कोलोम्बो, ५ जेठ । श्रीलङ्काको केगाल्ले जिल्लामा दुई दिनदेखि जारी रहेको वर्षा र त्यसका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३७ पुगेको छ ।
श्रीलङ्काली सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएअनुसार यस पहिरोमा परी सयौँ व्यक्ति बेपत्ता भएका छन् ।
बुधबार अपराह्न श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार उक्त बाढीका कारण करिब साढे तीन लाख नागरिक नराम्ररी प्रभावित भएका छन् ।
यीमध्ये कैयौँ व्यक्ति घरबारबिहीन भएका छन् । विपद् व्यवस्थापन विभागले उद्वारको कार्य जारी रहेको जनाएको छ ।
गएको सोमबारदेखि वर्षा भएको छ । त्यसपछि मङ्गलबार साँझबाट पहिरो जान सुरु भएको जनाइएको छ । सैनिक र उद्धार टोलीले खोजी र उद्धारकार्य जारी राखेका छन् ।
सो पहिरोमा परी सयौँ व्यक्ति बेपत्ता भएका हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । तर कतिजना व्यक्ति सो पहिरोमा परी हराएका छन् भन्ने बारेमा भने केही थाहा हुन सकेको छैन ।
ठूलो सङ्ख्यामा उद्धारकर्मी खटाइएको छ । उनीहरुले केहीलाई मात्र तत्काल उद्धार गरेका र दुई सयभन्दा बढी घरपरिवार बेपत्ता भएका बताइएको छ ।
सो पहिरो प्रभावित इलाका नजिकै रहेका बासिन्दालाई प्रहरीले अन्यत्रै सुरक्षित इलाकामा सारेको पनि बताइएको छ ।
गत सोमबार साँझबाट सुरु भएको भीषण वर्षा र हावाहुरीका कारण गएको यस पहिरोमा मात्र दुई लाखभन्दा बढी नागरिक प्रभावित भएको जनाइएको छ ।
सरकारले गरेको उद्वारपछि यस पहिरोबाट प्रभावित भएका एक लाख ४० हजार व्यक्ति अस्थायी शिविरमा बसोबास गर्दै आएका बताइएको छ ।