सोमबार, कार्तिक १० २०७७ | Mon, October 26, 2020
नेपालको समय: १६:१३ | UK Time: 10:28

काठमाडौँमा युएईको दूतावास खुल्दै

वीनेपाली
२०७३ वैशाख २८ गते ९:२६
Kds_1376565234600

संयुक्त अरब इमिरेट्स (युएई)

काठमाडौँ, २८ वैशाख । संयुक्त अरब इमिरेट्स (युएई) ले आजदेखि राजदूतस्तरमा दूतावास स्थापना गरेर प्रवेशाज्ञा लगायत सेवा प्रवाह गर्ने भएको छ ।

दूतावास उद्घाटन एवम् सेवा आरम्भ गर्न युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान आजै अपराह्न यहाँ आउँदै हुनुहुन्छ । स्थानीय लाजिम्पाटमा स्थापना भएको दूतावास उद्घाटनअघि नेपाल र युएईबीच द्विपक्षीय वार्ता हुने छ ।

वार्तामा नेपाली पक्षको नेतृत्व उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा तथा युएईको नेतृत्व त्यहाँका विदेशमन्त्रीले गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग युएईका विदेशमन्त्रीले आजै बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ । विदेशमन्त्री नाह्यान युएईका प्रथम संस्थापक राष्ट्राध्यक्ष एवम् अमिरका सुपुत्र हुनुहुन्छ ।

नेपाल–युएई वार्तामा द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउने तथा पारस्परिक सहयोग र लाभका क्षेत्र अभिवृद्धिबारे विचारविमर्श हुने मन्त्रालयका एक उच्च अधिकारीले राससलाई बताए ।

वार्तामा परराष्ट्र मन्त्रालयका अतिरिक्त श्रम तथा रोजगार, उद्योग, अर्थ, गृह र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुने उनले जानकारी दिए ।

दूतावास स्थापनासँगै युएईले सइद हमदान अल नाक्वीलाई नेपालका लागि राजदूतमा नियुक्त गरेको छ । नवनियुक्त राजदूत नाक्वीले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरिसक्नुभएको छैन ।

नेपाल र युएईबीच २२ जनवरी १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । केही वर्षयता नेपाली श्रमिकका निम्ति युएई आकर्षक गन्तव्य बन्दै गएको छ । हाल उक्त मुलुकमा दुई लाखको हाराहारीमा नेपाली कार्यरत छन् ।

उपप्रधानमन्त्री थापाको निमन्त्रणामा विदेशमन्त्री नाह्यान विशेष विमानबाट नेपालको भ्रमणमा आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले सोमबार राति जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक