ममा कुल बिमा शुल्क रु २५ अर्ब ७४ करोड आर्जन भएको र आवको अन्त्यसम्ममा त्यस्तो शुल्क रु ३८ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ ।

बितेका आठ महिनामा वस्तु आयात १३ दशमलव ९ प्रतिशतले घटेर रु चार खर्ब ३५ अर्ब ८० करोड बराबर रहन पुगेको छ । व्यापार घाटा १२ दशमलव ५ प्रतिशतले घटेको छ ।

त्यस्तै विगत आठ महिनामा समग्र शोधनान्तर स्थिति रु एक खर्ब ५८ अर्ब १८ करोडले बचतमा रहेको छ ।

त्यस्तै विप्रेषण आय १५ दशमलव २ प्रतिशतले बढेर रु चार खर्ब २७ अर्ब २७ करोड पुगेको छ । अघिल्लो आवमा विप्रेषण आयमा चार प्रतिशतले वृद्धि भएको थियो ।

चालु आवमा मुलुकको कुल खाद्यान्न उत्पादन (धान, गहुँ, मकै, कोदो, जौ र फापर) गत आवको तुलनामा छ प्रतिशतले घट्ने अनुमान गरिएको छ । मौसमी प्रतिकूलता, सीमा नाकामा भएको अवरोधले मल र इन्धन ढुवानी समयमै नहुँदा भूमिगत सिँचाइमा परेको प्रभावले अन्नबाली उत्पादन कम हुने प्रक्षेपण भएको हो ।

गत फागुनसम्ममा मुलुकमा छ हजार ३२८ वटा उद्योग दर्ता भएका र तिनमा रु १० खर्ब ८४ अर्ब लगानी भई पाँच लाख १२ हजार १५९ ले रोजगारी पाएका छन् ।

त्यसैगरी सोही अवधिमा ८६ देशबाट तीन हजार ५२० उद्योग दर्ता भई रु एक खर्ब ८९ अर्बभन्दा बढीको वैदेशिक लगानी स्वीकृत भयो । यसबाट दुई लाख ११ अजार ८४३ रोजगारीका अवसर सिर्जना हुने अनुमान सर्वेक्षणमा गरिएको छ ।

त्यसैगरी २०७२ फागुनसम्ममा ११ हजार ८९० किमी कालोपत्र, छ हजार ४१९ खण्डास्मित र नौ हजार ६८१ किमी कच्ची सडक गरी हालसम्म सडकको लम्बाइ २७ हजार ९९० किमी पुगेको छ ।

अघिल्लो वर्षको भैँचालोबाट करिब रु सात खर्ब छ अर्बको नोक्सानी भएको र त्यसमध्ये रु पाँच खर्ब १७ अर्ब बराबरको सम्पत्ति क्षय भएकाले पुनःनिर्माण र नवनिर्माणका लागि रु छ खर्ब ६९ अर्ब ५० करोड लाग्ने प्रारम्भिक अनुमान पनि सर्वेक्षणमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री