चार सय बढी सगरमाथा चुचुरोमा

everest

काठमाडौँ, १२ जेठ । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला सम्पूर्ण हिमालको आरोहण सकिएको छ ।

आरोहणको अन्तिम दिन आजसम्म ४०० भन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।

त्यस्तै अन्नपूर्ण, मनासलु, मकालुलगायत हिमालको यो मौसममा १०० जनाले सफल आरोहण गरेका छन् । विश्वका १० अग्ला हिमालमध्ये नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठ वटा हिमाल रहेका छन् । वसन्त ऋतुको यस मौसममा गत वैशाख २९ गतेदेखि आरोहण सुरु भएको थियो ।

पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४, अन्नपूर्णमा तीन, मनासलुमा ११, मकालुमा पाँच वटा टोली आरोहणका लागि गएका थिए ।

विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले सगरमाथासहितका हिमाल आरोहणका लागि गएका सबै टोली आजबाट फर्किने क्रममा रहेको राससलाई जानकारी दिनुभयो । “वसन्त ऋतुमा सगरमाथामा मात्रै ४०० बढीले आरोहण गरेका छन् कुन देशका कति आरोहीले चढे भन्ने यकिन विवरण आउन अझै एक साता लाग्छ”– उहाँले भन्नुभयो ।

आठ हजार मिटरमाथिका हिमाल आरोहण सकिएको र केही होचा हिमालको विवरण आइनसकेको विभागले जनाएको छ । यद्यपि विभागको पर्वतारोहण शाखाका ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार यो मौसमका लागि आजबाट सगरमाथासहितका हिमालको आरोहण सकिएको बताउनुभयो ।

छ आरोहीको मृत्यु

वसन्त ऋतुको यो मौसममा सगरमाथा आरोहण गर्ने क्रममा एक नेपालीसहित छ जना आरोहीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक शेर्पा गाइड, तीन भारतीय, एक अस्ट्रेलियन र एक नेदरल्याण्डका आरोही छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री