
नेपाली काँग्रेस संसदीय दलको नेता पदको लागि मङ्गलबार उम्मेदवारी दर्ता गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिरः प्रदिपराज वन्त, रासस
काठमाडौँ, २३ चैत । नेपाली काँग्रेस व्यवस्थापिका–संसद्, संसदीय दलका नेतामा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
यही चैत २४ गते हुने संसदीय दलको नेताको निर्वाचनका लागि निर्धारित तालिकानुसार आज देउवा र पौडेलले आफ्ना पक्षका संसद्को दलबलका साथ उपस्थित भई उम्मेदवारी दर्ता गर्नुभएको हो । देउवाको समर्थकमा पदमनारायण चौधरी र प्रस्तावकमा फरमुल्ला मन्सुर तथा पौडेलको समर्थकमा प्रकाशमान सिंह र प्रस्तावकमा डा शशाङ्क कोइराला रहेको निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले मधेसको समस्या समाधान गरी संविधान कार्यान्वयन गर्न र पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो । “व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा मुलुकका सबै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन मेरो उम्मेदवारी हो” – उहाँले भन्नुभयो ।
त्यस्तै उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्र्दै नेता पौडेलले संसदीय दलको निर्वाचन पार्टीको लोकतान्त्रिक अभ्यास हो भन्नुभयो । “काँग्रेसमा देखिएका समस्या समाधान गर्न र पार्टीलाई जिम्मेवारी बाँडफाँटका साथ एकताबद्ध बनाउन मेरो उम्मेदवारी हो” – उहाँले भन्नुभयो । संविधान कार्यान्वन्यनका लागि सबैको अपनत्व ग्रहण गराउन आफूले पहल गर्ने बताउँदै उहाँले त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्छ भन्नुभयो ।
तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि रिक्त काँग्रेस संसदीय दलको नेताको निर्वाचन हुन लागेको हो । काँग्रेसमा २०७ सांसद छन् । काँग्रेसमा संसदीय दलको नेतालाई सम्भावित प्रधानमन्त्रीका रुपमा हेरिने भएकाले यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।
दलको निर्वाचन गर्न काँग्रेसले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिले आज बिहान ९ देखि दिउँसो १२ बजेसम्म समय निर्धारण गरेको थियो । समितिले उम्मेदवारको अन्तिम नामावली आजै अपराह्न २ बजे प्रकाशन गर्ने र मतदान भने बुधबार चैत २४ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म गर्ने निर्वाचन तालिका रहेको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिनुभयो ।
काँग्रेस संसदीय दलको निर्वाचन विद्युतीय मतदानबाट हुने तय भएको छ । त्यसका लागि आजै निर्वाचन आयोगका अधिकारीले सांसदलाई विद्युतीय मतदान यन्त्रका बारेमा जानकारी गराउनुभएको छ । विद्युतीय यन्त्रमा उम्मेदवारको नामावली नेपाली वर्णानुक्रमानुसार रहनेछ ।
संसदीय दलको नेताको निर्वाचनपछि चैत २६ गते संसदीय कार्यसमितिको निर्वाचन गर्ने तालिका छ । कार्यसमितिमा प्रत्येक प्रदेशबाट एक एक जनाका दरले सात र समानुपातिक प्रतिनिधित्वको सिद्धान्त बमोजिम १५ जनाको निर्वाचन हुने दलको प्रावधान छ ।
कार्यसमितिको निर्वाचनका लागि समितिले उम्मेदवारी दर्ताका लागि चैत २५ गते बिहान ११ देखि अपराह्न १ बजेसम्म समय निर्धारण गरेको छ । समितिका उम्मेदवारीको अन्तिम नामावली चैत २५ गते अपराह्न ५ः३० बजे प्रकाशन गरिनेछ । दलको सबै निर्वाचन कार्यक्रम पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदैछ ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी