पार्टीमा नवौँ महाधिवेशनको धङ्धङी कायमै ः नेता खनाल

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले रिपोर्टर्स क्लव नेपालको अठारौँ बार्षिकोत्सवका अवसरमा घोषणा गरेको सक्रिय युवा पत्रकारिता पुरस्कार २०७२ राष्ट्रिय समाचार समिति(रासस)का वरिष्ठ समाचारदाता नारायण न्यौपानेलाई शनिबार आयोजित कार्यक्रममा प्रदान गर्दै । तस्बिर ः रासस

नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले रिपोर्टर्स क्लव नेपालको अठारौँ बार्षिकोत्सवका अवसरमा घोषणा गरेको सक्रिय युवा पत्रकारिता पुरस्कार २०७२ राष्ट्रिय समाचार समिति(रासस)का वरिष्ठ समाचारदाता नारायण न्यौपानेलाई शनिबार आयोजित कार्यक्रममा प्रदान गर्दै । तस्बिर ः रासस

काठमाडौँ, ४ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र नवौँ महाधिवेशनको धङ्धङी कायमै रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “नवाँै महाधिवेशनमा दुईवटा प्यानल बनाएर हाम्रो पार्टी निर्वाचनमा लड्ने स्थिति बनेको थियो, त्यसको धङ्धङी पूरै मेटिइसकेको छैन तर अब मेटिन जरुरी छ, मेटिनु अनिवार्य छ ।”

देश, जनता, राष्ट्रियता, लोकतन्त्र र विकासप्रतिको मिसन पूरा गर्न नेकपा एमाले एकताबद्ध र एकढिक्का हुन आवश्यक रहेको बताउँदै वरिष्ठ नेता खनालले भन्नुभयो– “गुट उपगुट निर्मूल हुनुपर्दछ, गुटका लागि होइन, एकताका लागि झलनाथ लागि पर्दछ ।”

सहमतिको सरकार आवश्यक 

संविधान कार्यान्वयन गर्ने सवाल अहिले सबैभन्दा महत्वपूर्ण रहेकाले प्रमुख राजनीतिक दल एकताबद्ध हुन जरुरी रहेको बताउँदै उहाँले सबैभन्दा पहिले सबै पार्टी मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो– “नेतृत्वको निम्ति एकआपसमा बसेर छलफल गर्न सकिन्छ, वर्तमान सरकारकै नेतृत्व अथवा सहमतिका आधारमा अर्काे ढङ्गबाट जाऔँ, तर राष्ट्रिय सहमतिमै जाऔँ भन्ने हुनुपर्दछ ।”

अहिले नेकपा (एमाले)को नेतृत्वमा १२÷१३ वटा दल संलग्न रहेको एउटा नयाँ राष्ट्रिय संयुक्त सरकार छ, त्यसले मात्रै पुग्दैन, राष्ट्रिय सहमतिको सरकार चाहिन्छ, देशका मुख्य दल सरकारमा आउनुपर्छ, सबै एकै ठाउँमा बसेर काम गर्नुपर्छ, किनभने हामी एकताबद्ध नभएसम्म मुलुक अघि बढ्न सक्दो रहेनछ भन्ने कुरा विगतका घटनाबाट पुष्टि भएको छ, वरिष्ठ नेता खनालले भन्नुभयो । उहाँले लोकतन्त्रलाई अघि बढाउन आर्थिक विकासका मुद्दालाई अघि बढाउन सक्नुपर्ने पनि बताउनुभयो ।

सात प्रदेशमा तलमाथि नगरौँ  

आन्दोलनरत दलले उठाएका जायज मुद्दालाई शान्तिपूर्ण छलफल र वार्ताका माध्यमबाट समाधान गर्नुपर्छ भन्दै पूर्वप्रधानमन्त्री खनालले सङ्घीय गणतन्त्र नेपालमा सात प्रदेश कायम गरिसकेकाले त्यसलाई तलमाथि गर्न जरुरी नरहेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो– “प्रदेशको सङ्ख्या तलमाथि गर्नुपर्ने भएमा प्रश्न उठाउनेले नै औचित्य सिद्ध गर्नुपर्छ, औचित्य सिद्ध नभई तलमाथि हँुदैन, प्रदेशलाई चलाउने होइन स्थिरता हुन दिनुपर्छ, राष्ट्रिय जनभावनाबिना परिवर्तन हुन सक्दैन ।”

सो अवसरमा पूर्वप्रधानमन्त्री खनालले आफनो बुद्धि, विवेक, श्रम र सीपको उपयोग गर्दै पत्रकारिताका क्षेत्रमा निरन्तर क्रियाशील हुने राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता नारायण न्यौपानेसहित चारजना पत्रकारलाइ सक्रिय युवा पत्रकारिता पुरस्कार प्रदान गर्नुभयो । पुरस्कृत अन्य पत्रकारमा राजधानीका आशिष शेरचन, गन्तव्य नेपालका पर्यटन पत्रकार शिव अधिकारी र सगरमाथा टेलिभिजनका हरि न्यौपाने हुनुहुन्छ ।

रिपोर्टर्स क्लब नेपालको अठारौँ वार्षिकोत्सवका अवसरमा उक्त पुरस्कार घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री