प्रिय नेताज्यूहरूलाई केही प्रश्न

Bhola rai
प्रिय नेताज्यूहरु, यतिखेर तपाईहरुले लामो प्रकृया र विवादका बिच मुलुकलाई एकथान संविधान दिनुभएकोछ। तर तपाईहरुमध्येकै एक पक्षले यो संविधान पनि अपूरो भयो, हामी मान्दैनौ भन्दै हुनुहुन्छ। यिनै राजनैतिक खिचातानीको उपज भारतले लगाएको नाकाबन्दीले  बनाएको अस्तब्यस्तताबाट मुलुक राम्रोसंग अझै तंग्रिन नसकेको अवस्था छ। यस्तो संविधान जारी गर्नु पनि तपाईहरुलाई यति सकस भयो कि पहिलो संविधान सभाको म्याद पटक पटक थपेर पनि नपुगे पछि दोस्रो संविधान सभाको चुनाव गर्नु पर्यो। यसरी पटक पटक म्याद थप्दा, चुनाव गर्दा र तपाई नेता सभासदहरुको भत्ता सुबिधामा कति खर्च भयो ? जनतालाई भन्न सक्नु हुन्छ ? यो संविधानको लागी खर्च गरिएको बजेटले प्रत्येक गा.बि.स. को वडा वडामा पक्की सडक पुग्न सक्थ्यो वा जलस्राेतमा लगानी गर्नु भएकोभए मुलुक लोडसेडिङ् मुक्त बन्ने थियो। तपाईहरुले संविधानमा लेखिने शब्द शब्दको लागी बालहठ देखाएर झगडा गरेको दृश्य कम्ति हाँस उठ्दो थिएन। मुलुकको बिकास, संविधान वा कानूनमा लेखिएको शब्दले हुँदैन, बल्की मुलुक हाँक्ने तपाई नेताहरुको आचरण र दृष्टिकोणबाट हुन्छ भन्ने कुरा बुझ्न तपाईहरुको बाँकी जीवन  कम नहोस्। यहाँहरुलाई स्मरण हुनुपर्थ्यो, प्रजातन्त्र र मानव अधिकारको जननी वेलायतमा कुनै लिखित संविधान नै नभएर पनि सु-शासन र विकासका लागी बिश्वमा उदाहरणको रुपमा लिईन्छ।
         प्रिय नेताज्यूहरु, तपाईहरु कानून बनाउनु हुन्छ र आफैं त्यो कानूनको उल्लंघन गर्नु हुन्छ। भर्खरै तपाईहरु केही पक्षले संसारको उत्कृष्ट  भनेर दावी गरेको  र अर्को पक्षबाट अपूरो भनिएको संविधान जारी गर्नु भयो। र, आफैंबाट देशको मूल क़ानून संविधानको पालना नगर्ने कामको थालनी पनि गर्नुभयो। त्यस्को ज्वलन्त उदाहरणको रुपमा अहिले मौजूद मन्त्रिपरिषद्लाई लिन सकिन्छ। संघीय लोकतन्त्रिक गणतन्त्र नेपालको संविधान २९७२ को धारा ७६ को उपधारा ९ मा, “राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद सदस्य मध्येबाट समावेशी सिध्दान्त बमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ जना मन्त्री परिषद् गठन गर्नेछ। स्पष्टीकरण- यस भागको प्रयोजनको लागी मन्त्री भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री सम्झनु पर्छ” भन्ने लेखिएता पनि तपाईहरुलेआफैंले बनाएको संविधानको ठाडो उल्लंघन गर्दै सात जना उपप्रधानमन्त्रीसहित ४१ सदस्यीय मन्त्री परिषद्को गठन गर्नु भयो। यसरी बदनियत ढंगले संविधानको उल्लंघन गरेर गठन गरिएको मन्त्री परिषदबाट राज्यलाई महिनामै करोडौं आर्थिक नोक्शान पुर्याई रहेको कुरा अख़्तियार दुरुपयोग वा भ्रष्टाचार हो कि होईन ? अनि अख़्तियार दुरूपयाेग अनुसन्धान आयोग र तपाईहरुले आमजनभावना विपरीत नियुक्त गरेको  तिनको प्रमुख लोकमान सिं कार्की के हेरेर बस्दैछ ? सधैं ठूलो माछा समात्ने गफ चुट्ने लोकमानले तपाईहरु जस्तो कानूनको खिल्ली उडाउने र भ्रष्टाचार गर्ने ठूला माछाहरुलाई के साँच्चि कै समात्न सक्ला ? हुन त यो विषयमा सम्मानित सर्वोच्च अदालतमा रिट नपरेको होइन। तर पार्टीहरु कै भागबण्डामा नियुक्ति गरिएको न्यायाधीशहरुले भरिएको सर्वोच्च अदालतबाट पत्रकार दीक्षितहरुलाई रातारात हिरासतमुक्त गर्न भ्याई नभ्याई भएको बेला यस्ता गंभीर संवैधानिक प्रश्न उठेको बिषयमा बोल्ने समय नै कहाँ छ र?
           प्रिय नेताज्यूहरु, मुलुक गत साल बैशाखमा गएको भूकम्पले तहसनहस बनेको छ। भूकम्पमा भत्किएका संरचनाहरुको निर्माणको दीर्घकालीन योजनाहरु अझै राम्रोसंग बन्न सकेको छैन र पीडीतलाई राहत अझै राम्रोसंग वितरण गरिएको छैन। पीडीतहरु चिसो  वा वर्षातको समयमा पनि एउटा पालको भरमा रात गुजार्नु परिरहेको छ। ती पिडीतहरुको चुल्होमा आगो राम्रोसंग अझै बल्न सकिरहेको छैन र भुटेको एक छाक मकैको भरमा चिसो रात गुजार्नु परिरहेको छ। तर तपाईहरु मित्रराष्ट्रहरुले दिएको खाद्यान्न सहयोगलाई पनि पिडितसम्म पुर्याएर  वितरण नगरिदिई गोदाममै सडाएर कुहाएर फाल्नुहुन्छ।आखिर किन यस्तो हुन्छ नेताज्यूहरु ?
भूकम्प पछिको पुनर्निर्माणको लागी हामी विदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो गाँस काटेर भए पनि  गच्छे अनुसारको अलिअलि गरेर करोडौं रकम जम्मा गरेका थियौं। त्यसैगरी मित्र राष्ट्रहरुबाट अरबौं आर्थिक सहयोग आएको थियो। ती सहयोग रकमहरु कहाँ कसरी खर्च हुँदैछ प्रिय नेताज्यूहरु ? कहिलेकाहीँ तपाईहरु राज्यको ढुकुटी दुरुपयोग गरेर विदेश शयर हुँदा ती मित्रराष्ट्रहरुले हामीले दिएको आर्थिक सहयोगले पुनर्निर्माण किन नगरेको ? भनेर तपाईहरुलाई सोध्दा लाजले तपाईहरुको भन्दा हाम्रो गाला रातो हुन्छन् नेताज्यूहरु।
प्रिय नेताज्यूहरु, देशमा यस्ता बेतिथिहरु कहिले सम्म राख्नु हुन्छ?  आफ्नो परिवार पाल्नकै लागी पासपोर्ट बोकेर कहिलेसम्म युवाहरुलाई अरब, यूरोप र अमेरिकातिर लखेट्नु हुन्छ? तपाईहरु खोक्रो राष्ट्रवादको नारा लगाउनु भन्नुहुन्छ। भोको पेटले खोक्रो राष्ट्रवादको नारा लगाउन सकिँदैन नेताज्यूहरु। असली राष्ट्रवाद त्यो बेला झल्किन्छ  जुन बेला परिवारको सामान्य गुजरा चलाउनका लागी अरब, यूरोप र अमेरिकातिर पलायन भएका युवा जनशक्तिलाई देशमै रोजगारी उपलब्ध गराएर देश विकासमा लाग्ने वातावरण सिर्जना गर्नु हुन्छ।

अन्त्यमा जाँदाजाँदै- प्रिय नेताज्यूहरु, देशमा बिद्यमान तमाम् विकृति/विसंगतिहरुको अन्त्य  तपाईहरुले चाहेमा मात्र निर्मूल हुन सक्छ।  नेताज्यूहरु, तपाईहरुले देश विकासको लागी केही गर्न पर्दैन, खाली सुशाषन दिनुहोस्, भ्रष्टाचार नगरिदिनुस् र तपाईहरुबाट नै कानूनको पालना गरिदिनुस्। र जनताले तिरेको कर जनताकै सेवा, सुविधा र देश विकासमा खर्च गरिदिनुस्। भनिन्छ- “जनावरहरुलाई लखेट्नु पर्यो भने पछि बस्नु, मान्छे लखेट्नुछ भने अगाडि लाग्नु” रे। हो, तपाईहरु पनि असल, नैतिकवान र ईमान्दार बनेर देशको विकासको नेतृत्व लिईदिनुस्। हामी जनता तपाईहरुको पछि पछि लुरुलुरु पछ्याउदै आउँने छौ। सायद त्यो बेला आफ्नो परिवारको सामान्य गुजारा चलाउन पासपोर्ट बोकेर कोही युवाहरु अरब, यूरोप वा अमेरिका भास्सिन एयरपोर्टमा लाम लाग्ने छैनन्। बरु भास्सिएकाहरु पनि मातृभूमि संझेर फर्किरहेकाहरुको एयरपोर्टमा लाम लाग्नेछ र त्यो लाम लागेकामध्येहरुमा यो पंक्तिकार पनि एक हुनेछ। नेताज्यूहरु, त्यो बेला देशको विकास कसो नहोला? भएन छ भने परेको म ब्यहोरुँला।

सबैलाई चेतना भया !
 
हाल: संयुक्त अधिराज्य, वेलायत

प्रतिक्रिया

सम्बन्धित सामाग्री