एनआरएनए यूकेको वहसः असम्भव छैन् नेपाल हाउस

10400236_597241450433454_6056786608208465029_n

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आफ्नो महत्वकांक्षी नेपाल हाउस प्रोजेक्टबारे थप छलफल गरेको छ । संघको २८ फेब्रुअरीका दिन निरमाया रोधीघरमा बसेको बैठकले नेपाल हाउस सम्वन्धमा गहन छलफल गरेको हो । बैठकमा कार्यसमिति पदाधिकारी र सदस्यहरुसहित करिब ६० जना सल्लाहकार सहभागी थिए ।

अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल हाउस उपसमिति गठन गर्न अध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको छ । तर, समस्त नेपालीको साझा घरका रुपमा कम्तीमा १.५ मिलियन पाउण्डको लगानीमा बनाउन लागिएको नेपाल हाउस तत्काल नसकिने अध्यक्ष मुछेत्र गुरुङले बैठकलाई जानकारी दिएका छन् । अध्यक्ष गुरुङले शिलान्यास यही वर्षको अन्तिम र अर्को वर्षको फेब्रुअरीतिर निर्माण शुरु गरेर समापन हुन सन् २०१९ सम्म लाग्न सक्ने बताए ।

अध्यक्ष गुरुङले नेपाल हाउस बने बेलायतवासी नेपालीबीच एकता ल्याउने र यसले पर्यटन प्रवर्धनमा समेत सहयोग पुग्ने आशा व्यक्त गरे । उनले कार्यसमिति पदाधिकारी र केही सल्लाहकारको मात्र सहयोग र उत्साहले यो प्रोजेक्ट सफल नहुने जनाउंदै एकापसमा साझा पहल भएमात्र यो सम्भव हुने जनाए । ‘म आंट गर्छु, सकेको गर्छु तर मलाई तपाईंहरु सबैको हौसला चाहिएको छ । असम्भव केही छैन् एउटा इतिहास निर्माण गरौं न’, उनले भने ।

बेलायतमा एक लाख २५ हजार नेपाली भएकाले लागत १.५ मिलियन पाउण्ड उठाउन असम्भव नभएको उनले बताए ।
उनले ५०१ जनाको फण्ड रेजिङ मुल कमिटी गठन गर्ने र त्यो समितिले जनही कम्तीमा एकहजार पाउण्ड संकलन गर्ने जनाउंदै २०५ जना छानिसकेको जानकारी दिए ।

इन्जिनियर राजेश पाठकले नेपाल हाउसका लागि जग्गा काउन्सिलबाट लिनुपर्ने सुझाउंदै यसको प्लानिङ परमिसन प्रक्रिया, बनोट, सभाकक्ष, नेपाल हाउसमा गोर्खा मेमोरियल म्यूजियम राख्न सकिने सम्भावना आदिबारे प्रिजेन्टेसन दिए । नेपाली कला संस्कृति, नेपाल सगरमाथाको देश र गौतम वुद्धको जन्मस्थान हो भन्ने देखाउने खालका सामाग्री राख्न उचित हुने पाठकले औंल्याए । उनले नेपाली आंखी झ्याल, दलिनसहित पगौडा शैलीमा भवन बनाउन सकिनेबारे पनि जनाए । यसलाई विजनेशका हिसावले लैजांदा संस्थाप्रति नकारात्मक छाप पर्ने जनाउंदै बरु च्यारिटीका रुपमा अगाडि बढाउन उनले सुझाए ।

महासचिव विजयविक्रम लिंग्देनले सञ्चालन गरेको बैठकमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङ, आइसीसी सदस्य संगिता मरहट्ठा, रमेश बास्तोला, खगेन्द्र नेपाली, एकेन्द्र गुरुङ, हरि गोविन्द गुरुङ, मिन गुरुङ, घनश्याम पौडेल, कृष्ण गुरुङ, कमल गुरुङ, राम गलामी, नरजंग गुरुङ, कृष्ण श्रेष्ठ, घनेन्द्र लिम्बु लगायतले नेपाल हाउसका विभिन्न आयाम र आ आफ्ना सुझाव पेश गरेका थिए ।

आफ्नो मन्तव्य राख्दै एनआरएनए युरोप संयोजक कुल आचार्यले नेपाल हाउसका लागि ५ हजार ५ सय ५५ पाउण्ड र आइसीसी सदस्य कृष्ण तिमिल्सिनाले ३ हजार ३ सय ३३ पाउण्ड दिने प्रतिवद्धता जनाएका छन् ।

बैठकले बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गांठका अवसरमा आगामी १९ जुलाइमा लन्डनको लर्डस् मैदानमा एमसीसी र नेपाली क्रिकेट टोलीबीच हुन लागेको मैत्रीपूर्ण खेल हेर्न नेपाली दूतावासले आग्रह गरे बमोजिम कम्तीमा दश हजार दर्शक जुटाउन पहल गर्ने निर्णय गरेको छ । बैठकले पर्यटन प्रवर्धन विभाग गठन गर्ने निर्णय समेत गरेको छ । विभागमा को कति रहने भन्ने निर्धारण चाहिं अर्को बैठकले गर्ने जनाइएको छ ।

च्यारिटी विभाग प्रमुख सनत गुरुङले उपसमिति गठन गरेका छन् जसमा उनी आफैं प्रमुख संयोजक, संयोजकहरुमा अर्जुन कटुवाल, प्रवेश केसी, रिचर्ड गुरुङ, देव गुरुङ र मिन रानाभाट तथा उपसंयोजकमा कल्पना आङबुहाङ र कुमारी गुरुङ छन् । त्यस्तै राजकुमार त्रिपाठी सचिव, पदम रावल सहसचिव र खुशी लिम्बु कोषाध्यक्ष छन् । त्यसैगरि च्यारिटी विभागको सल्लाहकार समूहमा वर्तमान र पूर्व अध्यक्षहरु मुछेत्र गुरुङ, सूर्य गुरुङ, महेन्द्र कंडेल, योगेन्द्र क्षेत्री, मेजर रि. डमर घले, महन्त श्रेष्ठ र कुल आचार्यलाई चुनिएको छ ।

बैठकले प्रवक्ता खुशी लिम्बुको नेतृत्वमा २० लाख रुपैयांबाट शुरु गर्न लागिएको पांचथर थर्पु गाविसको सिरिसे स्कुल पुनर्निर्माण प्रोजेक्ट सहयोगार्थ आगामी २६ मार्च गर्न लागिएको च्यारिटी कार्यक्रममा सहभागिताका लागि सबैमा आव्हान गरेको छ । प्रोजेक्टका लागि दश लाख रुपैयां संकलन भइसकेको छ ।

अर्को बैठक २६ मार्चमा प्लमस्टिडमा बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री