नवौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइने

31 Mount Everest North Face From Rongbuk Just Before Sunset

काठमाडौँ, ११ जेठ । सरकारले नवौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस आगामी आइतबार (मे २९) मनाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालको पर्यटकीय विशेषतालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउनका लागि यो दिवस मनाउन लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको पर्यटकीय विकासका लागि यो दिवसले महत्वपूर्ण भूमिका राख्दछ ।” दिवसका अवसरमा नौजना आरोहीलाई सम्मान गर्ने भएको छ ।

सम्मेलनमा सचिव राईले आफ्नो ज्यान जोखिममा पारेर सगरमाथा आरोहणमा सजिलो होस् भनेर अफ्ठ्यारो ठाउँमा डोरीको व्यवस्था गरेको भन्दै आरोहीलाई नगद रु ५० हजारसहित सम्मान गर्न लागिएको बताउनुभयो । सोही दिन सगरमाथा अङ्कित हुलाक टिकटमा टाँचा लगाइनेछ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशीले नेपालको पर्यटन विकास र प्रवद्र्धनमा यो दिवसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही दिन बिहान पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सामूहिक रुपमा सञ्चयकोष भवनदेखि नेपाल पर्यटन बोर्डको भवनसम्म पदयात्रासमेत गर्ने भएका छन् ।

सगरमाथा आरोहणका क्रममा भूकम्पमा परी गत वर्ष १६ जना आरोहीको मृत्यु भएको थियो भने केही समय आरोहण अवरुद्ध भएको थियो । यस वर्ष चार सयभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री