
काठमाडौ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक, मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ ।
प्रहरी प्रधान कार्यालयको निरीक्षण कार्यक्रमपछि वरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो–“कात्तिक मङ्सिरमा स्थानीय निकायको निर्वाचन हुन्छ । त्यसका लागि तयारी गर्न थाल्नुहोस् ।” यसैगरी प्रधानमन्त्री ओलीले आगामी २०७४ माघ ७ गतेभित्रमा आमनिर्वाचन हुने पनि स्पष्ट पार्नुभएको छ ।
सत्तासाझेदार एनेकपा (माओवादी)सँग भएको नौ बुँदे सहमति सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन सहयोगी हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । “नौ बुँदे सहमति सरकारले काम गर्ने एग्रिमेन्ट पेपर हो” – प्रधानमन्त्री ओलीले भन्नुभयो ।
देश सङ्घीय संरचनामा गएकाले नेपाल प्रहरी पनि त्यसै ढाँचामा परिवर्तन हुन प्रहरीका वरिष्ठ अधिकारीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । “हामी सङ्घीय ढाँचामा गएका हौँ । यसलाई राष्ट्रै अर्को भयो भनेर बुझ्नु हुँदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो – “सङ्घीय प्रहरीको कार्यक्षेत्र कति के भन्ने कुरा ऐनमा स्पष्ट हुन्छ, त्यसैअनुसार काम गर्नुपर्छ ।”
नेपाल प्रहरीले समाज र सरकारका बीचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेकामा प्रशंसा गर्नुभयो । सङ्क्रमणकालीन अवस्थामा समाजमा आपराधिक घटनामा वृद्धि हुने भएकाले त्यसतर्फ चनाखो हुन प्रहरीलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।
विगतमा भएका आन्दोलनमा प्रहरीले अतिरिक्त बल प्रयोग भयो भन्नु गलत भएको प्रधानमन्त्रीले बताउनुभयो । “केही महिनाअघि भएका आन्दोलनमा अतिरिक्त बल प्रयोग भएको छैन । बरु प्रहरीले आफू मरेर, घाइते भएर पनि संयमता अपनाएको छ ।” देश अप्ठ्यारोमा भएका बेला त्यसलाई सजिलोमा ल्याउने जिम्मा प्रहरीका काँधमा आएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
नेपालमा साम्प्रदायिक आन्दोलनको बीउ छरेर द्वन्द्वमा फसाउन केही वर्षअघिदेखि नै प्रयास भइरहेकामा त्यसलाई नेपाली जनताले अस्वीकार गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “विभिन्न द्वन्द्वका बीउले नेपालको सुरक्षा निकायलाई गाली बेइज्जती गर्ने आक्रमण गर्ने जस्ता अभ्यासहरु भए”, प्रधानमन्त्री ओलीले भन्नुभयो – “तर त्यस्ता अभ्यास अहिले क्रमशः निस्तेज भएर समाज अहिले एकीकृत भइरहेको छ ।”
अर्को एक प्रशङ्गमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीमा महिलाको सङ्ख्या बढाउन सरकार सकारात्मक भएको बताउनुभयो । अहिले नेपाल प्रहरीमा महिलाको सङ्ख्या सात प्रतिशत भएकामा आगामी तीन वर्षभित्र १० प्रतिशत पुरयाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
नेपाल प्रहरी भ्रष्टाचारमुक्त हुनुपर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले “आफ्नो मातहतका प्रहरीको नजरमा नगिर्न” निर्देशन दिनुभयो । प्रहरीको सङ्ख्या बढाउनेभन्दा पनि अहिलेकै सङ्ख्या प्रविधि र क्षमतायुक्त बनाएर सानो सङ्ख्याबाट धेरै काम लिनुपर्नेमा उहाँको जोड थियो ।
प्रधानमन्त्री ओलीले प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र कमाण्डर सेन्टरको पनि निरीक्षण गर्नुभयो । प्रधानमन्त्रीका साथ गृहमन्त्री शक्तिबहादुर बस्नेत पनि हुनुहुन्थ्यो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा